– रेजिना गौतम (झापा)
भाइरल फिवरका रुपमा चिनिने डेंगु संक्रमण फैलन थालेपछि स्थानीयमा त्रास बढ्नुका साथै अस्पतालहरूमा बिरामीको चाप पनि बढेको छ ।
कम्मर, ढाड करकर खाने, टाउको र आँखाका गेडी दुख्नुका साथै ज्वरो आउन थालेपछि डेंगुको शंका गर्दै स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका पत्रकार एकराज गिरीको स्वास्थ्य रिपोर्टमा डेंगु पोजेटिभ देखियो । हाल उनी अस्पतालमै उपचाररत छन् । तीनअघि अस्पताल भर्ना भएका गिरी भन्छन्, ‘प्ल्याट घटबड हुने क्रम रहिञ्जेलसम्म डाक्टरको निगरानीमा बस्नुपर्ने सल्लाह दिइएको छ, कहिले पो ठिक हुने हो !’
शहरी लामखुुट्टेका रुपमा चिनिने एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको नियन्त्रणका लागि विर्तामोड नगरपालिकाले सर्च एण्ड डिस्ट्रोइ, फगिन कार्यक्रम सञ्चालन गरे पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन । नगरपालिकाका स्वाथ्य संयोजक खगेन्द्र ढुङ्गानाले नगरपालिकाको शहरी क्षेत्रमा सर्च एण्ड डिष्ट्रोए, फगिनलगायतका कार्यहरू सञ्चालन गरिएको जानकारी दिंदै भने– ‘कम भएको छ तर नियन्त्रण नै भइहालेको चाहिँ छैन ।’
झापामा एक गाउँपालिकासहित ६ वटा स्थानीय तहमा डेंगुको संक्रमण देखिएको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाले विर्तामोड नगरपालिकामा ४९ जना, अर्जुनधारा नगरपालिकामा ७ जना मेचीनगरपालिमा ३ जना, बुद्धशान्ति गाउँपालिकाका २, कनकाई नगरपालिकाका २, दमक नगरपालिका २ जना संक्रमित भएको तथ्याङ्क आफूलाई प्राप्त भएको कार्यालय प्रमुखले जानकारी दिए ।
उनका अनुसार यो संक्रमणबाट बच्न मूलतः सचेत हुनुपर्नेमा जोड दिँदै भने– ‘शहरिया लामखुट्टेका रुपमा चिनिने यो मच्छडबाट बच्न शरिर ढाक्ने कपडा लगाउनु पर्ने, एसी, कुलर, फ्रिज, गमलामा पानी जम्न दिन नहुने, तथा शहरक्षेत्रमा चिया पानी खाएर फ्याँकिने प्लाष्टिकका गिलास, बिर्को खोलिएका बोतल पनि उचित ठाउँमा बिर्सन गर्नुपर्छ, तिनीहरूमा पानी जमेको भए त्यही पनि उक्त संक्रमित लामखुट्टेले फुल पार्न सक्छ ।’
तर सरकारी तथ्याङ्कमा ७३ जनामा बिरामी देखाइरहँदा विर्तामोडका चार ठूला निजी अस्पतालमा डेंगु पोजेटिभ बिरामीको उपचार गर्नेको संख्या १३८ पुगेको अस्पतार्लहरूले जनाएका छन् ।
सामान्यतया डेंगुको संक्रमणले सात-आठ दिनसम्म पक्रने चिकित्सकहरू बताउँछन् । प्लाटलेट कम हुने, फोक्सोमा पानी जम्ने डेंगु जम्मा तीन प्रकारको हुने बताउँदै विर्ता सिटी हस्पिटल विर्तामोडका फिजिसियन डक्टर शरद भट्टराईले डेगुको विशेष अलग्गै औषधी नभएका बताउँदै भने– ‘ज्वरो कम गराउने, झोल कुर्राहरू पिउन प्रेरित गर्ने, लगायतका कार्य गर्न सकिन्छ । डा. भट्टराईका अनुसार डेगुको मात्र उपचार गर्न सात दश दिनलाग्ने भएपनि अरु रोग पनि थपिए उपचारमा समय लाग्न सक्छ ।
प्रतिक्रिया