कारागारका कैदीबन्दीलाई टेलिभिजन प्रदान

कारागारका कैदीबन्दीलाई टेलिभिजन प्रदान


लमजुङ कारागारका कैदीबन्दीलाई सुसूचित गराउनको लागि टेलिभिजन उपलब्ध गराइएको छ । कैदीबन्दी सूचनाबाट वञ्चित नहुन् भन्दै एक कार्यक्रमका बीच टेलिभिजन प्रदान गरीएको हो ।

सोमबार पुर्वसांसद टुकाभद्र हमाल र जिल्ला समन्वय समिती लमजुङद्धारा कारागारका कैदीबन्दीलाई टेलिभिजन हस्तान्तरण गरीएको हो । सांसद हमालले पुरुष कैदीबन्दीका लागि एक लाख पाँच हजार रुपैयाँ बराबरको एलइडी टेलिभिजन प्रदान गरिन् भने जिल्ला समन्वय समिती लमजुङले महिला कैदीबन्दीका लागि २५ हजार रुपैयाँ बराबरको १४ इन्चको हिमस्टार टेलिभिजन प्रदान गरेको छ ।

कार्यक्रममा कैदी महिला र पुरुषलाई पुर्व सांसद हमाल र जिल्ला समन्वय समिती लमजुङका प्रमुख लोकराज पाण्डेले टेलिभिजन हस्तान्तरण गरेका थिए । हमालले जेलजिवन बिताईरहँदा नकारात्मक भन्दा सकारात्मक सोच लिनका लागि टेलिभिजन उपयोगि साधन हुने बिश्वास ब्यक्त गरिन् । उनले सूचना पाउनु हरेक नागरिकको अधिकार रहेको बताइन् । हमालले हिजो रत्नाकार डाँकु बाल्मिकी बनेको उदाहरण दिदैं असल संगत र समाचारले मानिसलाई पनि बदल्न सक्ने बताइन् ।

त्यस्तै जिल्ला समन्वय समिती लमजुङका प्रमुख पाण्डेले टेलिभिजन उपलब्ध भएसँगै कैदीबन्दीमा सकारात्मक सोंचको विकास हुने बताए । कैदीबन्दीको व्यवहार परिवर्तनमा सूचना र सञ्चारमाध्यमको भुमिका महत्वपुर्ण हुने उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले कैदीबन्दीले मनोबल नगिराई कारागारबाट एउटा असल समाजसेविको रुपमा चिनिनुपर्ने बताए । साथै मैनालीले कारागार एउटा सुधार केन्द्र भएकाले अन्जानमा भएका गल्तीलाई सुधार्ने थलो पनि कारागार भएको बताए ।

उता, स्थानिय विकास अधिकारी डिल्लीराम सिग्देलले २१ औ शताब्दीमा पनि कारागारका कैदीबन्दी सुचना र प्रविधिबाट बञ्चित भएकाले सुचनाको हकको प्रत्याभुत दिलाउन टेलिभिजन वितरण गरीएको बताए । कारागार भित्र कुनैपनि सञ्चारका साधनहरु नहुँदा निराश बनेका कैदीबन्दी टेलिभिजन पाएसँगै निकै खुसी भएका छन् ।

लमजुङ कारागारको हालको क्षमता ३५ भएपनि क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्दै आएका छन् । कारागारमा अहिले महिला ७ जना र पुरुष ६७ जना छन् । जसमध्ये सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका पुरुष २१ र महिला ४ गरी २५ जना रहेको कारागारका जेलर काजीमान सुनारले जानकारी दिए ।