विश्व बिख्यात तानशाह एडोल्फ हिट्लरले आफू जन्मेको घरलाई बाउ आमाको घर भनेका छन् त्यस्तै मैले पनि आफु जन्मेको घर र मेरो जन्मस्थान बाघा गाउँलाई बाउ आमाको घर भन्न रुचाउँछु, मेरो बाउको गाउँ भन्न रुचाउँछु किनकि त्यो गाउँमा मेरो छुट्टै पहिचान र अस्तित्व नभएको कारणले पनि म आफ्नै गाउँमा एउटा पाहुना सरह भएको छु । एउटा परदेशी जस्तो भएको छु, जो निश्चित समय डुल्छ घुम्छ अनि समय सकिएपछि पोको पन्तेरो बोकेर आफ्नै वासस्थानमा र्फकन्छ । बाल्यकाल थाहै नपाई बित्यो । त्योभन्दा अलि माथिको शिक्षा लिन राजधानी खाल्डो (काठमाण्डौ) छिरियो । दाल्भात र डुकुको जोहो गर्न निकै धौधौ पर्ने त्यो जमानामा मरेर दशैंमा एकपल्ट घर गइन्थ्यो अनि १ महिनाको बसाइपछि भाइटीकाको भोलिपल्ट हुँदा नहुँदै त्यो खाल्डोको गुरुत्वाकर्षणले चुम्बकले फलाम ताने झैं तानेर त्यै खाल्डोमा जाकी दिन्थ्यो जसको कारणले पनि त्यो गाउंको वनजंगल, ढुङ्गा माटो र गाउँलेहरुको नजरमा म संधै एउटा परदेशी जस्तो बनिरहें । त्यस पछिका अधिकांश दिनहरु मैले त्यै खाल्डो (काठमाण्डौ)मा रोजीरोटीको निम्ति संघर्ष गर्दै बिताएं । मलाई भोक,रोग र गरीवीसंग लड्न त्यै खाल्डोले सिकायो । ०४८ सालदेखि ०६३ सम्म १५ वर्ष मेरो जीवनको अत्यन्तै उर्वरशील समय त्यै खाल्डोमा बित्यो । तर्सथ पनि त्यो खाल्डोको मठ्, मन्दिर, गल्ली र क्याम्पसहरु संग मेरो गहिरो नाता सम्बन्ध छ जसलाई चाहेर पनि भुल्न सक्दिन । विस्तारै देशकाल र परिस्थितिले बिदेशिन बाध्य तुल्यायो । अक्त बिदेशिएपश्चात आफ्नो गाउं र्फकन त्यति सजिलो नहुँदो रहेछ । त्यसैले आज म आफ्नै घरको लागि अनि आफ्नै गाउंको लागि एउटा परदेशी बनेको छु, पाहुना भएको छु जो कहिलेकाँहि आफ्नो बाउको घर जान्छ, आफ्नो बाउको गाउँ जान्छ ।
मलाई एक्किन सम्झना छैन यस भन्दा अघिल्लो पटक म मेरो जन्मथलो बाघा गाउँ गएको तथापि मेरो मामाघर कुरुवा एउटा बुढो गुरुङ बाजेले लगभग-लगभग यो दुनियाँबाट बिदा लिंदै छ भन्ने आकस्मिक खवरले २०५८ सालतिर हो क्यार मादी मूलखर्क हुँदै बाघा पुगेको थिएँ । त्यसपश्चात १ दशकपछि डिसेम्वर १ तारिख २०११ विहीवारको दिन बल्ल नेपाल जाने मेसो मिल्यो । साथमा आदरणीय काका चन्द्र बहादर गुरुङ र १ जना भाइ थिए । काका ब्रिटिश एक्स आर्मी भएकोले बूढाको देश विदेश खाएको कुरा अनि विश्वयुद्घ लडेको कुरा सुन्दा आङ सिरिङ्ग हुन्थ्यो । जे होस् त्यो लडाइको गफले हाम्रो यात्रा भने सहज बनेको थियो । यात्राभरि मैले मेरी छोरी श्रेया र मेरी अर्धाङ्गीनि आंखा वरिपरि नाचिरहेको पाएं । छोरी श्रेयाले भनेको मेरो बाबा भन्ने शब्द कानमा बारम्बार गुन्जिरहन्थ्यो । हरेक रात मेरो कोखिलामा फुसुक्क निदाउने मेरी छोरी आज त्यो गुँढमा मलाई नदेख्दा कति रोइरहेकी होली ? कराइरहेकी होली ? अनि उनकी आमालाई फकाई फुल्याइ गर्न कत्तिको सास्ती परिरहेको होला ? आदि इत्यादिले प्लेनभित्र निस्सासिएको महशुस हुन्थ्यो । त्यो बूढो जहाजले हाम्रो ऋणै खाए झैं सकिनसकी घिसारेर हावामा उडाइरहेथ्यो । यदि बीचैमा केही भैहाल्यो भने ? किनकि संसारमा थुप्रै प्लेन दुर्घटनाहरु घटेका छन् । के बेर ? म बांच्दा मसंग थुप्रै मान्छेहरु बांचेका छन् तर्सथ यदि म मरेभने ति सबै मर्ने छन् यस्तै यस्तै । तर एक मन्ले सोच्दथें । राम् राम, मैले के सोचेको त्यस्तो ? यस्ता थुप्रै तर्कनाहरु लाहुरे बूढाका गफलाई यसो साइड लगाएर सुटक्क थाहै नपाई उब्जिरहन्थे । नेपालको रातको १ बजेको हुंदो हो हामी काठमाण्डौको एअरपोर्टमा सकुशल उत्र्यौं । बिस्तारै हामी ब्याग लिने स्थलमा पुग्यौं । जब म त्यो ठाउं पुगे मलाई कर्ण शाक्यद्वारा लिखित “सोच” पुस्तकको सम्झना आयो । त्यो पुस्तकमा लेखकले के उल्लेख गर्नु भाछ भने “एकताका भारतका राष्ट्रपति बैज्ञानिक डा.अब्दुल कलाम्ले राष्ट्र र जनताको नाममा सम्बोधन गर्दै थिए । सबैलाई राष्ट्रपतिले के भन्ने हो खुल्दुली लागिराखेको थियो । यतिकैमा डा कलामले शुरु गरे “तपाईहरु जब भारत छाडेर अरब वा खाडी मुलुक वा सिंगापुर, मलेशिया या कतै जानुहुन्छ तब प्लेनबाट उत्रनासाथ, जहां पायो त्यही थुक्नु हुन्न, जता पायो त्यतै दिशापिसाब गर्नु हुन्न, पान चपाएर रोड मै प्याच्च थुक्नु हुन्न । त्यहां तपाईंहरु डस्टविनमा थुक्नु हुन्छ । दिशा पिशाबको लागि ट्वाइलेट जानु हुन्छ, चुरोट बिंडीको ठुट्टा डस्वीनमा फ्याक्नु हुन्छ । एउटा सभ्य मानिसको परिचय दिनु हुन्छ तर जब भारत आउनुहुन्छ जहां पायो त्यही थुक्नु हुन्छ, जता पायो त्यतै चुरोटको ठुट्टा, खैनी फाल्नु हुन्छ,जे मन लाग्यो त्यही गर्नु हुन्छ” आदि । मलाई पनि ठ्याक्कै त्यसैको सम्झना आयो । सामन पोका पारेको प्लाष्टिक, कार्टन बक्स, थोत्रा चोयाका डोकाहरु कुनामा बेग्रेल्ती छरपस्टिएका थिए । त्यति संवेदनशील क्षेत्रमा त्यस्तो फोहर ? आफुलाई मुलुकका ठेकेदार भन्नेहरु पनि त्यै बाटो भएर नेपाली जनताले तिरेको ट्याक्समा रजाइ गर्दै सारा संसार डुल्छन् । मोज्मस्ती गर्छन् । नेपाली समाजले पचाउनै नसक्ने खालका संस्कृति चुप्पा खाने, जानी-नजानी अंग्रेजी बोल्नु पर्ने अनि बुख्याचाको (नर्सरीमा चराले बिउ खान्छ कि भनेर तर्साउन राखिएको) जस्तो फेसन् गर्ने संस्कृति भित्र्याउंछन् तर त्यो सानो फोहरको ब्यबस्था गर्न सक्दैनन् सायद त्यसको प्रबन्ध एनआरएन वा कुनै आईएनजीओले गर्नुपर्ने होला । तसर्थ त्यो फोहरको वातावरणले मलाई पनि भित्तामा थुक्न मन् लाग्यो । नेपाली हुनुको नाताले एउटा नेपालीले गरेको त्यो कार्यमा २,४ वटा चुरोटको ठुट्टा र पानीको बोटल झटारो हानेर सहयोग गर्न मन् लाग्यो । यस्तै तर्कनाका साथ म एअरपोर्ट बाट बाहिरिएं र लागे शंखमुलतर्फ । भोलिपल्ट १ दिनको काठमाण्डौ बसाइपश्चात मेरो यात्रा तय भैसकेको थियो आफ्नो जिल्लाको सदरमुकाम खांदवारीतर्फ । तसर्थ भोलिपल्ट समाजको मुखपत्रको निरन्तर प्रकाशनको लागि सदैब सहयोग र प्रोत्साहित गर्नु हुने आदरणीय दाइ श्री लिला नाथ राई ज्यूलाई भेटें । पर्सिपल्ट सदरमुकाम खांदवारी पुगें, करीव १३ वर्षपछि मुलुकभन्दा बाहिर बसे तापनि सधैं आफ्नो मातृभूमि र जिल्लासंग सुमधुर सम्बन्ध बनिरहोस् भन्नका खातिर संखुवासभा प्रतिभा पुरस्कार स्थापना गर्ने उद्देश्यले । पछिल्लो समयमा खांदवारी धेरै विकास भैसकेको रहेछ । पूर्वाञ्चलकै ठूलो अनि आवश्यक परेमा जेट विमान समेत बस्न सक्ने क्षमता भएको तुम्लिङ्गटार विमानस्थान कालोपत्रे भएको रहेछ । त्यहांबाट खांदवारी मानेभन्ज्याङ्ग हुँदै चिचिला समम कच्ची बाटो पुगेको रहेछ । त्यस्तैगरी तुम्लिङ्गटारबाट सभा खोला हुँदै खराङ्ग चैनपुर, पोखरी, नुन्ढाकीसम्म कच्ची सडक । अनि बाघाबाट ओखरबोट्टे मादीमूलखर्क, आहाले हुँदै मंगलबारे चौकीसम्म सडक पुगेकोले त्यहांको जनजीवन धेरै सहज भएको पाएं । बिजुलीबत्तीको राम्रो प्रबन्ध भएको अनि सूचना र संचारको क्षेत्रमा खांदवारी उद्योग वाणिज्य महासंघबाट संचालित खांदवारी एफएम र निजी क्षेत्रबाट संचालित गुरांश एफ्एम् । त्यस्तै पूर्वान्चलकै पहाडी जिल्लाहरुमा पहिलो डिग्री कलेज बरुण बहुमुखी क्याम्पस खांदवारी अन्यमा संखुवासभा बहुमुखी क्याम्पस चैनपुर र मादी बहुमुखी क्याम्पस मादीले यस जिल्लाको शैक्षिक स्तरलाई धेरै माथि उकासेको रहेछ । जिल्लाको विकासको निम्ति जतिपनि सहयोगहरु आउंछन् सबै शिक्षाको क्षेत्रमा मात्र आउने हुनाले शिक्षा बाहेक अरु पनि क्षेत्रहरु छन् जस्तै कृषि,समाजसेवा,ब्यपार उधोगधन्दा,महिला पर्यटन आदि जसको माधययम्बाट पनि यस जिल्लाको नाम इज्जत र प्रतिष्ठालाई उंचो बनाउने काम गरिएकोछ तसर्थ ति सबै क्षेत्रलाई प्रोत्साहित गर्ने ध्येयले संखुवासभा प्रतिभा पुरस्कारको स्थापना गर्ने निर्णयका साथ हामीले योजना बनायौ त्यसैको कार्यान्वयनको लागि म जिल्ला पुगेको थिएं ।
करीव दिनको ३,४ बजेको हुँदो हो बरुण बहुमुखी क्याम्पस खांदवारीका क्यामपस प्रमूख श्री टीकाराम गरुङ ज्यूसंग भेट भयो र त्यो सांझ सिम्सिम् पानी परेकोले भेटघाटको काम भोलि गर्ने शर्तमा बेलैमा तीनपाने र नौं सिगे भालेको तिते ब्यबस्था ग-यौं । तीनपाने र तितेले हाम्रो राम्रैसंग सेवा ग-यो । भोलिपल्ट सवेरैदेखि मलाई श्री टीकाराम सरले भट्भटेमा खांदवारी सबै डुलाउनु भो । बिहानै क्याम्पसमा सबै प्राध्यापकहरुको बिचमा छलफल तथा भेट्घाट कार्यक्रम राख्नु भएको रहेछ । मैले हामी हङकङमा बस्ने संखुवासभालीहरुको तर्फबाट जिल्लाको विकासमा गर्न सकिन्छ कि भनेर एउटा अक्षय कोष खोल्ने निर्णय गरेका छौं जसको ब्याजबाट हरेक वर्ष हरेक क्षेत्रका प्रतिभाहरुलाई सम्मान गर्ने उदेश्य रहेको जानकारी गराएं । जिल्लामा जति पनि पुरस्काहरु हुन्छन प्राय जसो शिक्षाको क्षेत्रमा मात्र केन्द्रित हुने हुनाले शिक्षालाई मात्र प्राथमिकता नदिई अन्य क्षेत्रलाई पनि उत्तिकै महत्वका साथ हेरिनु पर्दछ भन्ने मान्यताले यो पुरस्कार स्थापना गर्ने जानकारी गराएं । त्यसपश्चात सबैबाट उक्त प्रस्तावको स्वागत गरियो र सो पुरस्कार स्थापनाको निम्ति गर्नु पर्ने सहयोगको कुनै कसूर बांकि नराख्ने बचन दिनु भयो । खांदवारी बस्दा मैले उद्योग वाणिज्य संघ खादवारीका संस्थापक अध्यक्ष श्री श्याम सुन्दर उदास,प्रजिअ श्री कैलाशनाथ खरेल, उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनन्त गौलीसंग भेटघाट गरें । त्यस्तैगरी खांदवारी एफएमबाट यो पुरस्कार र संखुवासभा समाज हङकङको बारेमा सबै जिल्लावासीहरुमा जानकारी गराएं । ५१० रोपनी जग्गामा अवस्थित श्री बरुण बहुमुखी क्याम्पस सबै डुलिभ्याएं । अर्को मेरो एउटा मुख्य उदेश्य भनेको हिमालय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक श्री जंग बहादुर प्रसाद ठाकुर संग बसेर हाम्रो संखुवासभा डटकमको लागि अनौपचारिक रुपमै भए पनि कुराकानी गर्ने ठूलो धोको थियो तर समय अभावको कारण त्यो पूरा हुन सकेन जसको कारण मलाई मेरो जिल्लाको यात्रा कताकता र्ब्यर्थ लागिरहे छ । उहांको बारेमा एउटा लेख प्रकाशन गर्ने अवसर संखुवासभा समाज हङकङलाई प्राप्त भएको छ जसको कारण आज यो समाजको मुख पत्रको महत्व अझ बढेको छ । यसरी २ दिनको बसाइमा अन्तिम रात कान्छी फूपूको घर भन्ज्याङ्ग गई बसें । जीवनको उत्तरार्धतिर ढल्किसकेकी मेरी फूपू बिना सन्तान अस्ताउन लागेको घाम जस्तै जिइरहेकी थिई । गतसाल फूपाजुको मृत्यूले अझ शोकमा डुबेकी तिनी शरद ऋतुको वृक्ष झैं खङ्ग्रङ्ग सुकेकी थिई । भोलिपल्ट सांझ ८ बजे पुगे बाघा । स्वभावैले छोराको आगमनमा वुवाआमाको खुशीको सिमा नहुनु स्वभाविकै हो । मैले पनि १०, १२ वर्षपछि वुवा आमा आफन्त नातागोता भेट्दा खुशीले नाचे तर मेरो वाल्यकालका साथी सङ्गीहरुले गाउँ छोडेको अनि त्यो बेलासंगै दाउरा घांस गाई गोठालो गर्दाको बाजे बज्यै बूढापाकाहरु सबैको मृत्यु भैसकेकोले उहांहरुको अनुपस्थितिमा त्यो गाउँ नै मलाई अन्धकार लाग्यो । उहांहरुको मृत्यूमा सशरीर उपस्थित भएर सिर्फ एउटा फूल चढाई श्रदान्जलि दिन नपाउंदाको क्षण सम्झिँदा मुटु छियाछिया भएर आयो । कपाल पाकेको बूढो शरीर लिएर बुबा आमा फूपूहरु मेरो बाटो कुरिरहेका थिए । भाइ बहिनीहरु सबै आआफ्नो बाटो लागिसकेकोले त्यो घर सुनसान् थियो । गाउंघर सबै युवाविहीन भएकोले केटाकेटी र बूढाबूढीहरुले जसोतसो धानिरहेकोहेको रहेछ । खेतवारी घर आगन वनजंगलले ढाकी सकेछ । मैले सानोमा गाई बाख्रा चराएको बारीको कान्लाहरुमा आंखा डुलाएं, कोरली गाई र खैरी भैंसीलाई घास काटेको खन्नीउ नेबारा र दुदेलोको रुखहरु खोजे अनि त्यो बैशाख जेष्ठको टन्टलापुर घाममा बाँजो फुटाएको ताक्मारे बलौटे र रमिते खेतको गरा गरालाई चनौटेको डांडाबाट चियाएं तर बारीको कान्लाहरु भत्किएर पहिरो गैसकेछ । खनिउ,नेबारा र दुदेलोको नामोनिसाना रहेनछ अनि त्यो धान फल्ने खेतका गराहरु बाजो पल्टिएर वनजंगल भैसकेछ । मैले सानोमा मकै भटमास् मर्काउंदै घांस दाउरा गरेको वनपाखा अनि मेलापात गर्दाको साथीसंगीको अनुपस्थितिमा म मनमनै रोएं । मेरो वाल्यकालको एक किसिमको त्यो सखानुभूतिलाई सम्झिएं । कति अन्जान, कति रमाइला थिए ती समयहरु ? ती जमानाहरु ? अब त चाहेर पनि भोग्न सक्दिन, नत पाउन नै सक्छु । २, ४ दिनको बाघा बसाइपछि मावली गाउँ मादीमूलखर्क लागेँ । क्षमा काका माईजुहरु सबैलाई भेटें । सबै भन्दा महत्वपूर्ण मामा घर माझखर्क पुगे । करवि ०५७, ५८ सालतिर नै काठमाण्डौ बसाइ सरेकोले घर आंगन झारैझारले पुरेको, आंगनको पाली भत्किएर जग मात्र बांकी रहेको, घरको टिन खिया लागेर खैरो भैसकेको रहेछ । मामाघर आउंदा मामासंग सुत्ने झ्याल ढोका ढीकहरु भत्किएर अलिअलि मात्र बांकी रहेछ । सानोमा मैले आउने गरेको मेरो मावलो घर आज भूत घर झैं देख्दा त्यो आंगनमा बसेर धर्धरी रोएं । यसरी डुल्ने क्रम्मा जिल्लाको प्रतिष्ठीत अंग्रेजी शिक्षक श्री इन्द्र मणी कोरङ्गीलाई भेटें, उहां श्री बिनोद उच्च माबिमा कार्यरत हुनुहुंदोरहेछ । त्यस्तैगरी हजुरवा जिविसका पूर्व सभाति श्री चन्द्र कुमार घोण्डेसंग भेट गरें । उहांको आफ्नै गाउँ आहलेमा बसेर गाउँको सेवामै जुटिरहनु भएको रहेछ । मैले उहासंग हाम्रो संखुवासभा डटकमको लागि अनौपचारकि रुपमा अन्तरवार्ता लिएँ । त्यसपश्चात हजुरआमाले मेरो अनुरोधमा शुद्ध ब्राहृमण भोजन गराउनु भो । साह्रै मीठो त्यो खाटी गाईको घ्यू छेरपाटेले समात्लाकी भन्ने डर मान्दै निकै बजाएँ । यसरी छुट्ने बेलामा अनायसै मेरो आंखाबाट आंशु चुहियो फर्केर हेरें, हजुरआमा पनि आंखा पुछ्दै हुनुहुन्थ्यो । म एउटा छोरो मान्छे थिएं । त्यसैले रुंदै हिँड्नु मेरो नामर्द पन् थियो । अत पछि हजुरको पनातिनी लिएर आइहाल्छु नि भन्दै सम्हालिएर मुटु दह्रो पारी फेरि लागे बाघा जुन मेरो बाउको घर हो, मेरो बाउको गाउँ हो ।
अन्त्यमा ,गाउँमा बस्दा मैले घर परिवार साथी संगी मेरो गाउँ र जिल्लाको लागि थुप्रै-थुप्रै सपनाहरु बांडेर आएको छु । तर्सथ ती सपनाहरु जसरी पनि पूरा गर्नु छ । यदि पूरा गर्न नसके मलाई पनि गाउंलेहरुले एउटा नेता मन्त्री जस्तै बिकासे नेताको बिल्ला नलगाई देलान् भन्न सक्दिन । यसरी १ हप्ताको बसाइपछि वुवाआमासंग छुट्न असाध्यै गाह्रो भो । मन थाम्न सकिन धुरुधुरु रोएं । मैले पनि कल्पना गरें । मेरो पनि एउटी छोरी छे । उनले पनि मेरो वुवा आमा जस्तै म बूढो भएको बेला एक्लै छोडेर हिंड्दा म कसरी बांच्थे होला ? कसरी जिउंथे होला ? आदि इत्यादि । सोचे हामी मानव सर्वश्रेष्ठ प्राणी भन्दछौं । खोइ, कस्तो श्रेष्ठता ? पशुले त आफ्ना साखा सन्तानहरु आंखा वरिपरि राखेर बांच्दछन् तर हामी त चाहेर पनि आफ्ना सन्तानसंग संधै बस्न सक्दैनौं । आफ्ना सन्तानलाई आंखा वरिपरि देखिरहन सक्दैनौं । अक्त आज म मात्र होइन । मजस्ता लाखौंलाख नेपालीहरु आफ्नो घरको निम्ति पाहुना भएका छन् । आफ्नै गाउँको निम्ति परदेशी बनेका छन् । यसको कारक तत्व भनेको नेता भनौंदाहरु जो आफूलाई मुलुकका ठेकेदार ठान्छन तिनीहरुको कुकृत्यले हो तर्सथ यो नव वर्ष २०६९ सालले मुलुकमा शान्ति र नयां संविधान जारी गरी राजनैतिक स्थीरता कायम गरोस्, जसको कारण बिदेशिएका नेपालीहरु किहिले काहि मात्र नभएर हरेक साल आफ्नो बाबुको घर जाने स्थिति बनोस् । आफ्नो वावुको गाउँ जाने स्थिति बनोस् । यसैमा नेपाल र नेपाली भाग्य र भविष्य छ ।
अस्तु
मावादिन १ बाघा
प्रतिक्रिया