सोचेजस्तो उपलब्धि नपाएको कार्यक्रम

सोचेजस्तो उपलब्धि नपाएको कार्यक्रम


(‘प्रदीप नेपालको दुई संस्मरण’ कृति लोकार्पण एवं स्रष्टा सम्मानसमारोह)-निर्भीक राई
बडिगार्डसहित भित्रिएका शिक्षामन्त्री प्रदीप नेपाल सोझै मञ्चमा चढेर सँगोलमा नमस्कार टक्र्याए ।
उनको ‘मुक्त आकाशको खोजी’, ‘खुइते कडेरिया’, ‘नओइलिने फूल’ र पत्रिकामा उत्रिएका संस्मरणहरु सङ्खुवासभाको २०४१ सालतिर वाना बसाइमा मैले पिएको । ६० वर्षपछि राजनीतिबाट सन्यास लिएर साहित्यमा पूरा समय दिने उनको विचारले त्यसप्रतिको उनको कामुकता -समर्पण) व्यक्त हुँदैन । जागीरबाट अवकाश हुने जागिरेसाहित्यकार साहित्यमा होमिन खोजेजस्तै त्यो हो । मुखाले र ढिट हुँदाहुँदै पनि (मैले बुझेसम्म) प्रदीप नेपाल २९ सालमा सीपी मैनालीलाई नेतृत्वबाट हुर्र्‍याएपछि अहिलेसम्म नेतृत्वगुटबाट टेढिनु परेन । त्यो पनि उनको एउटा खुबी नै हो । उनले ‘नेपाल’ वा ‘समय’ पाक्षिक पत्रिकामा भनेका छन्, “मार्क्सले नै व्यक्तिको विकास भए मात्र समाज -समूह) को विकास हुन्छ तर नेपालको मार्क्सवादीहरु मैले मोबाइल र ल्यापट प्रयोग गर्दा के के नै भोगविलास अप्नाएको जस्तो हल्ला गर्छन् ।” मार्क्सले त्यसो भनोस् नभनोस् तर एमालेजस्तो ठूलो राजनैतिक दलको स्थायी समितिको सदस्य र तेहेर्‍याएर मन्त्री पड्काएको नेताले बोलेपछि मुनिका नेताकार्यकताहरुको के शीप चल्ने र ! यस्तै ‘नेपालसमचारपत्र’ को ‘सौगात’ मा उनले बोले, “प्रगतिशील लेखनबारे नेपाली लेखकहरु अझै अज्ञानी छन्, उनीहरुमा ठूलो भ्रम छ । स्रष्टामा सिर्जनशीलता जरुरी छ । त्यो सिर्जना जीवनसँग जोडिएको हुनु पर्छ । बाँकी वाद त्यसपछि जोडिन्छ । तर नेपालका प्रगतिशीलहरु कम्युनिस्ट पार्टीको घोषणापत्रजस्तो लेखन मात्र प्रगतिशील हो भन्ठान्छन् ।”
परम्परागत प्रगतिवादी दृष्टिले हेर्दा ‘सञ्जय थापा’ को नाममा लेख्दाभन्दा प्रदीप नेपालको नाममा लेख्दा विचारमा स्खलन भएको आरोप सही हो । तर उनले त्यो आरोप स्वीकारेनन् । विश्वमा साम्यवादको पतन भएपछि उनी परिमार्जित कम्युनिस्ट भइसकेको, दलको नामै कम्युनिस्ट राख्नु नहुने मत प्रकट गर्ने नेता भएको कुरा उक्त दलको ठेट्ना कार्यकर्ताहरु र कठमुल्ला नेताहरुलाई के थाहा ! प्रदीप नेपाल ‘संशोधनवादी’ (सडुवा, बिग्रोल कम्युनिस्ट) बन्यो भनेर दलमा कारबाई गर्ने कसको ह्याउ छ ? पछाडि उनको विरोध र खिसी गरेर के लछारपाटो लाग्छ !
उनको मन्तव्य दिने पालो घोषणा भएपछि ध्यान केन्द्रित गरेर बसेँ । विमोचित किताबको पानाबाट केही अंश खरर वाचन गरेर उनी आफ्नो थलोमा फर्किए । म खिस्रिक्कै परेँ । समय खेर गएकोमा पिरिएँ । संस्मरण लेख्नको कारण, लेख्दाको अनुभव (जो किताबमा लेख्न छुटेको) मन्तव्यमा बताउलान् भन्ने मेरो आशा पूरा भएन । किताबमा उतारिएको कुराहरु त पढ्न जानेको थियो भन्ने मेरो तर्क भयो । तर उनले मौकाको फाइदा उठाइ एक प्रकार ठीकै गरे । त्यहाँ उपस्थित सबै जनालाई उनको ती किताब उपहारै टक्र्याए पनि सबैले कहाँ पिउँछ र ! कमसेकम उक्त विमोचित किताबको केही अंश मात्र भए पनि धेरै जनाको कानमा पार्ने मौका उनले छोपे ।
शैलेन्द्र साकारले पनि मन्तव्य दिने मौकालाई कविता सुनाउने मौकामा बदले ।
जलपानमा श्रोता र सहभागीहरु चरिरहेको ।
“श्रम साप्ताहिकको अन्तरवार्तामा अन्डरलाइन लाउनु पर्ने कुरा तपाइँले बोल्नु भएछ नि ?” श्रवण मुकारुङसामु मैले कहेँ ।
“के ?”
“जागीर खाँदै साहित्य लेख्नु भनेको रहर पूरा गर्नु मात्रै हो भनी भन्नु भा’को रै’छ ।”
“हो नि त ! जागीर पनि खाने स्रष्टा पनि हुने दुइटै कुरा कहाँ सम्भव छ ?”
“सार्‍हो पो भन्नु भएछ त ।”
“अनि बेलाबेलामा दनक दिन छाड्नु हुँदैन त्यस्ताहरुलाई ।” मैले सोझो ठानेको व्यक्तित्वबाट त्यस्तो बचन सुन्दा बुलु मुकारुङ प्रवृत्तिको तिक्खर स्वाद पाएँ ।
“हुन त हो । ध्रुवचन्द्र गौतम, दिनेश अधिकारीको तालले कहाँ हुन्छ र ? जागीर पनि उनीहरु नै खाने, साहित्यिक पुरस्कार पनि उनीहरु थाप्ने,” मैले समर्थन गर्दै थिएँ ।
मैले यकिन गर्न उनीसामु प्रश्न ठड्याएँ, “हैन, साँच्चै यो उमेरसम्म तपाईँले कुनै जागीर नखाई साहित्यमा मात्र होमिनु भा’को हो ?”
“त्यसो त सानोतिनो खत्राकखुत्रुक अरु पनि गर्छु ।” ‘कविता मात्र लेख्नु हुन्छ’ भनेर उनलाई सोधेको जस्तो लागेर उनले जवाफ फर्काए ।
“अस्थायी जागीर ?”
“अँ ! त्यस्तैत्यस्तै । केही नगरी त कसरी खानु ? खानु त पर्‍यो नि ।”
त्यसपछि उनीप्रतिको मेरो श्र्रद्धाको हिमाल ढल्यो । त्यसभन्दाअघि मैले उनलाई साहित्यको भरमा जेनतेन बाँचेको र साहित्यको खातिर जिउ छाडेको स्रष्टा ठान्नाले मेरो छातीमा उनीप्रतिको श्र्रद्धाको हिमाल ठडिएको थियो । ‘सानोतिनो खत्राकखुत्रुक अरु पनि केही गर्छु’ भन्नाले त साहित्यभन्दा फाल्टो काम (दलाली वा व्यापार) भन्ने बुझिन्छ । उनी स्थानीय विकासमन्त्रालयअन्तर्गत केही समय नोकरीमा दलिएको कुरा पछिबाट थाहा पाएँ । जागीर खाँदै साहित्य लेख्नेहरुलाई म खिसी गर्ने भएकोले उनको भनाइमा म दङ्ग थिएँ । मेरो पनि भनाइ छ- कुनै पनि क्षेत्रमा एकहोरिएर लाग्ने मान्छे मात्र त्यागी हो, चाहे उसले देवकोटाकै जस्तो अभावग्रस्त हालत भोगिरहेको होस् । नेपालमा लेखेर मात्र जिउ पाल्न सम्भव छैन भन्ने कुरा अझै भइरहेको भए पनि मेरो त्यस्तो धारणामाथि उनले त्यस्तै धारणा व्यक्त गर्दा मेरो घैँटोमा सूर्जे पसेको थियो । तर जागिर नखानुको मूल कारण साहित्यसाधनामा पूरा समय घोटिनाले समय अभाव हुँदा हो भन्ने ठोकुवा पनि हुँदैन । म र कवि भूपालराईजस्तै कोही कर्मचारीतन्त्रमा टिक्न नसकेर स्वतन्त्रता रोज्दा, कसैले मौका नपाउँदा, कोही अल्छी हुँदा कोही योग्यता र दक्षता नहुँदा पनि जागीरबाट वञ्चित हुन्छ । जागिर पनि धाउँदै उब्रेको समय साहित्यमा खर्चिने व्यक्ति (फाल्टो समयमा तास, गफ, व्यापार वा राजनीतिको साटो) प्रति समेत श्रद्धाको हिमाल चुल्याउनै पर्छ । जागिर खाँदै, उच्च ओहदा पनि ओगट्न भ्याउँदै कृष्ण धरावासी, विमल कोइराला वा दिनेश अधिकारीले निर्भीक राई, श्रवण मुकारुङ, रत्नशमशेर थापा वा भूपालराईले भन्दा बढी साहित्यसिर्जनामा घोटिन्छन् वा धेरै राम्रो कृति जन्माउछन् भने उनीहरुझैँ जाँगरिलो र प्रतिभाशालीलाई हामीले खिसी गर्नु व्यर्थ छ । बरु उनीहरुले जागीर खाएकोमा हामीले आरिस गरेको मात्र ठहरिन्छ है ।
“नमस्कार । महाराजगन्ज क्याम्पस पढ्दा म पूर्णराजको सहपाठी थिएँ ।” मैले संस्कृतिविद् सत्यमोहन जोशीसँग कुरा निकाले । डा. पूर्णराज उनको कान्छो छोरो हुन् ।
“नमस्कार । तपाइँको नाम के नि ? के गर्नु हुन्छ ?”
“पहिले गीत गाउँथे । अहिले त्यत्तिकै ।” मैले आफ्नो पेसा बताउन किन म धकाएँ ? मैले कि साहित्यमा आत्मविश्वास गुमाएको ? आइन्दा मैले आफ्नो पेशा निर्धक्कसँग ‘साहित्यसाधक’ भनेर दिनु सक्नु पर्छ ।
उनले मेरो जिउको फलामे छड्के सिक्रीको लठारो झट्याक्क तान्दै बोले, “यो के भिरेको नि ?”त्यसरी उनले अचानक तान्दा म तर्सिएँ पनि ।
“परिवर्तन ।”
आफ्नो बाबुको जस्तो उमेरको साथै प्रतिष्ठित व्यक्तित्वले झट्याक्क साङ्लो तान्दै सोध्दा लाजले मेरो अनुहार सोहोरियो । त्यसैले अरुलाई जस्तो उनलाई प्रवचन दिएर दार्शनिक पक्ष बर्बराउने हिम्मत मैले गरिनँ । दर्जीले बनाएको टोपी लगाउने उनीजस्तो पुरातनपन्थी र संस्कृतिको कट्टर हिमायती व्यक्तित्वलाई मेरो साङ्लो भिराइले घीन लागी चुँड्याएर फाल्दिउँजस्तो झोक चली उनले त्यसरी झट्कारेको हुन सक्थ्यो ।