० झन्डै चार दशक लामो भूमिगत जीवनपछि पूर्णरूपेण सार्वजनिक हुनुलाई धेरैले मोहनविक्रम सिंहको पब्लिसिटीमोहको करामत भन्छन् नि, के भन्नुहुन्छ ?
होइन, म सार्वजनिक भएको छैन, अझै पनि अर्धभूमिगत जीवन नै बिताइरहेको छु । सार्वजनिक कार्यक्रमहरूमा जान्नँ, तर मेरो तस्बीर भने सार्वजनिक गरिएको छ । किनकि, तस्बीरलाई गोप्य रूपमा राख्न सकिएन । मेरो फोटो जसले जतिखेर मन लाग्यो उतिखेर खिच्न सक्ने भए, सधैं एकै कोठामा रहने अवस्था पनि भएन । विभिन्न स्थानमा जाँदा, नचाहेर पनि धेरैले फोटो खिच्न र सार्वजनिक हुन थालेपछि फोटोलाई कन्ट्रोल नगर्ने निर्णय गरेर फोटो सार्वजनिक गरिएको हो । यो मेरो रहर होइन, बाध्यता हो भनेर बुझ्न आग्रह गर्छु ।
० तर, फोटो सार्वजनिक गर्ने रहर त तपाईंकै हो भन्छन् नि ?
मेरो इच्छा या रहरले मात्र फोटो सार्वजनिक भएको होइन, फोटो सार्वजनिक गर्ने भनेर पार्टी कमिटीले निर्णय गरेअनुसार गरिएको हो । फोटो सार्वजनिक गर्दा पनि यहाँको वस्तुस्थितिलाई निकै अध्ययन गरेका थियौँ । त्यसमा धेरै व्यावहारिक कारणहरू पनि देखिए, त्यसले पनि फोटो सार्वजनिक गर्न बाध्य तुल्यायो ।
० फोटो त सार्वजनिक गर्नुभयो, अब तपाईचाहिँ कहिले सार्वजनिक हुने त ?
जनताले पूर्णअधिकार नपाएसम्म, हामीले उठाएका विभिन्न मुद्दा या माग पूरा नभएसम्म, जनतामा गाँस, बास, कपासको राम्रो प्रबन्ध नभएसम्म, अर्थात् हामीले उठाएका तमाम उद्देश्य पूरा नभएसम्म म सार्वजनिक हुने छैन ।
० नेपालका कम्युनिस्टहरू चिरैचिरामा विभक्त छन्, यस्तोमा कसरी सम्भव होला त तपाईंको उद्देश्यप्राप्ति ?
अवश्य हुन्छ । नेपालमा सामन्तवाद अन्त्य हुनुपर्छ/हुन्छ, त्यसैका निम्ति हामी सङ्घर्षरत छौँ । हामीले देखेको सपना पूरा हुने दिन अवश्य आउनेछ भन्नेमा विश्वस्त छौँ हामी ।
० सबै मिले मात्र न तपाईंहरूको उद्देश्य पूरा हुन्छ, होइन र ?
द्वन्द्व सबैतिर हुन्छ, द्वन्द्वबाट मुलुक मुक्त हुँदैन । घरकै उदाहरण लिए हुन्छ, एउटै घरका सदस्य पनि छुट्टएिका हुन्छन्, बाबुछोरा छुट्टएिका हुन्छन्, श्रीमान्श्रीमती छुट्टएिका हुन्छन् । त्यस्तै पार्टीमा द्वन्द्व हुन्छ । छुट्टएिर जान्छन् । त्यो कम्युनिष्ट पार्टीमा मात्र होइन अन्य पार्टीमा पनि देख्न सकिन्छ । सबै पार्टीमा द्वन्द्व देखिन्छ र फाटिएका छन् । त्यो स्वाभाविकै हो । सामान्य सन्दर्भमा हर्ेर्नुपर्छ । फुट्यो भन्नेबित्तिकै सबै कुरा सकियो भन्ने होइन ।
० फुटेर जाने जति सबैले आफू मात्र सच्चा अरू सबै नक्कली भन्छन् नि, किन होला ?
संसारका सबै चिजमा सच्चा र नक्कली भन्ने हुन्छ । कुनै पनि नक्कलीले आफूलाई नक्कली भनेको पाइँदैन । सबैले सक्कली नै दाबी गरिरहेका हुन्छन् । त्यस्तै, पार्टीमा पनि फरकफरक गुट देखापरेको हुन्छ र ती सबै गुटले आफू मात्र सक्कली भएको दाबी गर्छ । त्यसैले यो सक्कली र नक्कली भनेर सीमारेखा कोर्न कठिन हुन्छ । यो त व्यवहार, शैली, उसको प्रस्तुति, विचार आदिलाई हेरेर मूल्याङ्कन गर्ने कुरा हो ।
० नेपालका दुई ठूला पार्टी माओवादी र एमाले दुवैले आफूलाई सच्चा भएको दाबी गर्छन्, तपाईंलाई चाहिँ दुईमध्ये कुन ठीक हुन् जस्तो लाग्छ ?
यो ठीक ऊ बेठिक भन्नुभन्दा पनि उनीहरूले अगाडि ल्याएका नीतिका आधारमा भन्ने हो । उनीहरूका केही नीतिलाई हामीले सही भनेका छौँ भने केहीलाई गलत भनेका छौँ । तर, उनीहरू वास्तविक रुपमा सही भनेको भए त हामी पनि उनीहरूसँगै हुन्थ्यौँ नि ! केही कुराहरू ठिकै होलान् तर समग्रमा उनीहरू गलत छन् । त्यसैले यो ठीक ऊ बेठिक भन्नुको कुनै अर्थ छैन, दुबै उस्तै हुन् हाम्रा लागि ।
० अहिलेको राजनीतिक अवस्थालाई चाहिँ कसरी हर्ेर्नुहुन्छ तपाईं ?
विशेषगरी अहिले संविधान बनाउनुपर्ने समय हो, यसमा कोही लागिरहेको देखिँदैन । सबै आफ्नो स्वार्थ पूरा गर्न मात्र लागिपरेको देखिन्छ । सर्वोच्च अदालतले जेठ १४ लाई अन्तिम समयसीमा तोकिदिएको छ । १४ जेठ आउन केही समय मात्र बाँकी छ । तर, केही काम भएको देखिँदैन । यही स्थितिमा संविधान बन्ने सम्भावना देखिँदैन । संविधान नबन्दा अत्यन्तै भयावह स्थिति देखापर्नेछ, त्यसैले हामीले सबैले दबाब दिनुपर्छ ।
० संविधान समयमा बन्न नसक्नु वा त्यसअनुसार काम हुन नसक्नुमा दोषीचाहिँ कसलाई देख्नुहुन्छ ?
यसमा सबै राजनीतिक शक्तिहरू दोषी छन् । तर, सबैभन्दा ठूला राजनीतिक शक्ति सत्ताको अघिपछि मात्र लागेकाले समस्या देखिएको छ । त्यस्तै माओवादीभित्र देखापरेका जड समस्या पनि संविधान निर्माणमा बाधक देखिएको छ । माओवादीभित्र दुई शक्ति छन्, त्यसमा एउटा शक्ति संविधान बन्न नदिने पक्षमा छ । त्यसैले समस्या देखिएको हो । तर्सथ संविधान निर्माणमा दोषी देखिनुमा सबैभन्दा बढी दोषी माओवादी छ भने साथमा काङ्ग्रेस, एमाले त्यसमा सहयोगी बनेका छन् ।
० सङ्घीयताबारे चर्को बहस र विरोध भएको छ, तपार्इं के भन्नुहुन्छ ?
हामी त सङ्घीयताको विरुद्धमा रहेको आमरूपमा जानकारी छ । यहाँ फेरि दोहोर्याउन चाहन्छु कि हामी सङ्घीयताको विरुद्ध लडिरहेका छौँ । यो सङ्घीयताको सोचलाई त्याग्नुपर्छ, अन्यथा देश बिखण्डनको भासमा जाकिनेछ ।
० मुलुक त सङ्घीयतामा गइसक्यो, त्यसको नामकरण तथा सीमाङ्कन हुन मात्र बाँकी छ, अब तपाईंहरूको विरोधको के अर्थ रहला त ?
हामी जुन व्यवस्थालाई गलत मान्छौं त्यसका लागि जुनसुकै अवस्थामा पनि आन्दोलनमा जान हिच्किचाउँदैनौँ । फेरि, अहिले नै त मुलुक सङ्घीयतामा गइसकेको छैन, अन्तरिम संविधानमा त्यसलाई स्वीकारेको मात्र हो । कस्तो सङ्घीयता भन्नेबारे सङ्घीयतावादीहरू नै अनविज्ञ छन् । त्यसैले हामीले भनेका छौँ यो सङ्घीयताको नाममा देश टुक्र्याउने कार्यमा लाग्नुभन्दा यसबाट उम्कँदै बाहिर निस्कनुपर्छ । फेरि संविधान नै बन्ने निश्चित छैन, संविधान नबने यहाँ संङ्घीयताको कुरा पनि आउँदैन, त्यसैले सङ्घीयतामा मुलुक गयो भन्न मिल्दैन ।
० अहिले देखिएका विवाद समाधान हुने कुनै उपाय देख्नुहुन्छ ?
सङ्घीयतालाई खारेज गर्नुपर्छ । यदि तत्काल सङ्घीयताको बहसलाई खारेज गर्न सकिँदैन भने त्यसलाई पछि समावेश गर्ने गरी बाँकी विषयमा संविधान तयार पार्नुपर्छ । त्यो नै यतिबेलाको समाधानको उपाय हो, अरू विकल्प छैन ।
० भट्टराई नेतृत्वको सरकारलाई कसरी लिनुभएको छ तपाईंले ?
-यो सरकारबाट जनताका समस्या हल हुन्छ भन्ने पक्षमा हामी छैनौँ । प्रधानमन्त्रीको पार्टीले लिएको नीति तथा व्यवहार हेरेर हामी यही निष्कर्षमा पुगेका छौँ । उनीहरूले शान्ति र संविधान निर्माणको पक्षमा नकारात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । सरकार जनभावनाविपरीत हिँडेको छ, जथाभावी विभिन्न सन्धिसम्झौता गरेको छ । यी सब देश र जनताको विरुद्धमा छन् ।-ऋषि धमला
प्रतिक्रिया