एभी नभए समानुपातिक हुन सक्छ -शशी पौडेल

एभी नभए समानुपातिक हुन सक्छ -शशी पौडेल


गत वर्ष २०११, ५ मेमा सम्पन्न जनमत संग्रहमा अल्टरनेटिभ भोटका निम्ति प्रचार गर्ने, वा यसको पक्षमा लेख्ने पत्रकार वा पक्षमा बोल्ने राजनीतिका पंडितहरुलाई आजसम्म पनि निराशा तुल्याएको छ । यहाँसम्म कि बेलायती संचार माध्यमले बेलायती निर्वाचन प्रणालीमा ‘परिवर्तनको कुरा गर्नु अब एउटा पुस्ताका लागि अन्त्य भएको टिप्पणी गरेका थिए । त्यसको ठीक एक वर्षपछि नजिकिएको स्थानीय निर्वाचनले उनीहरुलाई अझ चिन्तित गराएको छ ।

गत वर्ष निर्वाचनअघि अल्टरनेटिभ भोटिङ सिष्टमका समर्थक एवं प्रस्तावक पक्षबाट अल्टरनेटिभ भोटिङ सिष्टम के हो भन्नेबारे सर्वसाधारण जनतालाई उचित र प्रष्ट जानकारी गराउन सकेनन् । अर्कोतिर अल्टरनेटिभ भोटिङ सिष्टम आफैमा सर्वसाधारण वीचमा अदृश्य बनेर देखा पर्‍यो । जनतालाई यसबारे प्रष्ट जानकारी थिएन । दुई बर्षअघि सम्पन्न आम निर्वाचनपछि मिलिजुली सरकारको निर्माण गर्नेबारे कुराकानी गर्दा लिवरल डेमोक्रेटिक पार्टीले अचानक अल्टरनेटिभ भोटिङ सिष्टमको प्रस्ताव ल्यायो । यद्यपि उसको निर्वाचन घोषणा-पत्रमा राजनैतिक सुधारका कुराहरु मात्र लेखिएको थियो । सम्भवत: कन्जरभेटिभ पार्टीले समानुपातिक निर्वाचन प्रणालीवारे जनमत संग्रह गराउन अमान्य गर्ला भन्ने हिसावले लिब-डेमले अचानक अल्टरनेटिभ भोटिङ सिष्टमको प्रस्ताव ल्याएको हुन सक्छ । तर जे होस् लिव-डेमले राखेको प्रस्ताव अल्टरनेटिभ भोटिङ सिष्टम निर्वाचन प्रकृया बेलायतमा अप्रिय रहेछ भन्ने प्रमाणित भएको छ ।

केही छापा पत्रिका एव तरंग संचार साधन जस्तै रेडियो एंव टिभीले समेत सम्पन्न जनमत संग्रहको निर्णयलाई बूढीऔला माथि देखाएका छन् । अर्थात् फष्ट पास्ट द पोष्ट सिष्टमको पक्षमा स्यावासी गरेका छन् । त्यतिबेला दैनिक इन्डिपेन्डेन्टले निक क्लेगको हवाला दिँदै ‘यो पुस्ताका लागि बेलायतमा राजनैतिक परिवर्तन गर्ने कुरा अब मरेको’ भनेको छ । त्यस्तै द टेलिग्राफ, डेली मिररले मात्र होइन बीबीसी र स्काई टिभी न्यूजले समेत यस्तै प्रकारको प्रतिकृया जनाएका थिए ।

जनमत संग्रहमा खसेको भोटको ६९ प्रतिशत एभीका विरुद्ध खसेको छ भने एकतीस प्रतिशत पक्षमा । गणितीय ढंगबाट यसलाई हिसाव गर्ने हो भने जम्माजम्मी ५२ प्रतिशत मतदाताले मत खसालेका छन् । त्यसको अर्थ हो अड्चालीस प्रतिशतको मत अझै आएको छैन । ६९ प्रतिशतलाई शतप्रतिशत मतदाताको संख्याबाट हिसाव गर्दा जम्माजम्मी ३५ प्रतिशत बेलायती मतदाताले एभीका विपक्षीमा मत खसालेको बुझिन्छ । यसो किन भएको हो भने, एभीको प्रस्ताव आएकै बेलादेखि यो प्रस्ताव रोगी बनेर आयो । अझै प्रष्ट शव्दमा भन्ने हो भने मृत्यु सैयामा बसेर प्रस्ताव जन्मेको थियो । किनभने बेलायती जनताले लिवरल डमोक्रेटिकहरुलाई कन्जरभेटिभ पार्टीसँग मिलीजुली काम गरेर जनताका लागि अप्रिय लाग्ने टोरीको प्रस्ताव पारित गराउन भनी भोट दिएका थिएनन् ।

बेलायती मतदाताहरुले खसालेको मतको दुईतिहाइ विपक्षमा र एकतिहाइ पक्षमा भनी बुझिए पनि अर्को अडचालिस प्रतिशतले के भन्ने हुन जानकारी हुन सकेको छैन । यस अर्थमा बेलायतको राजनीतिक परिवर्तनको कुरा यो पुस्ताका लागि मृत्यु हुने भन्ने प्रश्न उठ्दैन तर यदि यो पुस्ताका लागि अल्टरनेटिभ भोटिङ सिस्टमको प्रस्ताव मरेकै हो भने पनि अल्टरनेटिभ भोटिङ सिष्टम भनेको समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव अहिले पनि आउन सक्छ । र समानुपातिक निर्वाचन प्रणाली अल्टरनेटिभ भोटिङ सिष्टम भन्दा विकसित, सरल र पारदर्शी रहेको छ ।

त्यतिखेर प्रष्ट भएको कुरा के मात्र हो भने फस्ट पास्ट द पोष्ट सिष्टमका वदला अल्टरनेटिभ भोटिङ सिष्टम लागू गर्ने भन्ने कुरा असफल भएको छ । टोरी समर्थक संचार साधनभित्र यसलाई एउटा इस्यू बनाएर अर्को निर्वाचन प्रणालीवारे विकल्प नखोजियोस् भन्ने मनोविज्ञानले काम गरेको हो । यस्तै गरी टोरीले पुरानै निर्वाचन प्रणाली कायम हुने भएकोमा ‘लोकतन्त्रको विजयी’ को नारा दिनुका पछाडि पनि टोरीले एकाधिकार रुपमा बेलायतमा राज्य गरिरहने मनोविज्ञानले प्रेरित भएर हो । यतिखेरको समय भनेको बेलायती र्सवसाधारण जनतालाई बैज्ञानिक, पारदर्शी र सर्वसुलभ एंव मत खसाल्न प्रोत्साहित गर्ने निर्वाचन प्रणाली मिश्रित निर्वाचन प्रणाली वा समानुपातिक निर्वाचन प्रणाली फस्ट पाष्ट द पोष्टको विकल्पमा प्रस्ताव राख्न सक्नु पर्दछ । यदि लिव-डेमले निर्वाचन परिणाममा के आउँछ भन्ने नहेरिकन मिश्रित वा समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव ल्याएर जनतासमक्ष यथेष्ट सूचना प्रवाह गर्न सकेको खण्डमा बेलायतको निर्वाचन प्रणालीमा सुधार ल्याउन अर्को पुस्ता कुरिरहनु पर्ने छैन । किनभने अल्टरनेटिभ भोटिङ सिष्टमको विपक्षमा बहुमत आउनुको अर्थ मिश्रित वा समानुपातिक पनि हुँदैन भन्ने होइन ।

मुख्य कारण के हो भने मिश्रित वा समानुपातिक निर्वाचन प्रणाली भनेको के हो र यो कति बैज्ञानिक छ र बेलायती मिश्रित धर्म, संस्कृति, र वर्ग रहेको समाजमा यसको जरुरी किन परेको हो अनि यसका सवल पक्षहरु के के हुन् भनी सर्वसाधारण जनतासमक्ष प्रष्ट तस्वीर पुग्ने गरी यथेष्ट सूचना प्रवाह गर्नु सक्नु पर्दछ । किनकि सामान्य परिस्थितिमा बहुसंख्यक सर्वसाधारण जनता परिवर्तनको पक्षमा रहेका हुन्छन् भने सत्ताधारी र तिनका पृष्ठपोषक मात्र यथास्थितिवादी हुने गर्दछन् । यसो हुँदा हुँदै पनि जवसम्म जनता समक्ष परिवर्तनको पक्षमा यथेस्ट सूचना प्रवाह हुँदैन र परिवर्तनको स्वरुपबारे प्रष्ट चित्र देखिँदैन तबसम्म जनता यसवारे सर्तक रहन्छन् । त्यही अवस्थाको सृजना भएको हो गत वर्षको एभी वारेको जनमत संग्रहको परिणाम ।