अन्धकारमा छायाँ मबाट भाग्छ
अनि म अदृष्य छायाँ
वा,
हुनसक्छ,
सायद म एक अभिशप्त आकृति बन्छु,
केवल केही जूनकिरी आशाहरुले
मलाई पछ्याइरहन्छन् !
निष्पट अध्यारोमा यदाकदा
क्षीण रहरहरु बाटो देखाउने यत्न गर्दै
मेरो हातहरु समाउन खोज्छन्,
केही जिर्ण ईच्छाहरु
मेरो लड्खडाइरहेका पाइलाहरुलाई
साहारा दिन खोज्छ,
तर म केवल बेवारिस विम्ब हुँ !
निःसार बाँच्नुको असह्य पीडा बोकेर
मरेको मनको विभत्स मृत्युमा
कुरुप अध्यारो मरी-मरी हाँस्छ,
एउटा विक्षिप्त छायाँलाई
जित्नुको उत्सव मनाउँछ,
केवल जूनकिरी आशाहरु
शोक मनाउँदै विलौना गर्छ
थोत्रो रहरहरुका परेली
थुप्रै गुनासोहरु बोकेर रसाउँछ !
मन-आँखाहरुले आजकाल
उजाड जीवनमा झ्याँगिदै
सयौं रंगीचङी सपनाहरु देख्छ,
तर जीवन र सपनाको
तानाबाना नमिल्दा
जीवन आफ्नै छाती पिट्छ,
तालु ठोक्छ
चिथोर्छ, चिमोट्छ
अहँ जीवनले पराई सपना
नबुझेर पागल बन्छ !
रंगीन सपनाहरुले ग्रस्त
रोगी भीडमा पागल जिन्दगीहरु,
छातीभित्र सल्केर सुखी बाँच्नुको,
पीर लुकाएर हाँस्नुको,
हारेर जित्नुको,
जितेर हार्नुको आदि
नौटंकी गरिरहन्छ !
जीवनका विम्बहरु
आफ्नै प्रतिबिम्बको खिल्ली उडाउँछ
मुस्कानको विरोध गर्छ,
रोदनको उपहास गर्छ
जल्छ,
जलाउँछ,
यसरी मनका महत्वाकांक्षी
आँखाहरुले देख्नुको नियती भोग्छन्,
अध्यारोको आँचलभित्र
जीवन दुर्घटनाहरुको संगालो ?
एउटा शून्यतामा अल्झिएको भ्रम ?
या अन्धकारमा रुमल्लिरहेको
अभिशप्त आकृति ?
प्रतिक्रिया