लण्डन । कन्दरा ब्याण्डका चर्चित गायक विवेक श्रेष्ठको एकल साँगीतिक कार्यक्रम Live Musical Tour 2012 “SONGS FOREVER” बेलायतका विभिन्न ठाउंमा प्रस्तुत गर्ने भनिएको कार्यक्रमको पांचौ संस्करण यसै साता फोक्स्टोनमा सम्पन्न गरिएको छ । कालजयी गीतहरुलाई पुनः एकपटक जनमानसमा पुर्याउने उदेश्य बोकी गरिएको कार्यक्रममा बिशेषगरी संगीतलाई अत्यन्त माया गर्ने स्तरीय दर्शकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको स्तरअनुसार न्युन दर्शकहरुको उपस्थिति रहेको सो कार्यक्रममा अनुपस्थितहरुले टिकट मूल्य महंगो भएको र उपस्थित दर्शकहरुले बेलायत जस्तो देशमा न्युन मुल्यमा अमूल्य कार्यक्रम हेर्न पाएको प्रतिक्रिया दिए । कार्यक्रममा मेजर हर्कमान गुरुङ, फोक्स्टोन नेपाली समाजका अध्यक्ष चन्द्र गुरुङ, उपाध्यक्ष रामलाल श्रेष्ठ, तमु धिं यूकेका महासचिव ग्याम गुरुङ, बी.एफ.बी.एस रेडियोका योगराज राई, सिरिश सुनुवार, आशा पुन, एन.आर.एन. यूकेका सल्लाहकार किशोर सापकोटालगायत बी.एफ.बी.एस रेडियोका सम्पूर्ण प्रस्तोताहरुको उपस्थितिले कार्यक्रममा थप रौनकता ल्याएको थियो ।
दुई चरणमा विभाजन गरिएको सो कार्यक्रमको पहिलो चरणमा गायक श्रेष्ठले सदाबहार गीतहरु स्वर्गीय स्वरसम्राट नारायण गोपालको मलाई नसोध र तिमीले भनेका, दीप श्रेष्ठको बितेका कुराले र म त दूरदेखि आएं, ओम बिक्रम बिष्टको म मौनतामा, डेनी डेङ्जोङ्पाको चिसो चिसो हावामा, सुक्मित गुरुङको पल पल, गुलाम अलीको लोलाएका ती आंखा प्रस्तुत गर्दा उपस्थित दर्शकहरु मन्त्रमुग्ध भई संगीतमा झुमेका थिए । यसैगरी गायक श्रेष्ठलाई फिमेल भोकलमा लेककी हे माया र जिन्दगी यो उत्सब बोलको गीतमा गायक श्रेष्ठको नौं बर्षीया छोरी सिबिरा पुन श्रेष्ठले साथ दिएकी थिईन् । बिना तयारी स्टेजमा गाएकी सिबिराले गाउनासाथ उक्त हल तालीले गुन्जिएको थियो ।
कार्यक्रममा कलाकार, प्राविधिक एवं कार्यक्रमसँग सम्बन्धित सम्पूर्णलाई फोक्स्टोन नेपाली समाजका अध्यक्ष चन्द्र गुरुङले खादा लगाई सम्मान गर्नुका साथै कार्यक्रमको स्तरलाई मन पराएर उच्च मूल्यांकन गर्दै Live Musical Tour 2012 “SONGS FOREVER” को सहयोगार्थ एक हजार पाउण्डको चेक गायक श्रेष्ठलाई प्रदान गरिएको थियो ।
सौहाद्रपूर्ण पारिवारिक वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन यस Tour का संयोजक मनोज कुमार गुरुङले गरेका थिए । २८ जनवरी सरस्वती पूजाको दिन पारी साउथ इस्थ लण्डन प्लमस्टेडबाट गरीएको थियो । सो कार्यक्रम यसअघि अल्डरसट, व्रेकन, रिडिडमा सम्पन्न गरिएको छ । गायक श्रेष्ठको समूहले अन्तिम कार्यक्रम ३ मार्च साउथ हृयारोमा हुने कार्यक्रमका संयोजक मनोज गुरुङले बताए ।
– कुशल श्रेष्ठ, मेस
प्रतिक्रिया