एकै मुक्का प्रहारमा जीवन तमाम

एकै मुक्का प्रहारमा जीवन तमाम


लण्डन । गत वर्ष बेलायतमा घटेको लूटपाटको दंगामा एक जना निर्दोष व्यक्तिलाई लूटपाट गर्ने दंगाकारीले एकै मुक्का प्रहारमा मारेको कुरा हिजो आदलतमा सुनवाइ हुँदा प्रकाशमा आएको छ । १७ वर्षीय ड्यारेल डेसुजले (त्यतिबेला १६ वर्ष) सेवा निवृत्त भइसकेका एकाउन्ट्यान्ट रिचर्ड मानिङ्गटन् बोवेसलाई यति जोड्ले मुक्का प्रहार गरे कि उनी भुइँमा ढल्दा टाउको बजारिएर टाउकोमा गहिरो चोट लाग्न पुगेको थियो । ६८ वर्षीय बृद्ध पेन्सनर क्याट्सट्राफिक ब्रेन इन्ज्युरी भएर मृत्यु हुन पुगेका थिए । इनर लण्डन क्राउनकोर्टमा हिजो सीसीटिभीमा रेकर्ड गरिएको फुटेज देखाउँदा मृतकलाई मुक्का प्रहार गरी धराशायी गरेका डेसुज नियन्त्रण बाहिर रहेको कुरा प्रहारीले बताएको छ । उनीसँग लुटमार तथा दंगामा संलग्न व्यक्तिहरु समेत यसरी बित्थैमा निर्दोष व्यक्तिलाई मारेकोमा अचम्भित भएका थिए । त्यसमध्येका एक जनाले… होइन तैले यो के गरिस् हँ, यो बूढो मान्छे हो… भनेका वाक्यहरु सुनेका थिए । न्यायधीश ब्रायन अल्टमानले सुनवाइ गर्दा ….मुक्का प्रहार गरिसकेपछि डिसुज एक दुई पटक शिथिल भई भुइँमा लम्पसार भएको शिकारतर्फ हेर्न आएका थिए, तर, यदि आफूले गरेको कुरामा वास्ता राखेर अब छिट्टै मरिन्छ कि भन्ने चेत पलाएको भए प्रहरी वा एम्बुलेन्स बोलाउनु पर्ने हो, तर, उनी फेरि लुटमार गर्नेतर्फ लागेका थिए … भनेर आदलतलाई सुनाएका थिए ।
पोहोर ८ अगस्तको दिन डिसुज पश्चिम लण्डनको इलिङतर्फ दंगाकारीहरुसँग मिलेर लूटपाट गर्न गएका थिए । एक घण्टाभन्दा कम अवधिभित्र उनी त्यहाँ पुगेर शपिङ सेन्टरको ढोका फोडेर लूटपाट गर्दै प्रहरीहरुलाईर् इटा र बोतलहरुका प्रहार बौछार गरेका थिए । एउटा मैला फाल्ने ढ्वाङलाई आगो लगाएपछि मृतकले त्यो ढ्वाङको आगो निभाउन खोज्नुभन्दा पहिले उनले आफ्नो जिउको पूराभार सहित मृतकलाई मुक्का प्रहार गरेका थिए । अब आउने अप्रिल महिनामा सजाको सुनवाइ हुँदै छ । श्रोत – टेलिग्राफ, सुमल, मेस ।