द्रुतमार्ग कार्यदलका लागि बन्यो बेस क्याम्प

द्रुतमार्ग कार्यदलका लागि बन्यो बेस क्याम्प


काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना निर्माण कार्यदलको नवनिर्मित भौतिक पूर्वाधारहरूको काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित मख्खुबेसीमा उद्घाटन गरिएको छ । नेपाली सेनाले जिम्मेवारी पाएको उक्त आयोजना निर्माण कार्यका लागि आवश्यक सो संरचनाको अधिकारसम्पन्न निर्देशक समितिका अध्यक्ष एवं बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले उदघाटन गर्नुभएको हो । करिब १ सय १० जना क्षमताको उक्त क्याम्पमा द्रुतमार्ग निर्माणका लागि आवश्यक जनशक्तिको वासस्थानका साथै अन्य भौतिक सामाग्रीहरु समेत भण्डारण गर्ने स्थान निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।

द्रुतमार्ग निर्माणका लागि पहिलो चरणमा निर्माण सुरु गरिएको उक्त भौतिक पूर्वाधारहरूको उदघाटन गर्ने क्रममा बलाध्यक्ष रथी थापाले नेपाल सरकारले निर्धारण गरेको समयसिमाभित्रै आयोजना सम्पन्न गर्न नेपाली सेना पूर्ण रुपमा कटिबद्ध रहेको र उक्त कार्यका लागि स्थानीय वासिन्दा तथा अन्य सरोकारवाला निकायहरूको समेत पूर्ण साथ–सहयोगको अपेक्षा गरिएको बताउनुभयो । यसैगरी, उहाँले छोटो समयमा नै निर्माण सम्पन्न गरिएको वेशले द्रुतमार्ग समयमै सम्पन्न गर्न महत्वपूर्ण र प्रतिकात्मक भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

वेशमा निर्माण गरिएको भौतिक पूर्वाधारहरुको उदघाटन कार्यक्रममा आयोजना प्रमुख तथा इन्जिनियरिङ विभागका प्रमुख उपरथी योेगेन्द्रबहादुर खाँडले आयोजनाको प्राविधिक पक्ष र निर्माण योजनाका वारेमा प्रकाश पार्नुभएको थियो भने रक्षा मन्त्रालयका सहसचिव आनन्दराज रेग्मीले उक्त आयोजनालाई नेपाल सरकारले उच्च प्राथमिकता दिएकाले बजेट तथा अन्य कुनै पनि पक्षमा कमी हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।