प्रथम हिमालयन फिल्म फेस्टिभल सम्पन्न

प्रथम हिमालयन फिल्म फेस्टिभल सम्पन्न


एबरडिन (स्कटल्याण्ड) । स्कटल्याण्डका दुई शहरहरु एबरडिन र ग्लास्गोमा नेपाली वृत्तचित्र र चलचित्रहरु प्रदर्शन गर्दै ‘प्रथम हिमालयन फिल्म फेस्टिभल’ सम्पन्न भएको छ । स्कटल्याण्डमा सक्रिय नेपालीहरुको संस्था ‘अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर’ (ओएनसीडब्लु) र लण्डन छलफलको संयुक्त आयोजनामा फिल्म फेस्टिभलको संयोजन गरिएको थियो । फिल्म फेस्टिभलमा वृत्तचित्रहरु एरिक भ्याली निर्देशित ‘क्याराभान’, मोहन मैनाली निर्देशित ‘पुनेको पाइन्ट’, निसानि काएनेएन निर्देशित ‘फेयरी टेल अफ काठमाडौं’, दीपक रौनियार निर्देशित ‘चौकठ’ र भुषण दाहाल निर्देशित चलचित्र ‘कागबेनी’ देखाइएको थियो ।

आयोजक संस्था ओएनसीडब्लुका अनुसार स्कटल्याण्डमा पहिलोपटक नेपाली फिल्म फेस्टिभलको आयोजना गरिएको हो । ग्ल्यास्गोमा युनिभर्सिटी अफ ग्लास्गोको हलमा एक दिन फेस्टिभल आयोजना गरिएको थियो भने एबरडिनमा भने युनिभर्सिटी अफ एबरडिनको हलमा मार्चको अन्तिम साता तीन दिनसम्म फिल्म देखाइएको थियो । प्रदर्शित फिल्महरुकोबारेमा दर्शकहरुले विभिन्न जिज्ञासा राखेका थिए भने कतिले फिल्मको विषयवस्तुबारे आफ्नो अनुभव र धारणा ब्यक्त गरेका थिए । फिल्म फेस्टिभलमा स्कटिश समुदायको अतिरिक्त विश्वविद्यालयका विद्यार्थीहरु, प्राज्ञिक वर्ग र कर्मचारीहरु र नेपाली समुदायको सहभागिता रहेको थियो ।

फिल्म फेस्टिभलमा सहकार्य गरेको युनिभर्सिटी अफ एबरडिनस्थित सेन्टर फर सस्टेनेबल इन्टरनेशनल डेभलपमेन्ट (सीएसआईडी)की निर्देशक डा हिलारी होम्सले फिल्म फेस्टिभलले नेपाललाई स्कटिश समुदाय र विश्वविद्यालयमा अध्ययन गर्न आउने विश्वभरका विद्यार्थीहरुमाझ परिचित गराउन सघाउ पुर्‍याएको धारणा राखिन् । आयोजक संस्था ओएनसीडब्लुका अध्यक्ष दीपेश रेग्मीले नेपाललाई विदेशमा प्रवर्द्धन गर्ने र नेपाली कला संस्कृतिको उन्नयनमा क्रियाशील रहिरहने प्रतिबद्धता ब्यक्त गरेका छन् । – भाष्कर अर्याल,मेस