आफन्त र नेपाल सम्झँदा एक प्रकारले आफूलाई सधैं कर्तव्यबोधको दायराभित्र पाउँछु । म किशोर अवस्थामा प्रवेश गरे लगत्त्तै परदेश प्रवासको जिन्दगी बिताउँदै आएको थिएँ । अहिले वर्षहरु गन्दै ल्याउँदा प्रवासमा जीवन बिताएको पनि ४५ वर्ष पुगि सकेको रहेछ । यस दौरान केवल ३ वर्षको सँक्षिप्त बसाई घरदेशमा नेपाल आमाको सेवा गर्ने मौका पाएको थिएँ । अहिले पनि म विदेशमा नै छु र जीवनको अन्तिम गन्तव्य कहाँ होला त्यो अझ निश्चित छैन । तर, जब जब नेपालको बढिसम्झना आउँछ प्रायः नेपाल जाने गर्छु, परिवार र आफन्तहरुलाई भेट्ने गर्छु । यस पटकको विदा २५ दिनको थियो । यस विदामा पहिले बृद्धा आमाको स्वास्थ्य परिक्षण, छोराले एमबीबीएस पास गरिसकेकाले उसको दिक्षान्त समारोहमा उपस्थित हुने, पुस्तक प्रकाशन अनि स्वर्गीय तमु आदिकवि हर्कबहादुर तमु अक्षयकोष निर्माण गर्ने पैसा तमु धिं नेपाललाई हस्तान्तरण गर्ने कामहरु लिएर गएको थिएँ ।
त्यसपछि आफ्नो कृति (नियात्रा सङ्ग्रह)को लोकार्पण गर्ने अर्को मुख्य काम रहेको थियो । २५ दिनको विदामा ३ दिनको यात्रा र २ दिन अघि बेलायत फर्किने समय मिलाएकोले मसित जम्मा २०दिनको मात्र विदा थियो । यस अवधिभित्र तमाम कामहरु सम्पन्न गरेर पुनः बेलायत फर्कनु थियो । छोटो समयमा धेरै काम गर्नु थियो । सधैं नेपालमा गएपछि विदाको दौरान अराम गर्छु भन्ने मनमा सङ्कल्प र आशा गरेको हुन्छु तर विदामा मलाई कहिल्यै अराम गर्ने मौका पाएको छैन । नेपाल पुगेपछि बढिव्यस्त रहन्छु । घरेसी कामहरु, टोल, गाउँ, समाजका मित्रहरुसँगको भेटघाट र ईष्टमित्रहरुलाई भेट्ने व्यस्तताले छुट्टी बितेको थाह नै लाग्दैन । विदामा अराम गर्छु भन्ने मेरो चाहना दिवा सपना जस्तै हुन्छ । सधैं धपडिमा छुट्टी सकिन्छ । फेरि अर्को पटक रमाइलो गरुँला भन्ने सपना बुन्दै छुट्टी सकिन्छ । जीवनक्रम यसरी नै बितिरहेको छ ।
भनिन्छ सँस्कृति हराए समाज हराउँछ र समाज हराए मान्छे नै हराउँछ । नेपालको सन्दर्भमा यतिबेला धेरै कुराहरु हराएको देखेँ यसपालिको नेपाल भ्रमणमा । दिसम्बर ०७को दिन हिथ्रो लण्डनबाट जेट एअरवेजमा चढेर कैयौं विचारहरु मश्तिष्क भरी र मनभित्रका अनुभूतिहरुलाई बोकेर सुन्दर माछापुछ्रे हिमालको काखमा बसेको फेवा नगरी पुग्ने तीव्र आवेगमा त्यता उन्मुख थिएँ । मानौं मेरो चैतन्यको परिधिभित्र केवल त्यो दृष्यले वास गरेर प्रभाव पारेको छ । किशोर अवस्थामा पदार्पण गरे पश्चात हिमालै नभएको केवल हरियाली डाँडा काँडा र समथर हरिया बनहरु भएको सुदूर पूर्व भारतको पूर्वोत्तर राज्य असममा गएको थिएँ । जीवनमा धेरै हिउँद(बसन्तहरु आए गए, विश्वका धेरै ठाउँहरु घुमे, तर, त्यो मनमोहक हिमश्रृङ्खला मेरो सम्झनाको आँखिझ्यालभित्र सदा तैलचित्र बनेर बसेको छ । हो, म नेपालको पर्वतीय सौन्दर्य, स्वच्छ वातावरण, कलकल बग्ने हिमनदिहरु, उपत्याकाहरु सम्झँदा साँच्चै मलाई नेपाल विश्वको भूस्वर्ग झैं लाग्छ । अनि, जन्मभूमि स्वर्गदपि गरियासी भन्ने अनुभूतिले मेरो मुटुलाई चिमोट्छ । सायद यी नै दृष्य र अनुभूतिहरुले मलाई प्रत्येक वर्ष तानिरहेका हुन्छन् । म प्रत्येक वर्ष आफ्नो ललाटमा यही धर्तीको सुवासित माटोलाई तिलक लगाउन आउने गर्छु ।
जेट एअरवेज जहाजले झण्डै ३०० जना यात्रुहरु बोकेर मुम्बईको छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा राति २ बजेतिर अवतरण गर्यो । हामीलाई पट्यार लाग्नेगरी झण्डै ८ घण्टा भोलि बिहानसम्मलाई काठमाडौं उडानका लागि पर्खन बाध्य हुनु पर्यो । काठमाडौको गौचरण विमान स्थल (अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थल)ले आधा शताब्दिको उमेर तय गरिसक्दा पनि सँसारका विभिन्न विकसित राष्ट्रहरुका शहरहरुबाट सिधा उडान काठमाडौका लागि अब सपना नै बनेको छ । जेनतेन ट्रान्जिटमा मसँगै लण्डनबाट आएका नेपाली दाजुभाइ, दिदिबहिनीहरुसँग कुरा गर्दै बस्यौ । मुम्बईमा आजभन्दा २९ वर्षपहिले आएको थिएँ । त्यतिबेला यो बम्बई थियो अहिले मुम्बई भएको छ । झण्डै तीन दशकको अन्तरालमा यहाँ धेरै परिवर्तनहरु भईसकेको अनुभूति मैले गरे । रात बित्यो, बिहान रश्मीले आफ्नो आभा आकाशभरि छर्दै सिन्दुरी बनाईन् । उदायो भास्कर क्षितिज झिलमिल गर्दै र फेरि एउटा दिनको जन्म भयो । बिहान दशबजे हाम्रो उडान साबिकको समयमा उड्यो । अहिले म आकाशमार्ग हुँदै जननी जन्मभूति नेपालतिर उन्मुख छु । शिव र पार्वतीको देश, पवित्र तपोभूति अनि बुद्ध जन्मेर सँसार उज्यालो बनाएको देशतर्फ ।
२०४६ साललाई लोकतान्त्रिक पविर्तनको कोशेढुङ्गा भन्दै फलाक्दै आएको पनि दुई दशक नाघिसक्यो । ४६ सालमा जन्मेका बच्चाहरु वैवाहिक बन्धनमा बाँधेर भावी लोकतान्त्रिक नेपालका कर्णधारहरु पनि जन्माइसकेका छन् । तर, लोकतन्त्रका लागि खनेको नयाँ बाटो कता कता हराइ रहेको ञ भान भइरहेको छ मलाई । इतिहास बन्दै प्रत्येक वर्षको यो लोकतान्त्रिक अभ्यास वूढो हुँदैछ नेपालमा तर यस अभ्यासका नाइकेहरु नै स्वार्थको भूलभूलैयाभित्र हराएका छन् । म यसरी गम्न पुग्छु यदाकदा तर विवशतावश् मैले देशको लागि केही गर्न सकिरहेको छैन । अनि सोच्छु, “के म पनि नेपालमा बसेर राजनींति गरेको भए त्यही फोहोरी अहालभित्र नै हुन्थे हुँला ? म पनि चोखिन्थे र ?” । हिन्दीमा एउटा उखान छ “छेपारोले छेपारोलाई देखेर रङ्ग परिवर्तन गर्छ” । सायद त्यही चाला हुन्थे कि म पनि ? म यस्तै कुराहरुमा केहीबेर हराएको थिएँ । म झस्किन्छु, जहाजभित्र मधुर स्वर गुञ्जिन्छ, “तपाईहरु आफ्नो पेटी बाँध्नु होला, हामी अब काठमाडौं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छौ” । नभन्दै हाम्रो विमान काठमाडौ उपत्यकाको आकाशमाथिबाट विस्तारै तलतल झर्दै गरेको अभास भयो मलाई । उत्तरतिरको हिमालवरिपरि बादल देखियो । विमानको झ्यालबाट हिमालको केही भाग सूर्यको किरणमा चम्किरहेको देखे । एक पटक आरध्यदेवलाई सम्झें अनि प्रार्थना गरें । मन प्रफुल्ल भयो । अहिले जेटवेजको विमान विमान स्थलमा ओर्लिसकेको छ । केहीक्षणपछि मधुर मीठो स्वर गुञ्जिन्छ, “तपाईहरुको यात्रा सुखद भयो होला, जेट एअरवेजमा सफर गर्नुभएकोमा यहाँहरुलाई आभार व्यक्त गर्दै धन्यवाद टक्रयाउँ छौं, फेरि-फेरि हामीलाई सेवा दिने मौका दिनुहोला, बाहिरको तापमान ७ डिग्री सेल्सियस छ” । शिटमाथि राखेको केबिनेटबाट ल्यापटप र सानो शु्ट्केस निकालेर बाहिर निस्कन आत्तुर थिएँ म ।
लण्डनबाट हिँड्दा नेपालमा त्यति जाडो छैन होला भन्ने सोचेको थिएँ तर यहाँ आई पुग्दा बेलायतको भन्दा काठामाडौको तापक्रम चिसो भेट्टाएँ । ब्यागेज लिएर बाहिर निस्कँदा छोराका आँखाहरु मेरो पर्खाइमा व्यग्र भएको देखे । दगुर्दै आएर मलाई ढोग गर्यो, मेरो अन्तकरणबाट एउटा स्नेहको आवेग बाँध भत्काउँदै आएको अनुभूति गरे । मनलाई गाँठो पार्दै छोरालाई आशीर्वाद दिएँ । एकैछिनमा हामी दुबैजना कारबाट साइला भाइ, डीएसपी प्रतापको घर, सामाखुशीमा आइपुग्यौ । यसरी मेरो लण्डनदेखि काठमाडौको यात्रा पूरा भएको थियो । पोखराबाट माइलाभाइ र आमा आउँदै थिए । हाम्रो परिवारको केही हिस्सा साइलाभाइको घरमा बेलुकि भेट भएर भलाकुसारी गर्यौ र खानाको लागि किचेनमा गयौ । आठबजे लोडशेडिङको समय रहेछ, बुहारीले ठूली छोरी प्रसिमालाई, “छिट्टो बत्ती लिएर आउ” भनेर अह्राईन् । भाइले इन्भर्टर (ब्याटरीलाई चार्ज गरेर लोडशेडिङको बेलामा प्रयोग गर्ने बत्ती) एकदुई दिनमा आउछ ठूलदाइ भन्दै थियो । मलाई पटक्कै मन नपर्ने लोडशेडिङ ।
सँसारको दोश्रो जलसम्पदा भएको राष्ट्र नेपालले लोडशेडिङको पीडा कहिलेसम्म खेप्नु पर्नेहोला ? म यही कुरालाई केहीबेरसम्म सोच्न थाले । हुने खानेको घरमा इन्भरटर, अरु बत्तीका साधनहरु र डाइनामाइटबाट चल्ने प्रकाशपुञ्जहरु छन् । उनीहरु आनन्दित भएर नेपालमा मोजमस्ति गरेर जीवन बिताइरहेका छन् । नहुनेहरुका लागि यो एउटा अभिशाप हो । राष्ट्रको राजधानीजस्ता ठाउँका सडकहरुमा बत्तीहरु र पर्याप्त प्रकाश नभएकाले आपराधिक क्रियाकलापहरु दिनका दिन बढिरहेका छन् । महिला तथा साधरण निमुखा जनताहरु सधै असुरक्षाको घेराभित्र डराएर जीवन बिताउनु बाध्य छन् । साँझ परेपछि अँध्यारोले चेप्न थाल्छ । त्यही अँध्यारोको गर्भभित्र कालोखेल खेलिन्छ रातभरि सुन्धारा र काठमाडौका अन्य होटलहरुमा । मलाई नेपालको सबैभन्दा मन नपर्ने कुरा लोडशेडिङ मात्र होइन, जथाभावि मैला फ्याँक्ने, धुलोधुँवाको प्रदुषन र स्वास्थ्यसम्वन्धी हेल्चेक्र्याई गर्ने व्यवस्थापकहरु पनि हुन् । नागरिक सचेत कसले गर्ने ? कसले वातावरण बनाई दिने ? प्रायः सबैको मुखबाट गुनासो र अरुलाई अप्जस दिने बाहेक अरु कुरा सुन्दिनँ घरविदा आउँदा घरदेशमा । के हामी नेपालीहरुको अरुलाई अप्जस दिने सँस्कार नै बनेको हो त ? म कहिलेकाहिँ आफै कन्फ्यूज हुन्छु । प्रवासदेखि विदामा घर जाँदा रमाइलो कल्पना गरेर गएको हुन्छु । तर, राजनीतिक महत्वकांक्ष बोकेका राजनीतिज्ञहरुका कारण म मात्रै होईन अँध्यारोमा घरदेश नै हराइरहेको महशुस सबैले गरेका होलान भन्ने ठान्दछु ।
प्रत्येक नेपाली आ-आफ्नै पींडामा दुखेका छन् । आदिवासी जनजातीहरु आफ्नो अस्था र पहिचानका लागि लडिरहेका छन् भने देशका सम्पूर्ण अरु समुदाय र क्षेत्रका नागरिकहरु आफ्नै स्वतन्त्र हक अधिकार बर्चस्व रहने खालका सँघीय प्रणाली, क्षेत्र र प्रशासन सुनिश्चित गर्ने होडमा छन् । मुलुक सँघीय लोकतान्त्रिक मोडतिर बढीरहेको बेलामा प्रत्येक नेपालीलाई चासो, खुल्दुली र व्यग्र हुनु स्वाभाविक हो । तर, देशको शासन व्यवस्था केवल सक्षमताको फुस्रो आधार मानेर सधैं सिमित वर्ग एकै खाले रहने हो भने नेपाल कहिल्यै उभो लाग्दैन । म अँध्यारो कोठामा यसरी नेपाल बारे सोचीरहेको बेलामा एकैछिन पछि छोरी प्रसिमाले बत्ती लिएर आईन् । म त्यही बत्तीको मधुरो प्रकाशमा नेपालको भविष्यबारे भाइसँग निकैबेर कुरा गरें ।
प्रतिक्रिया