मनाङेले नारफूमा १० लाख लुटे

मनाङेले नारफूमा १० लाख लुटे


गुण्डा नाइकेको रुपमा चर्चित राजिव गुरुङ भन्ने (दीपक मनाङे) ले गृह जिल्ला मनाङमा पनि लुट मच्चाएको खबर प्राप्त भएको छ । मनाङे एमालेको चुनाव प्रचार गर्न नार फू गाउँपालिका पुगेका बेला स्थानिय होटल ब्यवसायीसँग रकम लुटेका हुन् ।

गत २८ गते फू गाउँमा होटल बनाउनको लागि काठमाडौंबाट ऋण धन गरेर गाउँ जाँदै गरेका २ जना युवाको साथमा रहेको १० लाख रुपैयाँ मनाङे र नेकपा एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङको निर्देशनमा लुटेको पिडितहरुले बताएका छन् ।

पिडित युवाहरु कर्मा ओङ्दी लामा र टसी छिरिङ लामाले आँफुहरु सुतिरहेको ठाउँबाट आँफुहरुको रकम लुटेको गुनासो गरेका छन् । असोज २८ गते नार र फू को बिचमा पर्ने मेतामा बास बसेका उनिहरुको साथबाट रकम लुटिएको हो । “मेतास्थित घ्याङ्जीको घरमा सुतिरहेका बेला पाँचजना युवाहरु आएर झोलामा भएको १० लाख दिन भने ।” पिडितहरु भन्छन्, “पैसा लिन आएका पाँचजना युवाहरुले हामीलाई डन दीपक मनाङे र एमाले अध्यक्ष पोल्देन छोपाङले पठाएका हुन् भनेपछि हामीले आफ्नो रकम नदिने भन्यौं ।”

राती ११ बजे रकम लुट्न आएका मनाङेका समुहले रकम नदिने भए आँफुहरुलाई मार्ने धम्की दिएपछि रकम दिएको पिडित युवाहरुको गुनासो छ । ५–५ लाखको दरले दुईवटा झोलामा रहेको १० लाख झिक्दै गर्दा पिडित टसी छिरिङ डरले भागेको र अर्को पिडित कर्मा ओङ्दी लामालाई अपहरण गरी लगेको उनिहरुले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमा उल्लेख छ । मनाङेको टोलीले राती नै कर्मा ओङ्दीलाई अपहरण गरेर नार पु¥याएका थिए । पिडित लामाले आँफुलाई बिहानको ३ बजे नार ल्याएको बताए ।

पिडितहरुले प्रहरीमा दर्ता गराएको निवदेनमा राजिव गुरुङ भन्ने दीपक मनाङे र पोल्देन छोपाङले रकम लुटेनको लागि नारका स्थानियहरु लोप्साङ फून्जो लामा, धार्जे लामा, तलेखुका कर्मा लाक्पा लामा, थान्चोकका गणेश घले र कोतोका टसी लामा रहेका छन् ।

पिडित युवाहरुले आँफुहरुले फूमा होटल बनाएर ब्यापार गर्नको लागि रकम लिएर गाउँ गएका बेला बाटोमा धम्की दिएर रकम लुटिएकोले रकम पाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन् । पिडित टसी छिरिङ भागेर फू गाउँमा पुगेर घटनाको बारेमा बताएपछि गाउँपालिकाका उपप्रमुख फूञ्जो तेन्जे लामा (बाबा) ले मनाङेलाई फोन गरेर बुझेपछि मनाङेको समुहले मेतास्थित अस्थायी प्रहरी चौकीका असईलाई नारमा बोलाएर रकम दिएका थिए ।

यता, मनाङ प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ । उता, दीपक मनाङेले माथिल्लो मनाङमा मजदुरी गर्दै आएका गोरखालीहरुलाई चुनावमा आँफुलाई भोट नहाले हात काटीदिने धम्की दिएको बताइएको छ । एमाले मनाङले दीपकलाई प्रदेश क्षेत्र नं.२ को प्रत्यक्षतर्फ उम्मेद्वार सिफारिस गरेको छ ।
तर यस विषयमा मनाङ प्रशासन भने बेखबर बनेको छ ।