हामी मकाउको भ्रमणपछि जेटबोटमा चढेर साबिकको एकघण्टामा चिम शा चुइको चाइना फेरी र्टर्मिनलमा आइपुग्यौ । पारि काउलुन स्टेशनमाथिका गगनचुम्बी बिल्डिङहरु झलमल बत्तीहरुको प्रकाशमा अति सुन्दर देखिन्थे । त्यस्तै दाहिनेतिर समुन्द किनार र हङकङ पिकको मुनि राति झिलिमिली देखिएका सुन्दर बिल्डिङहरुका सुन्दरता दुलहीलाई सिंगारपटार गरि राख्दा जुन सौन्दर्यको अनुभूति हुन्छ मलाई त्यस्तै लागिरहेको थियो । यतिबेला रातिको बाह्र बजिरहेको थियो । मध्यरातमा पनि मानिसहरुका चहलपहल निकै देखिन्थ्यो । हामीलाई अहिले भोक लागेको अनुभूति भइरहेको थियो । छोरीले दिनमा रातिको खाना चिनियाँ रेस्टुरेन्टमा गएर खाने प्रस्ताव राखेकी थिईन् । अतः हामी टेम्पल स्ट्रिटमा आएर घर छेवैको एउटा चिनिया रेस्टुरेन्टभित्र पस्यौ । हङकङमा हामीहरु शुरुशुरुमा रेस्टुरेन्टमा गएर उस्तो खाने थिएनौ । अहिले हङकङेली परिवेशमा प्रायः नेपालीहरु रेस्टुरेन्टमा गएर खाने संस्कार बन्न थालेको यसपालि देखियो । वास्तवमा हङकङका नेपालीहरु कामबाट थाकेर आउँदा घरमा खाना पकाएर खाने झन्झटले होला प्राय रेस्टुरेन्टमा नै खाने संस्कार बसाल्न थालेको पाएँ । हामी रेस्टुरेन्टभित्र प्रवेश गर्दा दुईतीनवटा टेबलहरुमा टन्न नेपालीहरु थिए । वास्तवमा मानिसका व्यवहारहरु वातावरण र समयले परिवर्तन गर्दै ल्याउँदो रहेछ । हामी चारजना एउटा टेबुल ओगटेर बस्यौ । छोरीले मेनु हेरिन् र फटाफट अर्डर दिन थालिन् । हङकङ छाडेपछि चपस्टिक नचलाएको पनि निकै भइसकेको थियो । छोरीले टेबुलमा राखेकी चियाको पानीले चपस्टिकहरु धोएर तयार राखिन् । त्यसपछि खाना नआउन्जेल तातो चिया गिलासहरुमा हाल्दै सुरुप सुरुप पिउँदै भोकलाई मन्थर पार्दै थियौ । पालैपालो टेबुलमा अर्डर दिएका खानेकुराहरु आउन थाले । स्टिम फिस (वाफ द्वारा पकाएको सग्लो माछा), रोस्ट गरेको बंगुरको शिकार, चोइशाम (चिनिया साग), सुप र अन्तमा ससानो बाटीहरुमा भात ल्याएका थिए । खाना खाएर हामी एकबजेतिर घरमा पुगेका थियौ ।
आज २६ अगस्त २०११, बिहान पनि हल्का केही पानी परेकोले गर्दा हिजोको भन्दा अलि शितल महशुस भएको थियो । हाम्रो अब बीचमा २ दिन मात्र बाँकी थियो । २८ तारिखको दिनमा शेन्जेन, चीनको विश्वको आँखीझ्याल हेर्ने र बेलुकि उतै बसेर -बडी मसाज) शरीर मालिश गर्ने भन्ने कुरा साली कान्छी, शान्तीले प्रस्ताव राखिन् । शेन्जेनमा अध्यागमन विभागको छेवैको बिल्डिङमा हजारौ सैया भएको बडी मसाज केन्द्र रहेछ । प्राय हङकङेली चिनियाँहरु यहाँ सस्तो भएको हुनाले शरीर मालिश गरन यहाँ आउँदा रहेछन् । हाम्रो पनि यसपालि शेन्जेन पुग्ने धोको थियो । किनभने हङकङसम्म पुगेपछि चीनको शेन्जेन शहरसम्म जाने अवसर गुमाउन चाहेको थिएन । त्यसैले शेन्जेन जाने योजना पक्का भयो । श्रीमतीको शपिङ अझ सिद्धिएको थिएन । बेलाबेलामा सम्भदै धेरै समानहरु किन्ने कुरा गर्थिन् । अस्ति निकै समान किनेकी थिईन् अझ पनि शपिङकै कुरा गरिरहेकी थिईन् । त्यसकारण मैले एउटा लिस्टमा शपिङ गर्ने समानहरु लेख्न लगाएँ । श्रीमतीले अझ दशबाह्र थोक समानहरु सम्झँदै भन्दै गईन् । मैले साली कान्छी र श्रीमतीलाई आज दिनभरिमा यी समानहरु किनेर शपिङको काम सिध्याउनु भने ।
छोरीले हामीलाई घुमाउनकालागि एकसप्ताह छुट्टीमा बसेकी थिईन् । आज बेलुकि श्रीमती र मलाई पर्वत मञ्च हङकङले सानो सम्मान कार्यक्रमकालागि समय दिनुप-यो भनेर मञ्चका अध्यक्ष बिसन गुरुङले आग्रह गरेका थिए । त्यस्तै निवर्तमान एनआरएन राष्ट्रिय समन्वय समितिका अध्यक्ष त्रिलोक भाइले पनि… हन हो सुमलदाई हम्लाई पनि समय दिनु प-यो केही समय भेटेर कुरा गरौ है… भनेका थिए । मेरो सबैसंग भेट्ने समय थिएन । आमा समूहकी अध्यक्ष पदम कुमारी गुरुङले पनि …गुम्बामा किन आउनु भएन-… भनेर गुनासो गरेकी थिईन । मेरो हङकङ बसाइमा समाजसित आबद्ध रहेका तीनवटा समाजहरुका म स्वयं संस्थापक मध्येका भएको नाताले पञ्चासे सहयोग समिति, पर्वतमञ्च र एनआरएनका साथीहरुसंग भेट गर्ने मेरो पनि इच्छा थियो । अरु विभिन्न संघसंस्थाहरुसंग मेरो हङकङको १२ वर्षे बसाइमा संलग्नता रहेता पनि माथिका तीनवटा संस्थाहरुसंग भने मेरो गहिरो लगाव रहेको थियो । नेपालिज बुद्धिष्ट एसोसिएशन, तमू ट्हो हृयुल, ओम नमो आमा बुद्ध समुह इत्यादि समाजहरुमा सल्लाहकारको हैसियतले यथासक्दो सहयोग गरेको थिएँ । त्यहाँ बिताएका समयहरु मेरा जीवनका एउटा रमाइला पाटाहरु सम्झन्छु म । हङकङ गएपछि ती पुराना साथीहरुसंग भेटेर भलाकुसारी गर्नलाई मसित पर्याप्त समय थिएन । आज बेलुकि पर्वतमञ्चका साथीहरुले जसरी पनि तपाई आउनुपर्छ हाम्रो सानो भेटघाट हुनेछ भनेर निमन्त्रणा गरे । भाइ त्रिलोकले आज दिउँसो तपाईसंग भेट्न आउँछु भनेर फोन गरेका थिए ।
श्रीमतीको अनुरोधमा म एउटा चाइनामा बनेको डीभीडी सस्तोखाले किन्न चिम शा चर्ुइतिर गएँ । किनभने कतिपए ब्राण्डेड डीभीडी प्लेयरहरुमा नचल्ने डीभीडी, सीडीहरु चाइनामा बनेको त्यो सस्तोखाले डीभीडीमा मज्जाले चल्छ । हङकङमा प्राय सबैले त्यही चलाउँछन् । चुङकिङ मेन्शनको दिपकभाइको दुकानबाट किनेर म घरनजिकै आइपुगेको थिएँ, त्रिलोक भाइले, “ओ सुमलदाई कता हुनुहुन्छ – म दशमिनटमा त्यहाँ कार लिएर आउाछु, तपाई जेएन ज्ञवालीको पसल छेउको बाटोमा आउनुहोला है” भनेर फोन गरे । हङकङका सडकहरुमा लण्डनको जस्तो गाडी पार्क गर्ने सुविधा छैन । “ल भाइ हुन्छ” भनेर छिटो छिटो घरमा गएर डीभीडी राखे अनि तल झरे । ज्ञवालीको पसल अघितरिको शाङर्घाई स्ट्रिटमा जम्मै गाडीहरु पार्क गरेर प्याक थियो । त्रिलोक गाडी लिएर आइपुग्यो अनि मलाई दाइ लौ मेरो नयाँ खोलेको बारमा जाउँ उतै गफ गरौ भने । मैले पनि हुन्छ भनेर उनको नयाँ बार भएको चिमशाचुइतर्फ कारमा गयौ । मान्छेलाई समयले साथ दिए र मिहिनेत गरे सफलता पाउन धेरैबेर नलाग्ने उदहारण त्रिलोक हुन् । नी एकदशक नहुँदै हङकङ र मकाउमा कारोबार गरी सफल उद्यमी बनेका छन् । व्यापारमा केही सफल हङकङका नेपालीहरुमध्ये त्रिलोकपनि एक हुन् । नी मेरा मिल्नेसाथीहरुमा एकजना असल मित्र हुन् । हामी उनको मर्सिडिज कारमा चढेर चिम्शाचइतर्फ लाग्दा हङकङका स्थितिबारे केही कुरा ग-यौ । उनका अनुसार हङकङमा अझ पनि व्यापारका लागि राम्रो मौका रहेको कुरा भनेका थिए । एकैछिनमा हामी उनको बारको अघि आइपुग्यौ । मेरिनर्स क्लबदेखि नजिकै पार्टनरशिपमा खोलेको निकै आकर्षक बार देखे । कामदार र व्यवस्थापनमा नेपालीहरु नै रहेछन् । आफ्नो बारमा पुगेपछि खानेकुराहरु मगाउन थाले, तर, मैले दिनको लञ्च खाइसकेकोले केवल एककप कफी लिएँ । घण्टाभर कुरा गरेपछि फेरि उनले कारमा छोड्न आएका थिए । सन् २००४को अगस्त महिनामा एनआरएन हङकङको तदर्थ समिति गठन गर्दा म संस्थापक उपाध्यक्षको हैसियतमा चुनिएको थिएँ र अर्को अधिवेशनसम्म यही पदमा रहेर एनआरएन हङकङलाई सुदृढ गर्ने अभियानमा लागेको थिएँ । केहीसमय पछि राष्ट्रिय संयोजक कृष्ण बहादुर क्षेत्री नेपाल गए त्यसपछि हङकङ फर्केनन् । अनि त मैले राष्ट्रिय संयोजक र उपाध्यक्ष दुबै कार्यभार सम्भाल्दै काम गरेका थिएँ । त्यतिबेला हङकङमा एनआरएनको औचित्य छैन भन्नेहरु धेरै थिए । त्यसपछि त्यससालको एनआरएन दिवस मनाउन गएका साथीहरु हङकङमा आएपछि एउटा अन्तरक्रिया कार्यक्रम जोर्डनस्थित इण्डिया क्लबमा सम्पन्न गरेका थियौ । त्यसपछि एनआरएनको अभियानमा पूर्ण रुपले लागेको थिएँ ।
यसै क्रममा सन् २००५सालमा त्रिलोक भाइ, हालको हङकङका एनआरएन अध्यक्ष, दुर्गा गुरुङ र साथीहरु एनआरएन अभियानमा पहिलोचोटि लागेका थिए । उहाँहरुले मलाई अध्यक्षको पद लिनकालागि अनुरोध गरेका थिए, तर, मेरो कार्य व्यस्तताले गर्दा त्रिलोक भाइलाई अध्यक्षका लागि चुनेका थियौ । यसमा सबैको सहमति थियो । २ पटकसम्म उनले अभिभारा लिएर सफल नेतृत्व गरेका थिए । म उनको पहिलो कार्यकालमा पनि उहाँहरुकै अनुरोधमा उपाध्यक्ष पदमा बसे अनि पछि सल्लहाकारमा बसेको थिएँ । एनआरएन हङकङकालागि २ पटक उपाध्यक्षको पद सम्हालेर सहयोग गरेको थिएँ । यस अवधिभित्र नीसंग मेरा रमाइला समयहरु बितेका छन् । हामीले यी समयहरुमा गरेका सहयोगका कार्यहरु धेरै छन् । यहाँ यो भ्रमण को वर्णन लेख्दा ती कुराहरुका वृतान्त यहाँ उल्लेख गर्नु म सान्दर्भिक ठान्दिनँ । उनी एकदमै सरल हृदयको मानिस हो जसले भनाइलाई भन्दा कार्य गरेर देखाउनमा विश्वास राख्दछन् । भाईसंग भेटेर केहीसमय कुरा गर्यौ अनि उनले मलाई फेरि गाडीमा जोर्डनसम्म पुर्याउन आएका थिए । समय बित्न बेर लाग्दैन । दिनको २ बजिसकेको थियो । बाहिर गर्मी उत्तिकै चढेको थियो । मेरी शासु र श्रीमती घरमा नै थिईन । केहीबेर आराम गर्नकालागि घरमा आएँ । एकदुई घण्टा कुरा गरेर बस्यौ किनभने हामी बेलायत र्फकने बित्तिकै शासु नेपाल जाने कुरा थियो ।
यतिबेला हङकङमा नेपालीहरुले पनि जताततै रेस्टुरेन्ट खोलेका देखे । विशेषगरि मुख्य बजारको भुइँतल्लाहरुमा नभई कुनाकाप्ची तीनतल्लातिर रेस्टुरेन्टहरु खोलेका देखे । निकै गतिलो संख्यामा नेपाली शरणार्थीहरुलाई हङकङ सरकार र राष्ट्रसंघले भत्ताहरु दिएर डिटेन्शन सेन्टरहरुमा नराखी स्वतन्त्ररुपले भाडालिएर बस्न दिएका रहेछन् । कतिपए शरणार्थीहरुले समेत रेस्टुरेन्ट सञ्चालन गरेर बसेका देखियो । यो धेरैजसो जोर्डन क्षेत्रमा छन् । मलाई पर्वतमञ्चले त्यस्तै एउटा तीनतल्लामा रहेको “धडकन” नाम गरेको रेस्टुरेन्टमा निमन्त्रणा गरेको रहेछ । श्रीमती व्यस्तताले गर्दा जान मानेनन् । म चाँहि बेलुकि स्नानबाट निवृत्त भएपछि सातबजेतिर टेम्पल स्ट्रिटस्थित धडकन रेस्टुरेन्टमा गएँ । मैले त्यहाँ साथीहरुले कुरीरहेका भेट्टाएँ । सामन्य भेटघाटको कार्यक्रम होला भनेको थिएँ, तर, साथीहरुले पक्का ब्यानर टाँगेर सम्मान गर्ने कार्यक्रम नै राखेका रहेछन् । व्यस्तताको कारणले र शुक्रवार भएको हुनाले धेरै पर्वत मञ्चका सदस्यहरु थिएनन्, तर, कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरु आएका रहेछन् । तमू ट्हो हृयुलका वर्तमान अध्यक्ष, अर्जुन गुरुङ, एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङ र एनआरएन हङकङका संयोजक, मिन बहादुर गुरुङहरु पनि त्यस भेटघाट तथा सम्मान कार्यक्रममा आएका थिए । संस्थापक अध्यक्षको नाताले साथीहरुले सम्मान दिएकोमा मलाई खुशीको अनुभूति भइरहेको थियो ।
प्रायः सम्मान कार्यक्रममा मानिसको गुणगान र राम्रो कामहरुका बखान मात्र गरिन्छ । मलाई हङकङेली परिवेशमा सम्मान गरिएको योचाँहि पहिलो चोटि होइन । आफूले सकेअनुसार समाजलाई केही सहयोग गर्दै आएकोमा त्यसको कदर पनि बेलाबखत पाएको छु । सचिवले सञ्चालन गरेको त्यस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष, बिशन गुरुङले मलाई खादा ओढाएर न्यानो आफ्नोत्व जनाउँदै सम्मान दिए । क्रमैसंग मित्रहरुले आ-आपनो मन्तव्य व्यक्त गरेका थिए । एक प्रकारले म त्यसबेला भावुकतामा डुबेको थिएँ । अन्तमा मैले सबैमित्रहरुलाई त्यति राम्रो कार्यक्रम आफ्नो व्यस्तताको बावजुद शुक्रवार साँझ सम्पन्न गरेकोमा मैले हृदयदेखि नै सबैलाई आभार व्यक्त गर्दै धन्यवाद दिएँ । खानाको ओइरो लागेको थियो । खाना भ्याएको छैन टेबुलभरि ओर्डर गरेका खानाहरु रेस्टुरेन्टका बहिनीहरुले थुपारीदिएका थिए । धेरै खाना त्यसै खेर गएको थियो । वास्तवमा नेपालीहरुले व्यवसाय गर्दा पेशागत दक्षता हासिल गर्न समय लाग्छ । मलाई यस्तो प्रतीत भइरहेको थियो कि ति रेस्टुरेन्ट चलाउने बहिनीहरुलाई पेशागत ज्ञान पर्याप्त नभएको झै लाग्यो । संस्थापक अध्यक्षको हैसियतमा नेतृत्व गरेर स्थापना गरेको पर्वतमञ्चले यतिबेला राम्रा कामहरु गरेर तथा खेलकुद क्षेत्रमा विशेष चर्चामा आएको कुरा साथीहरुले बताएका थिए । हङकङमा यसरी एउटा सम्मान प्राप्त गरे । सबैसंग आबेर राति ११ बजेसम्म कुरा गर्दै बसेको मीठो सम्झना यतिबेला आइरहेको छ । म सबैसंग बिदा मागेर घर फर्केको थिएँ । हवस् त फेरि अर्को श्रृंखलामा भेटौला …..क्रमश..
प्रतिक्रिया