-सुमलकुमार गुरुङ
धेरैअघि रविन्द्रनाथ ठाकुरका कविता सङ्ग्रह गीताञ्जली पढेको थिएँ । उनको कविता सङ्ग्रहभित्रका कविताहरु धेरै उच्चकोटीका अनि दिव्य अनुभूति दिने खालका छन् । त्यही गीताञ्जलीको एउटा सानो अंश –
ढोका बन्द गरेर तिमी कुन पूजामा मग्न छौं
आँखा खोलेर हेर !
तिम्रो भगवान देवालयमा छैन,
हलीले साह्रो जमीन फोडेर हलो चलाइरहेको छ जहाँ
भगवान तिम्रो त्यही गएको छ
सडक बनाउनेले गिट्टी फुटाइरहेका छ जहाँ
भगवान त्यही गएको छ ।
एक शताब्दीपहिले, सन् १९१०मा उनले रचेका गीताञ्जलीले सन् १९१३ सालमा नोभेल पुरस्कार प्राप्त गरेको थियो । उनले आत्मा र स्वतन्त्रताबारे तर्क गर्दै सत्यताबोध गर्ने दिव्य उपहार गीताञ्जली रचेर संसारलाई दिएका छन् । उनको यो कृति अमर मात्र नभई अजर पनि छ । उनले यस कवितामा सोचको स्वतन्त्रतालाई कसैले मार्न सक्दैन भन्ने अभिव्यक्ति गरेका छन् । तर, ती सोचहरु समाजका लागि सकारात्मक हुनुपर्दछ । म यी रविन्द्रनाथका पङ्क्तिहरु कठमाडौको सुनधाराबाट रानीपोखरीतिर जाने बाटोमा बीर अस्पतालको अघिल्तिर टुँडिखेलसित जोडिएको मन्दिर परिसरमा पुग्दा सोच्न पुगेछु । मन्दिरभित्र पूजारी घण्टी बजाउँदै पूजा गर्दै थियो । श्रद्धालुहरु भगवानलाई प्रसाद, अक्षता, पैसा इत्यादि चढाउँदै पूजा गरिरहेका थिए । कैयौ जना पूजामा मग्न भएर आफ्ना मनोकामनाहरु आँखा बन्द गरेर श्रद्धाका साथ नतमस्तक भएर पूजा गरिरहेका थिए । पूजा गर्ने क्रममा आउने जाने मानिसहरुका निकै घुँइचो थियो । मन्दिरको सिँढीमुनि सडक किनारमा अपांग, मगन्ते र बेसाहाराहरु लामो लाम बनाएर बसिरहेका थिए । भगवानसँग प्रार्थनाका लागि गएका मानव जमातले के के मागे तर सिँढीमुनि बसेका मानिसहरुले एकपेट भोक टार्ने छाक मागेको अनुभूति मलाई भइरहेको थियो । पूजा गरिसकेका मध्ये एकाधले पैसा र प्रसाद दिए, एकाधले केही नदिई त्यतिकै बेवास्ता गरेर हिँडे । म केहीबेर सोच्दै अलिपर पुगें जहाँबाट रत्नपार्कलाई बायाँ पारेर बागबजार जाने बाटो थियो । हामीले सुन्दर देख्ने संसार फरक-फरक आँखाबाट फरक-फरक देख्ने सत्यता त्यही मन्दिरभित्र पूजा गर्ने र सिँढीमुनि बसेर माग्ने मानिसहरुले निश्चित रुपमा फरक देखेका होलान् भन्ने कटु अनुभूति भएको थियो त्यतिबेला मलाई । त्यस्तै रविन्द्रनाथ ठाकुरका गीताञ्जलीले मलाई झक्झक्याइरहेको थियो । मेरो विवेकमा एउटा प्रश्न तेर्सिरहेको थियो, के यो मानव समाजलाई पाच्य छ ? समाजको विसँगति भनौं या धर्मशास्त्रले तेर्स्याएको कर्मको फल ?
अभाव, भोक र गरीबी नभएको भए कसैलाई समस्या नै हुने थिएन । जिउनको लागि मानिसलाई गाँस, वास र कपासको आवश्यकता नभएको भए संसार बेग्लै हुने थियो होला । यसैका लागि जीवनभरि मानिस संघर्षरत् रहन्छन् । अनि यसकै खोजीमा कुनै न कुनै रुपमा मानिसहरु पलायन हुन्छन् र बसाइँ-सराइँ गर्दै भाग्छन् । विश्वका कुना कुनाबाट मानिसहरु केही प्राप्तिका लागि विश्वभरि भागिरहेका छन् । कसैलाई भोकको ज्वालाले लखेटिरहेको हुन्छ भने केही बढी प्राप्ती गर्ने अपेक्षामा र केही नौलो अनुभूति प्राप्त गर्न र बुझ्न संसार चहारिरहेका हुन्छन् । नेपालजस्तो गरीब मुलुकका मानिसहरु आर्थिक स्थिति सुधार गर्नका लागि शताब्दीयौ पहिलेदेखि देशबाहिर पलायन भइरहेका छन् । विकसित राष्ट्रका मानिसहरु अहिले पृथ्वीबाट चन्द्र आरोहण गर्दै मंगलग्रहतर्फ लाग्ने प्रयास गर्दै छन् । सहि मानेमा विश्व अहिले साँघुरिदै गएको छ अर्थात एउटा विश्वग्राममा परिवर्तन भइरहेको छ । यसरी संसार परिवर्तन भइरहेको अवस्थामा मलाई नेपालको कतिपय बेथितिहरु कहिल्यै पनि परिवर्तन हुर्ँर्दैन कि भनेर शङ्का लाग्छ ।
यसपालिको विदामा एकदिन म सुनधाराको धरहरामाथि उक्लेँ । धरहरा परिसरभित्र पुग्दा भीमसेन थापा र जङ्ग बहादुरहरुलाई सम्झें । धरहराको बारेमा भन्नुपर्दा यस्ाले नेपालकोर् इतिहासलाई मात्र बोकेको छैन, यसले नेपाली मनमस्तिष्कमा र जनजिब्रोमा महत्वपूर्ण ठाउँ ओगटेको पनि छ । काठमाडौको टुँडिखेल नजिकै उभेको धरहरा पर्यटकीय दृष्टिकोणमा मुख्य आकर्षण मात्र नभई राजधानीको गहनाको रुपमा उभिएको छ । हामीले कुनै अग्लो भवन देख्यौं भने धरहरासँग तुलना गर्छौंं । धरहरालाई शब्दमा गाँसेर गीत बनाएर गाएका हामीले सुनेका छौं । धरहरा अघिल्तिरको टुँडिखेलमा कैयन पुस्तादेखि शासकहरुका सैनिक दस्ताले बूट बजार्दै कवच खेलेको धरहराले देख्दै आएको छ । त्यस्तै शासकहरुका बूटमुनि कुल्चिएर मृत्यु भएका कैयौ निहत्थाहरुका साक्षी पनि धरहरा हो । म धरहरामाथि चढेर चारैतर्फ काठमाडौलाई हेर्दै बितेका कुराहरु सम्झँदै थिएँ ।
सिंहदरबारभित्रको आदेश र नियमहरु सबै धरहराले देख्दै आएको छ । टुँडिखेल छेउको शहीद गेटलाई गिज्याउँदै टुँडिखेलको मञ्चबाट देशका कर्णधारहरु गर्जन्छन् बेलाबखतमा । त्यो पनि धरहराले नदेखेको होइन, ती, सबै घट्नाहरु देख्दै आएको धरहरा हेर्दैहेर्दै आफै विवश भएको देखिन्छ । सदनभित्र गर्जिने ६०१ जनाको कोलाहाल धरहराले बाहिरबाट नसुने तापनि बेलाबखत सदनभित्रको असन्तोष बाटाभरि टायर बालेर, राँके जुलुस निकालेर मनपरि बन्दको नाउँमा अर्काको वाहनहरु जलाएको दृष्य पनि देख्दै आएको छ । विशाल जनलहर बौलाउदै काठमाडौका चौडा सडकहरुमाथि पार्टीहरुले पालैपिलो आफ्नो शक्ति प्रदर्शन गर्ने संस्कारले जन्म लिएको छ । अनि त्यही टुँडिखेलको मञ्चमा समर्थकहरुलाई उल्लु बनाउँदै गर्जने नेपाल आमाका सपुतहरुको असली चेहरालाई धरहराले प्रत्यक्ष देख्दै आएको छ । केहीक्षण सोचाइलाई थाँती राखेर, अहिले म धरहरामाथिबाट पर परसम्म देखिने दृष्यहरु क्यामेरामा कैद गर्न थालेको छु । म देख्छु सुन्दर भानुभक्तको अलकापुरी कान्तिपुरले धेरै काँचुली फेरिसकेकी छिन् । अहिले यहाँ इन्द्रको दरबारमा झै उर्वशी र मेनकाहरु सुनधाराको होटल होटल र काठमाडौका तारे होटलहरुमा यौवनको रङ छर्दै नाच्छन् । गान्धर्वहरुका मधुर स्वरहरु दोहोरीसाँझ बन्दै गुन्जिन्छन् प्रत्येक साँझपछिको निरवशेष रातभरि । यसलाई धरहराले नजिकैबाट सुनिरहेको हुन्छ । रातको अँध्यारोमा नेपाल प्रहरीका चनाखो आँखाहरु ट्याक्सीवालाहरुका लाइसेन्स् र ट्याक्सीभित्र कोहीछन् कि भन्दै ट्याक्सी रोकेर जाँच गर्छन् । यी सबै नौलो परिवेशमा नेपाली संस्कार दिन दूनी रात चौगूणीको हिसाबमा मौलाउँदै छ ।
स्वतन्त्र सोंचको उल्लासमय वातावरण कुनै दिन अवश्य सिर्जना होला भनेर धरहरा उभिरहेको झै मलाई लागिरहेको छ । म अहिले पनि धरहरामाथि नै छु । धरहरामाथि फलामको छड्को बारले घेरेको ग्यालरीबाट धेरै फोटाहरु खिँचे । मौसम सफा थियो । टुँडिखेल, मैदानमा मानिसहरु एकाध थिए । मैदान लगभग खाली नै थियो । मैले झण्डै २५ मिनटजति धरहरामाथि बिताएँ त्यतिबेला मेरा सोच र सम्झनाहरुका उफानले एकैछिन मेरो गिदी खलबलाएको थियो । म आफैले आफैलाई प्रश्न गरेँ, “तँलाई यति धेरै चासो लिनु के आवश्यक ?” । तर, किन हो कुन्नी कुनै अदृष्य शक्तिले प्रभाव पारेजस्तै धरहराले देखेका बेथितिहरु देखेर मलाई पनि कति चित्त बुझ्दैन । केहीबेरपछि म धरहराको सिंढी हुँदै तल ओर्लन थाले । केही ठिटाहरु फटाफट हिँड्दै सिँढीहरु गन्दै ओर्लँदै थिए । म पनि धरहरा जस्तै विवश, बबुरो र असहृय भएँ कारण कहिल्यै पनि केही गर्ने फुर्सद निकाल्न नसक्ने आफ्नै बाध्यतावश् ।
म धरहराबाट तल झरेँ । धरहरा परिसरभित्र बस्ने कुर्सीहरु र बेन्चहरुको राम्रै व्यवस्था देखियो । केही हद्सम्म सफाइमा ध्यान दिएको मैले पाएँ । त्यही परिसरभित्र चियापानी र खाना खाने रेस्टुरेन्टको राम्रो व्यवस्था रहेछ । पारिलो घामको आनन्द लिनका लागि एक कप चिया पिउँदै त्यहाँ केहीबेर बसेँ । मलाई यतिबेला रमाइलो लागि रहेको थियो । सरकारले प्रत्येक ठाउँमा यसरी नै सफाइलाई व्यवस्थित गरे काठमाडौ पनि अन्तर्राष्ट्रिय शहरहरु झै सुन्दर बन्नेथ्यो भन्ने मनमा केही आशा पलायो । केहीबेरपछि धरहरा बाहिर निस्कें । सुनधारातिर लागिरहेको बेलामा एउटा मैलाको सानो पहाड नै देखेर म झस्कें । त्यहाँ तीन चारजना खाते बच्चाहरु मैलाबाट केही थुत्दै खाँदै थिए । सायद मैला ओसार्नेहरुले आफ्नो पावर प्रदर्शनको लागि केहीदिन हडताल गरेझै प्रतीत भयो मलाई । छेउछाउमा स-सानो अस्थाई पसलहरुमा चिया पिउँदै थिए केही मानिसहरु । मानिसहरु
ओहोरदोहोर गरिरहेका थिए । मैले नपत्याउने एउटा दृष्य देखें जसले मलाई म भित्रको मान्छेले झक्झक्यायो । मैलाको डुङ्गुर छेउमा एक जनाले मज्जाले पिशाब फेरेर मासु पसलभित्र पस्यो । एक्काइसौ शताब्दीमा आइपुग्दा पनि स्वास्थ्य र वातावरणको ज्ञान हामीमा छैन । अब तपाई नै भन्नुहोस राजधानीमा नै खुलेआम दिउँसो नै पिशाब फेर्ने नेपालीको मानसिकतालाई कहिले परिवर्तन गर्ने ? जहाँ सोचको स्वतन्त्रताले यति व्यापकता पाएको छ कि उसलाई समाजसँग केही भय नै छैन । यहाँ रविन्द्रनाथले एक शताब्दीपहिले परिस्कृत सोचको सत्यतालाई प्रकाश पार्दै मानव समाजलाई बाटो देखाएका थिए तर नेपालमा दिनको उज्यालोमा नै रात देख्नेहरु धेरै छन् ।
प्रतिक्रिया