सचिवले नै कीर्ते गरेर रकम झिकेपछि…

सचिवले नै कीर्ते गरेर रकम झिकेपछि…


बैंक कर्मचारीको लापर्वाही या कमजोरीका कारण सेवाग्राहीले बेलाबेला ठूलो नोक्सानी र हैरानी ब्यहोर्नुपर्ने अवस्था आउँछ । यसैको पछिल्लो उदाहरण बन्न पुगेको छ राष्ट्रिय वाणिज्य बैंक दार्चुला शाखामा घटेको एक घटना । उक्त कार्यालयबाट खातावालको दस्तखत कीर्ते गरेर रकम झिकिएको तथ्य खुलेको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को खाता नं २२३९ बाट निवर्तमान अध्यक्ष नारायण जोशीले सचिव कमलराज जोशीको कीर्ते दस्तखत गरी रकम झिकेको विषय निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठ अध्यक्ष रहेको सो संस्थाका कतिपय कर्मचारीबीच गफको सन्दर्भ बन्न पुगेको छ । बताइएअनुसार १९ हजार ८ सय रकमको शोभा अवस्थीको नाममा खिचिएको चेक गत भदौ २१ गते साटिएको पाइएको छ । सोही दिन आठ हजार र २२ हजार ५ सयका अन्य दुई वटा चेकसमेत साटिएकोमा उक्त दुवै चेकमा भने सचिव जोशीले दस्तखत गरेका थिए ।

नियोकका नामले सञ्चालित उक्त खाता अध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट सञ्चालित थियो । कीर्ते दस्तखत गरी खाताबाट रकम झिकेको आफूलाई डेढ महिनापछि मात्र थाहाभएको सचिव जोशीले बताएका छन् ।

नियोकलाई स्वेच्छाचारी, एकलौटी एवं मनोमानी ढंगले सञ्चालन गर्दै आइरहेको आरोप गैैरसरकारी संस्था महासंघ दार्चुलाका जिल्ला अध्यक्ष समेत रहेका जोशीमाथि लाग्दै आएको छ ।