व्यवस्थापिका संसदको अन्तिम बैठक स्थगित

व्यवस्थापिका संसदको अन्तिम बैठक स्थगित


व्यवस्थापिका–संसदको कार्यकालमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने काम भएको सभामुख ओनसरी घर्तीले दाबी गरेकी छिन् । शनिबार संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै उनले संसदको कार्यकालभरीमा ६ सय ६६ दिन बैठक बसेको र यस बीचमा जनताका आवश्यकताका ५६ विधेयक पारित भएको जानकारी दिइन् ।

सदनको यस कार्यकालमा दुई प्रधानमन्त्रीको निर्वाचन, बजेट तथा कार्यक्रम प्रस्तुतलगायत महत्वपूर्ण कार्यका साथै जनताको प्रत्यक्ष सरोकार राख्ने मुलुकी र फौजदारी कानुन पारित गर्न सफल भएको भन्दै उनले खुशी व्यक्त गरिन् ।

कार्यकालमा सदनका कार्य प्रभावकारी र पारदर्शी बनाउन, संसदको फजुल खर्च कटौती, प्रत्यक्ष प्रसारणलगायत कार्य भएको बताउँदै उनले ‘सरकारसँग प्रश्नोत्तर’ कार्यक्रम, संसद्को आफ्नो भवन बनाउने, सांसद्का लागि आवास बनाउनेलगायतका कार्य गर्न भने बाँकी रहेको र त्यसले आगामी दिनमा पूर्णता पाउने अपेक्षा गर्दै कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा खुशी सहित सभामुख घर्तीले संसदको अन्तिम बैठक स्थगित भएको घोषणा गरिन्।

नयाँ संविधान अनुसार संसदको नयाँ निर्वाचनका लागि भोलि मनोनयन सुरु हुने भएकाले व्यवस्थापिका—संसदको कार्यावधि आज राति १२ः०० बजे अन्त्य हुँदैछ ।