हामी मकाउ म्युजियममाथिको किल्लावरिपरि केहीबेर फोटाहरु खिच्यौ । माथिबाट चारैतिर देख्न सकिने आँखाले भ्याउन्जेल दृष्यहरु हे-यौ । केहीबेरपछि हामी तलतिर स्केलेटर हुँदै फेरि सेन्ट पाल गिरजाघरलाई दाहिने पारेर, सानो गल्लीजस्तो बजार भएर मुख्य सडकमा झ-यौ । हाम्रो बेलुकिको हाउस अफ डान्सिङ वाटरमा -नृत्यशील जल आवासमा) हेर्ने नृत्य प्रदर्शनी आठबजेबाट मात्र शुरु हुने थियो त्यसकारण भेनीशियान र सिटी अफ ड्रिम्सका होटल र क्यासिनोहरु घुम्नलाई २ घण्टाजति अघि हिँडे भ्याउने विचारले वारितिर नै समुन्द्रतट्मा निर्माण गरेको कल्चरल एक्जिभिशन सेन्टर हेर्ने विचार गर्यौ । त्यो भन्दा पहिले पेटले चारा खोजेको अनुभूति हामी चार जनालाई नै भइरहेको थियो । अतः छोरीले चाइनिज फुडको कुरा गरिरहेकी थिईन् । यतिबेला चारबज्न आँटेकाले एकाध रेस्टुरेन्टहरु हे-यौ, तर, चाहेजस्तो भने भेटिएन । समयको पाबन्दीलाई मध्येनजर गरी मैले छेवैको म्याकडोनल्डमा म्याक खाने प्रस्ताव राखेँ । छोरीले भरे र्फकदा हङकङमा चिनियाँ खाना खाउला भनेर प्रस्ताव राखीन् । हामी म्याक खानालाई म्याकडोनल्डभित्र पस्यौ । पर्यटकहरुका भिडको घुइँचोमा म्याकमा लामो लाम थियो । बुरिया र जुँवाइ खाने टेबुल ओगट्न माथितिर उक्ले हामी बाबाछोरी म्याकमा लाइन लाग्यौ । आज छोरीजुँवाइ साह्रै खुशी थिए । झण्डै दुई र्षपछि हामीलेपनि छोरी समीक्षा र जुँवाइ, डाक्टर सँगमसँग निकै समय बिताउने मौका पाएका थियौ । छोरीको बिहेलगत्तै हामी यूके आएका थियौ त्यसपछि छोरीजुँवाइसित रमाइलो गरेर समय बिताएका थिएनौ । यो हाम्रोलागि खुशीको समय थियो । फोन र इमेलमा सम्पर्क हुँदा जहिले पनि कहिले भेट्ने होला भन्ने महशुस भइरहन्थ्यो । बुरियालाई सधै सन्तानको कमी खट्किन्थ्यो र साँझबिहान बच्चाहरुकै कुरा गरिरहन्थिन् । अहिले उ ढुक्क र मक्खछिन् । हामीले दिनको लञ्च, म्याक खाएपछि तल मूल सडकमा आएर स्याण्डस् होटल एण्ड क्यासिनोका शटलबसमा चढ्यौ किनभने स्यान्ड्सकै छेउको समुन्द्रतट वरिपरि घुम्ने हाम्रो रहर थियो । यो ठाउँ हङकङमकाउ फेरीको छेउमा थीमपार्कको रुपमा मकाउ सरकारले पाँच वर्ष लगाएर निर्माण गरिएको रहेछ । यसलाई मकाउको फिसरम्यान हृवार्फको नामबाट चिनिन्छ । यसको परिसरभित्र कन्भेन्शन तथा एक्जिभेशन सेन्टर, क्यासिनो, रेस्टुरेन्टहरु, मनोरञ्जनकालागि विभिन्न संरचनाहरु लगायत अलादिनको किल्ला, ज्वालामुखी, तांग बंशको किल्ल्ाा मन्दिर, पोटाला दरबार, केप टाउन तथा रोमान कोलोजियमजस्ता इत्यादि विश्वका विख्यात ठाउँहरुका स्याम्पल निर्माण गरेर पर्यटकहरुलाई आकर्षित गर्ने भौतिक संरचनाहरु निर्माण गरेको छ ।
हामी यसको परिसरभित्र झण्डै डेढघण्टाजति घुम्यौ र धेरै फोटाहरु खिच्यौ । तर, प्रत्येक संरचनालाई विस्तृत रुपमा हेर्न र बुझ्नकालागि पर्याप्त समय थिएन । केवल बाह्य भागहरु हेर्दा नै हाम्रो समय बितेको थियो । लगभग छ बज्ने बेलामा हामी त्यहाँबाट सिटी अफ ड्रिम्सको शटलबस चढेर सिटी अफ ड्रिम्सतर्फ लाग्यौ । भेनीशियन र सिटी अफ ड्रिम्स मकाउको कोटाइ स्ट्रिप्स -समुन्द्रलाई पुरेर निर्माण गरेका द्वीपको भाग)का विशाल दुइटा सुन्दर भौतिक संरचनाहरु हुन् । खरबौ रुपैयाका यी सम्पतीहरुलाई लास भेगास स्याण्डस् कोरपोरेशनले भेनेशियन र सिटी अफ ड्रिम्सचाँहि मेल्को कम्पनीले सञ्चालन गरेका छन् । होटल र क्यासिनोका लागि बनेका आधुनिक इन्जिनियरिङको अनुपम सृजनाको प्रतीक यी भौतिक संरचनाहरु पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेका छन् । दिन प्रतिदिन बढ्दै गइरहेको मकाउको होटल र क्यासिनो व्यवसायले लासभेगासलाई मात दिइरहेको छ । केहीले मकाउलाई एसियाको लास भेगास पनि भनिन्छ । हामी सिटी अफ ड्रिम्समा पौने सातबजेतिर पुगेका थियौ । फ्रयाङको ड्रयागन इन्टरटेन्मेन्ट ग्रुपद्वारा सञ्चालित हाउस अफ डान्सिङ वाटरको शोचाँहि आठबजेमात्र शुरु हुने थियो त्यसैकारण केहीसमयका लागि भएपनि वरिपरि घुम्न हामी सिटी अफ ड्रिम्सको परिसरभित्र घुम्यौ । सिटी अफ ड्रिम्सको मुख्य प्रवेश द्वारमा पानी र प्रकाशको तारतम्य मिलाएर मारमेड (जलपरी, कमरभन्दा मुनीको भाग माछा तथा कमरभन्दा माथिको भाग सुन्दरी महिलाको शरीर) पानीभित्र पौडी खेल्दै नाचीरहेकी दृष्य देखेँ जो एकदमै आकर्षक देखिन्छ । साँच्चीकै मारमेड तैरिरहेकी झै प्रतीत हुन्छ । छोटकरीमा भन्नु पर्दा मकाउमा एकपटक गएर यी सबै सुन्दर निर्माणहरु र क्यासिनोहरुका चहलपहल हेरे वास्तवमा पैसाको चलखेल बुझ्न सकिन्छ र संसार पैसावालाहरुकै रहेछ भन्ने प्रत्तित हुन्छ । विकाशको गति यति चाँडो बढ्दै छकि आजभन्दा १५वर्ष पहिलेको मकाउ र अहिलेको मकाउमा धेरै भिन्नता पाइन्छ । विश्वमा अहिले धेरै आयुसम्म बाँच्ने सूचीमा मकाउ दोस्रो स्थानमा पर्दछ । जुन राष्ट्रमा मानिसहरु बढी बाँच्छन् निश्चित रुपमा त्यसठाउँका मानिसहरुका जीवनशैली र वातावरणको देन रहेको हुनुपर्छ भन्ने मेरो धारणा रहेको छ ।
भव्य चारवटा होटल र क्यासिनोहरुका गगनचुम्बी भवनहरु मिलाएर निर्माण गरेको मकाउका सिटी अफ ड्रिम्स (सपनाको नगर) मलाई एकप्रकारले सपनाको नगरझै प्रत्तित भईरहेको थियो । यसभित्रको एउटा भवन ४७तल्ला अग्लो छ । यसको परिसरभित्र होटलहरु, रेस्टुरेन्टहरु, क्यासिनोहरु र संसारका नामुद ट्रेडिङ शपिङ सेन्टरहरु छन् । हामी सरासर हाउस अफ डान्सिङ वाटर शो देखाउने थिएटरहालको रिसेप्शन काउन्टरतर्फ लाग्यौ । भर्खरै शो सकेर मान्छेहरुका हुलका हुल बाहिर निस्किरहेका थिए । हाम्रो अझ एकघण्टाजति समय रहेको हुनाले सिटी अफ ड्रिम्स र भेनेशियानका भित्र र बाहिरका केही भागहरु हेर्न फेरि त्यहाँबाट बाहिर निस्क्यौ । केहीबेर फोटाहरु खिच्यौ र फेरि हामी थिएटरतर्फ नै फर्केर आएका थियौ । आठबज्नै आँटेकोले हामी थिएटरभित्र छि-यौ । थिएटरको भव्यताले पस्ने बित्तिकै हामीलाई प्रभावित पा-यो । यस थिएटरलाई २५० मिलियन अमेरिकी डलर खर्च गरेर संसारको सबैभन्दा नविनतम् आधुनिक तकनिक अपनाएर निर्माण गरेको भनिन्छ । गोलाकार दर्शकहरु बस्ने शीटहरु पंक्तिबद्ध तलबाट माथितिर फैलिदै गएको थिएटरमा एकातिर प्रवेशद्वारमाथि पर्दामा कथाको पृष्ठभूमि र कथालाई दर्शाउनकालागि फिल्मका क्लिपहरु देखाउने गरिने रहेछ र बीचमा प्रदर्शन मञ्चन गर्ने पानीको गहिरो तलाउ रहेछ । यो पानीको मञ्चरुपी तलाउमा तीन करोड सत्तरीलाख ग्यालन पानी अर्थात पाँचवटा ओलिम्पिक स्विमिङपुल बराबरको पानीले भरिएको छ भनिन्छ । ठ्याक्कै आठबजे शो शुरुभयो । हेर्दा दहजस्तो देखिने मञ्चमा प्रकाश र ध्वनीका विशेष प्रभावको प्रस्तुति गर्दै एउटा समयलाई सार मानेर प्रेमकहानीको आधारमा विभिन्न नृत्य र सर्कसका करतबहरुका प्रस्तुति हुन्छ । शुरुमा तलाउमा एकजना मानिस चोयाबाट बनेको भियतनामी टोपी ओढेर निकै लामो डुंगा खियाउँदै बिहानको कुँवासो लागेको बेलाको वातावरणमा मञ्चको द्वारबाट तलाउमा प्रवेश हुन्छ र डुँगा खियाउँदैगर्दा एकजना विहोश भएको व्यक्ति -कथाको नायक) लाई तलाउको पानीबाट उद्वार गर्छ । यहाँबाट नै शो प्रारम्भ हुन्छ । राज्यसत्ता माथि प्रभुत्व जमाएर खलनायकरुपी जत्थाले एकदमै सुन्दरी अप्सराजस्ती युवती राजकुमारीलाई कैद गरेर राखेको हुन्छ, आपmनो प्रेयसीलाई ती पापीहरुका हातबाट मुक्त गर्न एक जना युवक, राजकुमारका साथी र ऊ उनीहरुसँग लडेर अन्तमा मुक्तगर्ने कथावस्तुमा आधारित यस कहानीलाई विभिन्न सर्कसका करतब, आकर्षक अभुषन र कपडाहरु पहिरेर पानीभित्र गरिने युद्धशैलीका नृत्य र सँगीतले दर्शकहरुलाई यति खिचेर राख्छकि एकनिमेषका लागिपनि आँखा नझिम्काई प्रदर्शनको मजा दर्शकहरुले लिन्छन् । छिन् छिनमा मञ्च परिवर्तन हुँदै गर्छ । एकैछिनमा पानीको दह लुप्त भएर त्यहाँ सुन्दर मन्दिर र सतह प्रकट हुन्छ जहाँ र्सकसका करतब देखाउने एउटा समुहले राजकुमारीलाई विरोधी शैतान समुहबाट छुडाउने प्रयास गरिन्छ । फेरि एकैछिनमा त्यो सतह र मन्दिर लुप्त भएर जान्छ र धूँवाले भरिएको समुन्द्रमा मध्यकालीन जहाजमा कैयौ मानिसहरु प्रकट हुन्छ । अङ नै जिरिङ गर्ने खालको नृत्य र करतबहरु देखाउँदै माथि उँचाइबाट उफ्रँदै पानीमा उल्टोसुल्टो हुँदै हामफाल्ने करतबहरुले अचम्भित र रोमाञ्चित बनाउँछ । यो सिलसिला डेढघण्टासम्म अनवरत् चल्छ । यसैबीच मोटर र्साईकलको पत्यार नलाग्ने करतब देखाउँदै हावामा कलाबाजी गर्दै उड्ने साहसी चालकहरुका खेल साँच्चै नै रोमाञ्चक हुन्छ । मैले बीचबीचमा लुक्दै भिडियोमा मुख्य-मुख्य शोका भागहरु रेकर्ड गरे, तर, शुरुमा नै रेकर्ड नगर्ने उद्घोषण गरे पनि मैले केही रेकर्ड गर्न भ्याएको थिएँ । बेला बेलामा चेकगर्दै आउँदा भीडीयो रेकर्ड नगर्नलाई भन्थे, तर, रोमाञ्चित भएका दर्शकहरुलाई कति रोकेर सकिन्थ्यो र ?
दुई हजारभन्दा बढी शीट भएको थिएटर हाउसफुल थियो । दिनमा २ वटा शोहरु देखाउने यो हाउस अफ डान्सिङ वाटरको प्रदर्शन पाँच बजे एकपटक र बेलुकि आठ बजे एकपटक गरी देखाउने रहेछ । प्रायः अग्रिम बुकिङमा फुल हुने शोहरुका मितिहरु पहिले नै तोकेर वेबसाइटमा दिएका हुन्छन् । जीवनमा मकाउ पुगे अवश्य नै हेर्नुपर्छ भन्ने मेरो सल्लाह छ । प्रत्येक शो केवल डेढ घण्टाको हुन्छ । यस शोमा भाग लिने कलाकारहरु चार दर्जनभन्दा बढी छन् । जीवनमा धेरै र्सकसहरु र नृत्यहरु मैले हेरेको थिएँ, तर, मैले यस्तो खाले शो जीवनमा कहिल्यै पनि हेरेको थिइनँ । मलाई एउटा रमाइलो अनुभूति भइरहेको थियो । हाम्रो शो ठीक साढे नौ बजे सिद्धिएको थियो । हाम्रो फेरीको समय रातिको ११ बजेको थियो । हामीसँग मकाउ घुम्ने अझ एकघण्टाजति बाँकी थियो । किनभने हामी सिटी अफ ड्रिम्सबाट अध्यागमन भएको फेरीमा पुग्न आधा घण्टा भए काफी हुनेथियो । तब छोरीले भेनीशियानको तीनतल्लामा भएको भेनीस शहरको नहर र गोण्डोला -भेनीसको एकप्रकारको डुंगा)को स्याम्पल हेर्न जाने आग्रह गरिन् । हामी एकैछिनकालागि भने पनि हेर्न गयौ । भेनेशियान भित्र भुँइतल्लामा नै संसारको नै सबैभन्दा ठूलो क्यासिनो हल छ । यो रिसोर्ट होटल र क्यासिनो ४० तल्लाको छ । विश्वमा यस भवनले क्षेत्रफलको हिसाबमा छैटौ स्थान ओगट्छ रे भनिन्छ । हामी क्यासिनोहलको बीचभाग हुँदै एस्केलेटरबाट तीनतल्लामा गयौ । हामी दम्पति (श्रीमती र मैले) यसै वर्षको मार्च महिनामा युरोपका ७वटा राष्ट्रहरुका भ्रमणमा गएका थियौ । त्यतिबेला हामीले भेनीस शहर हेरेका थियौ । भेनीसलाई झझल्को दिने गरी तीनतल्लामा नहर, गोण्डोला, आकाश र त्यहाँका भवनहरुका स्याम्पल बनाएका रहेछन् । भन्नाले मकाउको भेनेशियान भित्र इटालीको भेनीस शहरलाई छनक् दिने एउटा माहौल प्रस्तुत गर्ने कोशिस गरेको रहेछ जुन प्रयास निकै सुन्दर देखिन्छ । मुलतः लास भेगासमा बनाएको भेनीशियानको अर्को संस्करण मकाउमा पनि त्यहि कम्पनीले बनाएको रहेछ । राति तीनतल्लामा पुग्दा हामीलाई बिहान भइरहेको झै प्रतीत भइरहेको थियो । नीलो अकाशमा बादलका टुक्डाहरु र बिहानपख उषाको किरणमा नहरको नीलोपानी, छेउमा गोण्डोला र नहरका दुईतिर बनाएका कम उँचाइका घरहरु भेनीस शहरको एउटा नहर क्षेत्रको दृष्य र वातावरणलाई झल्काई रहेको थियो । विभिन्न मुद्रामा हामीले फोटाहरु खिच्यौ । केही समयपछि हाम्रो मकाउबाट र्फकने समय भयो । हामी त्यहाँबाट शटलबस भएतिर लाग्यौ । अनि केहीछिनपछि हामी मकाउको अध्यागमनवाला फेरीमा पुग्यौ । हामी ठीक ११ बजे राति जेटबोटमा चढेर फेरी हङकङतर्फ आइरहेका थियौ । तीन वर्षपछिको मकाउ भ्रमण रमाइलो लागेको थियो । एउटा सम्झना र समयले दिएको उपहारलाई शिरोपर गरी छोरीजुँवाइलाई मनमनै धन्यवाद दिँदै हङकङ र्फकदै थिएँ । मलाई र्सार्क राष्ट्रहरु छाडेर युरोपेली राष्ट्रहरुभन्दा एसियाका दक्षिणपूर्वेली राष्ट्रहरु रमाइलो लाग्छ । शायद जीवनको केही रमाइला उर्जाशील समयहरु गुजारेको हुनालेपनि हुनसक्छ । म अहिले विश्वको एउटा अघिल्लो पंक्तिमा आउने विकास भएको राष्ट्र, बेलायतमा विगत केही वर्षदेखि यतै बस्दै आएको हुनाले पनि हुनसक्छ, । त्यसैले, बेला बेलामा दक्षिण चीनका भूभागहरु, मकाउ हङकङ र गुवाङजोका भूभागहरुले कताकता आकर्षण गरिरहेझै लाग्छ । यस्तै सोचाइहरुमा एक घण्टा बितेको थाह नै लागेन । हामी ठीक बारहबजे ओसियन टर्मिनल, चाइना फेरी, हङकङमा आइपुगेका थियौ । धन्यवाद…. फेरि अर्को एपिसोडमा भेटौला ।
प्रतिक्रिया