नाईजेरियाबाट विभिन्न प्रजातिका संरक्षित पशुपंक्षीहरु पैठारी गरी नेपालबाट भारतमा समेत खरिद बिक्री तथा ओसरपसार गर्ने गरेको भन्ने सुचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं बाँसबारीबाट प्रमाणसहित अभियुक्त पक्राउ गरेको छ ।
बाँसबारी सल्लाघारीस्थित संजिव भारीको घरमा नाजेरियाबाट नेपालमा पैठारी गरिएका जिवित चराचुरुङ्गीको साथमा अबैध रुपमा लुकाईछिपाई ल्याईएको संरक्षित जिवित चिम्पाञ्जी र बाँदर प्रजातिहरु ओसारपसार तथा खरिद विक्री गर्ने कार्यमा संलग्न व्यक्तिहरु फेलापरेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाँसबारी सल्लाघारी बस्ने बर्ष ४० का संजिव भारी, भारत बिहार, पटना, मीर शिकार टोली घर भई हाल का।जि।का।म।न।पा। वडा नं। १५ स्वयम्भु बस्ने बर्ष ३४ का मोहम्मद उष्मान, भारत बिहार, पटना मीर शिकार टोली घर भएका बर्ष ५४ का मोहम्मद फईम, भारत उत्तरप्रदेश, भरानसी लखनउ स्थायी ठेगाना भएका वर्ष ३५ का चांदबाबू मोहम्मद शरीफ सहीद, जिल्ला बारा डुमरवाना स्थायी ठेगाना भई हाल काठमाडौं बुढानिलकण्ठ, कपन बस्ने भन्सार एजेन्ट बर्ष ४२ का राजकुमार तिवारी, पाकिस्तान कराँची स्थायी ठेगाना भएका बर्ष ५५ का जावेद अस्लाम खान रहेका छन् ।
जिवितै उद्दार गरिएका पशु पंक्षीहरुमा चिम्पाञ्जी संख्या २ ओटा, बाँदर प्रजाति संख्या ८ ओटा, गोल्डन फेजन चरा संख्या ७ ओटा, रेङ्गिनेट फेजन चरा संख्या २ ओटा, परेवा संख्या ३८ ओटा र सुगा संख्या ६५ ओटा रहेका छन् ।
उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाइएको छ । साथै, जिवितै उद्दार गरिएका पशुपंक्षीहरु चिडियाखानामा बुझाइएको छ ।
प्रतिक्रिया