लण्डन । कालो रङका भालुहरु जाडो याममा लामो कालसम्म सुत्ने प्रक्रियामा शरीरको चोट सजिलै कुनै दागबिना निको पार्न सक्ने अदभूत् क्षमता रहेको कुरा अमेरिकी अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरु तथा पशुसम्बन्धी अध्ययन गर्नेहरुले भालुहरुका शरीरमा लागेको चोटका घाउ बिना कुनै सङ्क्रमण र दागरहित भएर निको भएको कुरा उनीहरुले एकैसाथ अध्ययन गरेर पत्ता लगाएका हुन् । अध्ययनको सिलसिलामा वैज्ञानिकहरुले वास्ताविक रुपमा भालुहरुका शरीरको तापक्रम, मुटुको गति र खाने र पचाउने पाचन प्रक्रियालाई घटाउँदा कसरी लागेको चोट छिट्टै निको हुँदो रहेछ भन्ने तथ्य पत्ता लगाउन खोजेका थिए । यस अध्ययनले मानिसहरुको घाउ निको पार्ने प्रक्रियामा सघाउ पुग्ने आशा गरेका छन् ।
अनुसन्धानबाट थाह भएको कुरा इन्टरएक्टिभ जर्नलमा प्रकाशित भएको छ । चिकित्सा अनुसन्धानकर्ताहरुले उमेर पुगेकाहरु, कुपोषण तथा मधुमेह रोगका रोगीहरुमा चोट लागे ढिलो निको हुने तथा सजिलै सङ्क्रमण हुन सक्ने जस्ता समस्याहरुलाई निवारण गर्न सक्ने यस अध्ययनबाट आशा गरेका छन् । अध्ययनको प्रोजेक्ट यूनिभर्सिटी अफ मिन्नेसोटा, वाइमिङ र मिन्नेसोटा डिपार्टमेन्ट अफ नेचरल रिसोर्सेसले विगत २५वर्षदेखि एक हजार भालुहरुलाई पाशोमा पारेर अनुगमन गर्ने कलर रेडियो झुण्ड्याएर गरेका थिए । यस अध्ययनमा भालुहरुका आचरण र स्वास्थ्यबारे विशेष अनुगमन गरेका थिए । अनुसन्धानकर्ताहरुलाई भालुहरुमा छिट्टै घाउ निको पार्न सक्ने क्षमता शुरुका अध्ययनबाट नै थाहा लागेको कुरा बताएका छन् । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया