(कविता)रिमिट्यान्स-आशीष साम्पाङ ‘महेश’

(कविता)रिमिट्यान्स-आशीष साम्पाङ ‘महेश’


ए पुरोहित बाजे !
तिमी उता महायज्ञमा छौ

म यता खाडीतिर
बालिरहेछु वैदेशिक रोजगार धुनी
तापिरहेछु अपराधी उष्ण गर्मी
रात बिरात आलिङगन गर्छु प्रिय मृत्यु

पठाउँछु कफिनमा हालेर सम्झनाको पार्शल
मायालुको नाउँमा
-रोइरहेको सेतो गुलाफ ।

मलेसियाको औधोगिक घना जंगलमा
खोजिरहेछु श्रमको लालुपाते
यन्त्र जडित कल्पवृक्षबाट
टिपिरहेछु रगताम्मे लालीगुँरास

पठाउँदैछु निर्जनभूमिबाट
जिउँदो लासमा फक्रेको जिन्दगी
अनि
अत्यासलाग्दो अपाङ्ग फूलपाती ।

हतौडाले हानिरहेछु अभागी पुर्पुरो
बनाएर हेमरेज मस्तिष्क
बजार्दैछु निरन्तर परजीवी गैंतीबेल्चा
स्वाभिमानी चौडा वक्षस्थलमा
हानेर क्रूरताको ड्रिलमेसिन
पारेर छ्रि्र-छ्रि्र सम्वेदनाका फोक्सोहरु
खोजिरहेछु रंगीबिरंगी कठोर हीरा

पठाउँदैछु असर्फीयुक्त
एकजोर निर्दोष आँखा ।

ए पुरोहित बाजे !
यी सबै पठाएकोछु मैले
मेरा हड्डीको चन्दन घोटेर
मेरा रगतले अक्षता मुछेर
जिन्दगीका अधुरो हिसाबकिताब

स्वर्णिम सपनायुक्त दक्षिणा
रिमिट्यान्सको कालो लिफाफामा हालेर
राष्ट्रियता र सुशासनको
शान्ति र सम्वृद्विको
उही महायज्ञमा
दूर समुद्रपारिबाट ।