‘निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई छुट हुँदैन’ : प्रमुख निवार्चन आयुक्त

‘निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई छुट हुँदैन’ : प्रमुख निवार्चन आयुक्त


प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिए कै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । उनले अब पनि निर्वाचन हुँदैन् कि भनेर शंका नगर्न आग्रह गरे ।

यादवले शंका गर्नुभन्दा पनि निर्वाचनलाई कसरी स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिन्छ भनेर सबैले सोच्नुपर्ने बेला आएको भन्दै यतातर्फ सोच्न आग्रह गरे ।

ललितपुरस्थित आफ्नै निवासमा कुराकानी गर्दै प्रमुख आयुक्त यादवले निर्वाचन हुनेमा अब शंका नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘निर्वाचनप्रति अब कुनैपनि किसिमको शंका राख्नुहुँदैन, बरु शंका त स्वतन्त्र, स्वच्छ र स्वतन्त्र निर्वाचन कसरी गर्ने भन्नेबारे गर्नुप¥यो, तपाईहरुले पनि अब दबाबमुलक कार्यक्रमलाई निरन्तरता दिनुहोस् ।’

यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन स्थानीयतहको निर्वाचनभन्दा पनि अझै उत्कृष्ट रुपमा सम्पन्न हुने निर्वाचन आयोग दृढ संकल्प र आत्म विश्वस्त रहेको जनाए ।

हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग तिहारको शुभकामना आदान–प्रदान गर्ने कार्यक्रममा निर्वाचन सफल बनाउने बारेमा पनि विशेष कुराकानी भएको उल्लेख गर्दैै उनले भने, ‘तिहारको शुभकामना आदानप्रदान सँगै हामी वीच निर्वाचन सफल बनाउनेबारे पनि छलफल भयो, उहाँले विश्वस्त पार्नुभयो कि सरकारको तर्फबाट जस्तोसुकै सहयोग गर्नपनि म तयार छु भन्नुभयो, सोही प्रबिद्धतासहित हामी पनि बढिरहेको छौं, निर्वाचन सफल रुपमा सम्पन्न हुन्छ ।’

उनले प्रधानमन्त्री देउवाले आयोगलाई कुनै समस्या नपर्ने बताउँदै निर्भिक भएर अघि बढ्न आग्रह गरेको समेत जानकारी दिए । उनले थपे, ‘प्रधानमन्त्रीज्यूले हामीलाई सबै किसिमको सहयो गर्न तयार छौं भन्नुभएको छ ।’