अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा पोखरेल

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा पोखरेल


अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा झापा कनकाई नगरपालिका–७ दुर्गापुरका दिनेशकुमार पोखरेल सर्वसम्मत चयन भएका छन् । विगत १२ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका पोखरेललाई विर्तामोडमा हालै सम्पन्न समाजको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । पोखरेल यसअघि समाजको संस्थापक सदस्य थिए ।

झापाली समाज अष्ट्रेलियाको संस्थापक अध्यक्ष र हाल संरक्षक समेत रहेका पोखरेलले एनआरएन अष्ट्रेलियाको प्रवक्ता र उपाध्यक्षको जिम्मेवारी समेत यसअघि कुशलतापूर्वक निर्वाह गरेका छन् । अध्यक्ष घोषणा भए लगत्तै पोखरेलले सञ्चारकर्मीसँगको कुराकानीमा झापाको समृद्धि र विकासका लागि अन्तर्राष्ट्रिय झापाली समाजले दीगो सोचका साथ काम गर्ने बताए । १८ वटा मुलुकमा विस्तार भइसकेको झापालीहरूको छाता संस्थाको रुपमा रहेको अन्तर्राष्ट्रिय झापाली समाजलाई विश्वभर विस्तार गर्ने अध्यक्ष पोखरेलको योजना छ ।

समाजको वरिष्ठ उपाध्यक्षमा हङकङ निवासी छत्र सुब्बा चयन भएका छन् भने उपाध्यक्षहरुमा मध्यपूर्वका दिपकप्रसाद ओली, युरोपका ललितकुमार न्यौपाने, अष्ट्रेलियाका रुपराज मैनाली, अमेरिकाका प्रमोद सिटौला, कोरियाका राजु सन्तोषी थापा र प्रेम कार्की रहेका छन् । महासचिवमा मध्यपूर्वका रोहितकुमार भण्डारी, सचिवमा भुपाल सिटौला र कोषाध्यक्षमा बालहरि राई चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा युएईका जगन्नाथ लुइँटेल, युकेकी रोमिया लिम्बू, इजरालयकी सावित्रा लुइँटेल घिमिरे र हङकङका हेमकुमार लावती रहेका छन् ।

अधिवेशनमा विभिन्न १८ मुलुकमा बसोबास गर्ने १ सय ५० बढी झापालीको सहभागिता थियो । लगभग आठ महिना अगाडि बिर्तामोड घर भई अष्ट्रेलिया निवासी भवानी ओलीको संयोजकत्वमा अन्तर्राष्ट्रिय झापाली समाजको तदर्थ समिति गठन भएको थियो ।

संयोजक ओलीको अध्यक्षतामा भएको अधिवेशनको खुलासत्र प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनालीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले विश्वभरका झापालीहरु अन्तर्राष्ट्रिय झापाली समाजमा संगठित हुनु झापाको विकासका लागि आसलाग्दो विषय भएको बताए ।

‘समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ नाराका साथ सम्पन्न अधिवेशनमा सांसदहरू अमृतलाल राजवंशी, मनकुमार गौतम, बिर्तामोडका मेयर धु्रवकुमार शिवाकोटी, कनकाईका मेयर राजेन्द्र पोखरेल, भद्रपुरका मेयर जीवन श्रेष्ठ, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए ।
– रेजिना गौतम