डा. केसीले आजै अनसन तोड्ने : सरकारसँग सम्झौता–हस्ताक्षर हुँदै

डा. केसीले आजै अनसन तोड्ने : सरकारसँग सम्झौता–हस्ताक्षर हुँदै


सरकार र अनसरत डा. गोविन्द केसीबीच बुधबार साँझ सम्झौतापत्र हस्ताक्षर हुने भएको छ ।  सरकार र केसी पक्षधर वार्ताटोलीबीच भएको बैठकले सम्झौताका बुँदा तय गरेको थियो। उक्त सम्झौतामा डा. केसीले सहमति जनाएपछि आजै हस्ताक्षर हुन लागेको हो ।

सम्झौतालगत्तै डा. केसीले १४ दिनको अनसन तोड्ने छन् । सहमतिअनुसार डा. गोविन्द केसीले माग गर्दै आएको चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ताटोली तथा केसी वार्ताटोलीबीच बुधबार यस्तो सहमति भएको हो ।

यही कात्तिक ६ गते बस्ने मन्त्रिपरिषदले यो विधेयक अध्यादेशका रूपमा जारी गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने बैठकको निर्णय रहेको केसी पक्षका वार्ताकार अभिषेक सिंहले बताए । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न पाँच वर्षदेखि सत्याग्रह आन्दोलन गर्दै आएको डा. केसीको यो १४ औं चरणको अनसन हो ।