भारत पाकिस्तानको सम्बन्ध तथा क्षेत्रीय तनाव

भारत पाकिस्तानको सम्बन्ध तथा क्षेत्रीय तनाव


-सुमलकुमार गुरुंग,
भारत र पाकिस्तान सन् १९४७ सालमा बेलायती उपनिवेशबाट मुक्त भएका राष्ट्रहरु हुन् । भारत बेलायती शासनबाट स्वतन्त्र हुनु अघि यी दुई राष्ट्रहरु एउटै मुलुकको सिमानामा बाँधिएको थियो । सातौ शताब्दीदेखि अरबमूलका राष्ट्रहरुबाट भारत आक्रमण भएदेखि भारतवर्षमा मुशलमान शासकहरुका विभिन्न वंशजले भारतलाई शासन गर्दै आएको देखिन्छ । यो क्रमिक सिलसिला १६औ शताब्दीताकाको मुगल साम्राज्य विस्तार भएदेखि अन्तसम्म रहन्छ । अफगनिस्तानबाट मुगल सम्राट बाबरले भारतमा मुगल साम्राज्यको स्थापना गरे पश्चात भारतमा धर्म परिवर्तन गरेर मुशलमानहरुको संख्या तिब्र गतिमा बढेको पाउँछौ । सम्राट औरङ्गजेबको पालासम्म आइपुग्दा भारतको सबै भूभागमा भारतीय मूलका मुशलमानहरुको संख्या ह्वत्तै बढेर आएको पाउँदछौ । त्यसपछि १७औ शतब्दिदेखि युरेपेली मुलुकहरुले भारतसंगको व्यापार त्यसपछि विस्तारै प्रभाव बढाउँदै १८औ शताब्दीको उत्तरार्धमा आइपुग्दा भारतको धेरै भूभाग अंग्रेजहरुका ईष्ट ईण्डिया कम्पनीको हातमा शासित हुन पुग्छ । सन् १८५७को सिपाही विद्रोह पछि महारानी भिक्टोरियाले सन् १८५८ सालमा क्वीन्स प्रोक्लेमेशन जारी गरेर सीधा भारतलाई बेलायत सरकारले एक जना गोभर्नर नियुक्त गरेर शासन गर्न थालेको हुन्छ । सन् १८५७सालसम्म आइपुग्दा भारतमा हिन्दू र मुशलमानहरुको बीचमा धार्मिक द्वन्द सल्किसकेको छनक् पाईन्छ । त्यसभन्दा पहिले औरङ्गजेबले जिजिया नामको कर हिन्दूहरुमाथि जबरजस्ति लादे पछि मुशलमान शासकहरु प्रति तथा मुशलमानहरुप्रति सर्वसाधारण हिन्दूहरुका धारणा खलबलिन पुगेको थियो । देखावटी रुपमा धार्मिक सहिष्णुता रहेको देखिए पनि भारतवासीहरुमा विशेषगरि हिन्दू मुशलमानहरुको बीचका सम्बन्ध सुमधुर भने देखिएन ।

अंग्रेजहरुले यहि कमजोरीलाई थाह पाएर “विभाजन अनि शासन गर” भन्ने नीति लागु गरेर विशाल भारतलाई झण्डै दुईसयवर्ष शासन गरे । अन्तमा भारतवासीहरुले बेलायती शासन विरुद्ध अन्दोलन गरे अनि बेलायतले बाध्य भएर भारतलाई स्वतन्त्रता प्रदान गर्नु पर्यो । तर, भारत टुक्रिएर दुई भागमा विभाजन हुन्छ । यो थियो सन् १९४७को १४ अगस्त, पाकिस्तान नयाँ राष्ट्र बनेर उदय हुन्छ भने भारतले लालकिलामा १५ अगस्त १९४७को दिनमा युनियन ज्याक, बेलायती झण्डाको ठाउँमा भारतीय झण्डा तिरङ्गको झण्डोत्तलन गर्दछ । पूर्व पाकिस्तान (अहिलेको बंगलादेश) र अहिलेको पाकिस्तान, पश्चिम पाकिस्तानको रुपमा नयाँ राष्ट्र जन्मन्छ । शताब्दीयौ देखि हिन्दू र मुशलमानबीच रहेको तुष दुईदेशमा विभाजित भएपछि साम्य भएको प्रतित हुन्छ, । तर, विभाजनकै दौरान हिन्दूहरु भारतमा र मुशलमानहरु पाकिस्तानमा बसाइँ सराइँ गर्नेक्रममा सानो एउटा झगडाबाट हिन्दू मुशलमानहरु बीच विशाल ठुलो हत्या हिंसा भई रक्तपात हुन्छ । झण्डै एक करोड पच्चीस लाख मानिसहरु विस्थापित हुन्छन् र पचासलाख जति मानिसहरु मृत्यु हुन्छन् । त्यसपछि यी दुबै राष्ट्रहरु शत्रुराष्ट्रको रुपमा एकआपसमा उभिन पुगे । सन् १९४७देखि सन् १९९९को कारगिल युद्धसम्म आइपुग्दा यी दुई राष्ट्रहरुबीच चारपटकसम्म युद्धहरु लडिसकेका छन् ।

दुबै राष्ट्रहरु अहिले शक्तिशाली अणु्शस्त्र युक्त छन् । युद्धको निहुँमा एउटाले अणुबम अर्को देशमा प्रहार गरे दक्षिण एसियाली मुलुकहरुका लागि ठुलो खतरा देखिन्छ । भारत स्वतन्त्र हुने बेलामा भारतभरि ५६५वटा राजारजौटाहरुका राज्यहरु थिए । ती राजारजौटाहरुलाई भारत र पाकिस्तान दुई राष्ट्रमध्ये कुनचाँहि राष्ट्रमा विलय हुने भन्ने अधिकार ती राजाहरुलाई नै दिएको थियो । अतः अन्तमा मुशलमानहरु पाकिस्तानमा तथा हिन्दूहरुले भारतमा विलयहुने राय दिएर भारतमा विलय भएका थिए । त्येतिबेला जुनागढ, गुजरातको दक्षिण पश्चिममा अवस्थित एउटा राज्य थियो । त्यहाँका नवाब मोहबत खान्ले पाकिस्तानमा विलय हुने राय जाहेर गरेका थिए, तर, अस्सी प्रतिशत हिन्दू जनता भएको राज्यलाई भारतमा बलजफती गाभिएको थियो । कश्मिरी राजा हरिसिंहले आफ्नो छुट्टै राज्य जम्मुकश्मिरको माग भारत पाकिस्तान समक्ष राखेका थिए । उनले आफ्नो राज्यलाई स्वीजरल्याण्ड जस्तै स्वतन्त्र छुट्टै राज्य बनाउने सपना देखेका थिए, तर, मुशलमान बढी भएको राज्यमा पाकिस्तानले राजा हरिसिंह भारतमा प्रवेश हुँदैछ भन्ने आशंकामा पख्तुन जनजातीहरु र पाकिस्तानी फौज मिलेर एक्कासी कश्मिरमाथि आक्रमाण गरेका थिए । त्यसैबेला राजा हरिसिंह बाध्य भएर भारतमा विलय हुने राय दिनु परेको थियो । त्यसपछि भारतीय सेनाले जवाफी हमला गरेर कश्मिरलाई भारतभित्र गाभेको थियो । जम्मुकश्मिर राज्यमा मुशलमानको संख्या बढी रहेको छ । वास्तवमा भारत पाकिस्तानको चारपटकसम्मको युद्ध यहि राज्यलाई लिएर भएको भनिन्छ । सन् १९७१को लडाईलाई छाडेर अरु तीनवटा युद्धहरु यहि राज्यको सेरोफेरोमा लडेका थिए । सन् ७१को लडाई बंगलादेश निर्माणको लागि भए तापनि जम्मुकश्मिर राज्यमा भारतपाकिस्तानको युद्ध अखडा बनेको देखिन्छ । पाकिस्तान र भारतबीच सोझै हतियार प्रयोग गरेर लड्ने युद्धमात्र नभई खेलकुददेखि सबैक्षेत्रमा होडबाजी र एक अर्काप्रति डाह गर्ने सिलसिला शुरु भएको देखिन्छ । सन् १९८० सालदेखि पृथकतावादीहरुले भारतीय सेना र त्यहाँका हिन्दूहरुमाथि आक्रमण गर्दै आएको छ । पाकिस्तानका लश्कर–ए–तईबा तथा जईस–ए–मोहम्मद जस्ता पृथकतावादी संगठनहरु कश्मिरलाई पाकिस्तानमा विलय गराउने उद्धेश्यले लड्दैछन् भने जम्मुकश्मिर लिबरेशन फ्रन्टले कश्मिर छुट्टै राज्य बनाउने उद्धेश्यले लडिरहेको छ । जम्मुकश्मिरको हालको भूभागमध्ये पाकिस्तान शासित क्षेत्र आजाद कश्मिर र लद्दाखको उत्तरपूर्वी भाग अक्साईचीन जुनचाँहि अहिले चीनको भूभागमा पर्दछ सबै जम्मुकश्मिर राज्य अन्तरगत पर्दथ्यो ।

यसरी पटक पटक युद्ध लडि रहने यी राष्ट्रहरुले शान्तिका लागि शिमला सम्झौता, लाहोर सम्झौता तथा आगरा सम्झौताहरु गरिसकेका छन् । तर, यी सम्झौताहरुका बावजुद बारम्बार आतङकारी हमलाहरु पनि भईरहेका छन् । यसमभ्ये सन् २००१को भारतको पार्लियामेन्ट भवनमाथिको आतङक्कारी आक्रमण, सन् २००३को सम्झौता एक्स्प्रेसमाथिका बमकाण्ड, सन् २००८को मुम्बाई काण्ड र कश्मिरमा मुशलमान अताङकारीहरुले कश्मिरी पण्डितहरुलाई लक्ष्य गरेर हत्या गर्दै हजारौका संख्यामा विस्थापित गर्ने गरेका घट्नाहरुको मूल श्रोत पाकिस्तान रहेको भारतको दावी छ । भारतमा पनि धेरै संख्यामा मुशलमानहरु छन् । पाकिस्तान र भारतमा बस्दै आएका मुशलमानहरुका आपसी सम्बन्ध र आफन्तहरु दुबै राष्ट्रमा बसोबास गर्दै आएका छन् । यी दुबै राष्ट्रहरुका जरा एउटै भएको हुनाले परम्परा र संस्कारहरु सबै कुरामा समानता पाईन्छ । समग्रमा एकै घरबाट छुटेका दाईभाई भए तापनि यी दुई राष्ट्रहरुका अमेलले गर्दा दक्षिणी एसियाली, यो भारतीय उपमहाद्वीपमा बेला बेलामा तनावको सिर्जना हुँदै आएको छ । यसर्थ, आतङ्कारी हमलाको प्रभाव छिमेकी राष्ट्रहरुमा पनि पर्न सकिन्न भन्न सकिदैन । केहिदिन अघि पाकिस्तानी नागरिक हाफिज मुहम्मद सइदलाई पक्राउ गर्नको लागि अमेरिकाले दश मिलियन अमेरिकी डलरको पुरस्कार राशी दिने घोषना गरेको छ । उनलाई मुम्बाई अताङकारी हमला, जसबाट १६८जना व्याक्तिहरु मारिएका थिए, को जिम्मेवार ठहर गरको छ । पाकिस्तान अहिले अन्तर्राष्ट्रिय जगत तथा भारतले अताङ्कारीहरुका श्रोत भूमीको रुपमा हेर्न थालेका छन् । हालैको पाकिस्तानी राष्ट्रपति जरदारीको भारत भ्रमणले भारतपाकिस्तानको सम्बन्ध सुदृढ होला भनेर यकिन गर्न सकिन्न तर केहि सुधार होला भन्ने आशाको आपेक्षा भने गर्न सक्छौ । यो कुनै पनि पाकिस्तानी नेताको सातवर्षपछिको भारत भ्रमण थियो । भारतको प्रधानमन्त्रि मनमोहन सिंहलाई भेटेर खुशी व्यक्त गर्ने जरदारीले भारतीय प्रधानमन्त्रिलाई पाकिस्तान आउने न्यौता दिएर गएका छन् । सन् २००४ सालमा आठवटा मुद्धाहरु उपर आपसी सहयोग र सद्भाव राखेर कार्य गर्ने कुरामा प्रतिबद्धता गरेका थिए । यसमा विशेष गरि आतङवाद, भारत भएर पाकिस्तानमा बहने नदिका पानीको बाँघ र पानीको बाँडफाँट ईत्यादि थिए । विगत केहि साल यतादेखि पाकिस्तान र भारतको बीच रहेको कटुतापूर्ण सम्बन्धलाई मध्यनजर गरी हेर्दा यस भ्रमणमा कुटनीतिज्ञहरु आशावादी रहेका छन् ।