विछोड अघिको रात परदेशीहरुको रात

विछोड अघिको रात परदेशीहरुको रात


-काङमाङ नरेश राई
एउटा मान्छे घर छाडेर परदेश लाग्छ । उसले फरक भाषा, फरक समाज र फरक परिवेशसँग वाँचेर खेल्नु पर्ने हुन्छ । जव परदेशी माटोमा आफू हुनुको वेग्लै पहिचानको अनुभुत गर्छ । त्यसपछि उसलाई घरदेशको सम्झनाले सताउन थाल्छ । यसरी परदेशी मनहरुले घरदेशी विम्वहरु ख्ोज्न थालेपछि कविहरुले सृजनामा विछोडअघिको रातहरु जन्माउन थाल्छन् । एकातिर यस्तै विम्वहरुलाई कवि विजय हितानले आफ्नो सृजनाको दरवार वनाएका छन भने अर्कोतिर उनी सेवानिवृत आर्मी भएकोले गर्दा नेपाली युद्घ साहित्य, र डायसपोरिक साहित्यलाई सँगसँगै लगेका छन् । कवि हितानका कविताहरु विभिन्न धारहरुमा लेखिएका छन् । उनका कुनै कविताहरुमा इकोराइटिङको जीवन छ भने कुनै कविता समग्र मान्छेहरुको जीवन नजिक रहेर लेखिएका छन् । यो सँग्रहभित्र २०३९ साल यानेकी २८ वर्ष पहिले लेखिएकाहरु कविताहरुले पनि नयाँ जीवन बोकेर आएका छन् । उनका कृतिभित्र पसेर केही छलफल गरौ ।

रुखका पातहरु हुन्छन्
हाँगा-विँगा अनि
जराहरु पनि
पातहरु प्रकाश खोज्दै
आकाशतिर आकासिन्छन्
जराहरु जल खोज्दै
जमिनमुनि भासिन्छन्
म एउटा मान्छेको जीवन जस्तै ।
(रुखजस्तै म)

यो एउटा जीवनवादी कविता हो । एउटा रुखलाई मान्छेको विम्वको रुपमा साह्रै सरल तर गहनतम् ढंगले कवितालाई प्रस्तुत गरेका छन् । जस्तै कुनै मान्छे जीवन जीउनको लागी परदेशिएका छन् कोही भौतारिँदै सगरमाथाको शिविरतिर पर्यटकहरुका भारी वोकेर जीवन गुजारा गरिरहेको होलान् । कोही आफ्नो जीवनको लागी जे गर्न पनि तयार भइरहेका होलान् । जीवन भएर त यी सव चीज मान्छेले भोग्न पाएका छन् । यदि जीवन छैन भने कसले के भोग्न पाउँछन् । यस्तै उनका जीवनवादी कविताहरुमा म भित्रको जीवन, बाँच्नलाई विवश, जिन्दगी १, जिन्दगी २, जिन्दगी ३, जिन्दगी ४, वुढेसकाल, म भित्रको एउटा जीवन आदि हुन् ।

ठूलाठूला कवि तथा साहित्यकारहरुले माया, प्रेमको वारेमा ब्यक्त गर्नु भएको आ-आफ्ना विचार र आ-आफ्ना धारणाहरु पढ्न पाईन्छ । हेरौ कवि विजय हितानको कलमले लेखिएका प्रेमवादी कविताहरु ।

राति निन्द्रमा कोल्टे फेर्दा
अँगालोमा पाईँन
विहानै सानी छोरीले खोई बाबा ? भनी सोद्धा
उत्तर विहीन मेरा ओठहरु
नुनिलो आँशुको धाराले रुझे ।
(जानुभएछ छोडेर हामीलाई)

एउटा परदेशी श्रीमान घर छाडेर गएको सम्झाना सेलाउन नपाउँदै छोरीले बाबा खोइ भनी सोद्धा एउटी श्रीमतीलाई कस्तो हुन्छ – कस्तो उत्तर दिन सकिन्छ त्यही समयलाई स्त्रीजाति बनेर लेखिएको कविता हो । उनले यस्तै प्रेमवादी कविताहरुमा कुसुमलाई, कहिले आउनु हुन्छ नि, अज्ञान प्रेमको शुरुवात आदि हुन् भने उनको शक्तिशाली प्रेमवादी कविता हो विछोड अघिको रात जुन कविताको केही हरफहरु यस्ता छन् ।

निर्दोष नयनबाट
आँशुका धाराहरु झर्नेछन्
ती आँशुले
वेदनाका चिट्ठीहरु लेख्नेछन्
विछोडका घाउहरुले
मायाका कथाहरु वनाउने छन्
ती कथाका पात्रहरु
सम्झनामा तिमी र म हुनेछौ
त्यसपछि
भोटको प्रतीक्षामा
औँला भाँच्दै बस्नेछौ ।

सम्झना र पर्खाइमा वाच्नु पर्ने जिन्दगी अति नै छट्पटिलो हुन्छ । कुनै साहरा हुँदैन सम्झना र पर्खाइको । विछोडको सम्झाना सबैभन्दा दुःखदायी सम्झना हुन्छ । सम्झनाहरुको एउटा दरिलो र दुःखदायी मायाको प्रमाण हो विछोड अघिको रात । नोस्टालजीया अथवा अतीत मोहले डायस्पोरिक नेपाली साहित्य मात्र हैन मन पनि रोएका छन् । डायस्पोरामा जीवन गुजरा गरिरहेका नेपाली मनहरु कयौ पटक घरदेशको सम्झानामा मरेर बाँचेका छन् । वाध्यताले परदेशमा वसिरहेका कयौ रातहरु घरदेशको सम्झानामा रहिरहेकाछन् । कवि हितानका अतीत मोहले लटि्ठएका कविताहरुमा सपना शीर्षकको कविता एउटा शक्तिशाली कविता हो । सपना शीर्षको कविताले भन्छ ।

तीन वर्ष पनि शताब्दियौंजस्तै
तीन दिनको बाटो पनि महिनौँजस्तो
सम्म गोरेटो पनि उकालीजस्तै
काँधको झोला पनि गह्रौ नुनको भारीजस्तै
मनमा भावनाहरु खेलाउँदै
आज रातिको सपनामा
म पहिलो छुट्टीमा घर जाँदै थिए ।

यहाँ सपनालाई एउटा राष्ट्रिय विम्वको रुपमा कविले चयन गरेको छ । सपनाले पनि पहिलो छुट्टीमा घर गएको देखिरहेको, गाउँघर, खोला नाला, साथीसँगीसँग भेट भईरहेको, आहा कत्ति आनन्द, तीन वर्षपछि देश जाँदा । कविले आफ्नो वास्तविक भोगाइ र आफैले अनुभूत गरेका विषय वस्तुलाई नै कवितामा लेखेका छन् । उनका अतीतमोहसम्वन्धी लेखिएका कविताहरु घरदेश छोडेपछि, प्यारो देश, सम्झना त्यो गाउँको, यी मेरा हातहरु हुन् भने युद्ध साहित्यनजिक रहेर लेखिएका कविताहरुमा लाहुरे १, लाहुरे २, लाहुरे ३ हुन् । यी कविताहरुले लाहुरेले भोगेका तीतामीठा यादहरुलाई झर्रो बनाई दिएको छभने लाहुरे ४ शीर्षकको कविताले एकातिर युद्धको अनुहारलाई केही मात्रमा सार्वजनिक गरेको छ भने अर्कोतिर लाहुरे भएर कठिन नियम कानुनको सामाना गर्दा पाएका पाडे गालीहरुवाट कवि बिरत्तिएका छन् ।

सुनसान रात
बन्दुकको चिसो नाल
समाएको बेलामा
आमाको सम्झना आउँछ
मातृभूमिको यादले सताउँछ ।
निर्दयी बुटका छापहरु
खस्रो बोलीका भाषाहरु
यो जीवनले भोग्दा
चित्त दुख्छ आफैसँग
रिस उठ्छ आफैसँग
-लाहुरे ४
समग्रमा कवि हितानको कृतिभित्र डायस्पोरिक नेपालीको जनजीवन, देश प्रतिको अतीतमोह, इकोराटिङ्ग, युद्घ साहित्य जस्ता विभिन्न प्रकारका कविताहरुको उपस्थिति पाउन सकिन्छ । उनको यो पहिलो कविता कृतिको लागि वधाइ र शुभकामना ।