२०६८ साललाई फर्केर हेर्दा ?[लेखकको गुनासो]

२०६८ साललाई फर्केर हेर्दा ?[लेखकको गुनासो]


-काङमाङ नरेश राई
झापाका पत्रकार यादब पौड्यालको गत साता हत्या भयो । पत्रकारहरु माथि आक्रमण मात्र भएका छैनन् ज्यान पनि गुमाई रहेका छन् । भनिन्छ पत्रकारहरु भनेको देशको चौथो अंग हुन् । लेखक र पत्रकारहरुले कलम चलाएनन् भने देश मात्र हैन संसार नै दृष्टि बिहिन हुन जान्छ । समाचार भनेको बिज्ञापन हैन भनी बुझ्न आबश्यक छ । जुन कुराहरु बाहिर आउदैनन् त्यसलाई बाहिर ल्याउने काम पत्रकारिताले गर्दछ । समाचार भनेको बिज्ञापन नभएर समाचार नै हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो । सेकेण्ड सेकेण्डमा घटेका घट्नाहरुलाई समाजको अगाडि ल्याउँछन् भन्ने कुरा सबैलाई सर्बबिबितै छ । तर किन पत्रकार र लेखकहरुको हत्या हुने गर्छन् ? नेपालमा १० बर्षे जन युद्घकालमा धेरै पत्रकारहरुको हत्या भएका छन् । बाबाको घाटी छिनिएको डेकेन्द्र थापाको छोरीले प्रत्यक्ष देखेकी थिईन् । उनले यसपालि प्रबेशिका परिक्षा दिईन । कबि तथा पत्रकार कृष्णसेन ईच्छुक आदिको हत्या राज्यको तर्फबाट भयो । जनयुद्घ समाप्त पछि पनि धेरै पत्रकारहरुको हत्या भए । जेपी जोशी, उमा सिंह, बिरेन्द्र शाह, लोकेन्द्र बुढाथोकी आदिले कलम चलाएका कारण नै आफ्नो जीबन गुमाउनु पर्यो । नागरिक दैनिकका बिराटनगर समाचारदाता खिलानाथ ढकालमाथि भएको सांघातिक हमला जस्ता धेरै हमलाहरु भएका छन् ।

बेलायत जस्तो अति बिकाशित राष्ट्रमा नेपालीहरुको आउने संख्या दिनानु दिन बढिरहेका छन् । ४ बटा साप्ताहिक पत्रिकाहरु प्रकाशित भइरहेका छन् यहाँबाट । ईलेक्ट्रोनिक मिडियाहरु भने निकै धेरैको संख्यामा रहेका छन् । नेपालीहरुका संघ सँगठनहरु भने नगन्य मात्रमा छन् । सबैले आ–आफ्नो ठाउँमा राम्रा कामहरु गरिरहेका समाचारहरु पत्र पत्रिका र ईलेक्ट्रोनिक पत्रिकाहरुमा पढ्न पाईरहेका छौ । बेलायतमा नेपाली संस्कार संस्कृति, भाषाको भुगोललाई बढाई बढाईरहेका छन् ती पत्रिका र नेपाली संघसंस्थाहरुले । यो एउटा खुशीको कुरो मात्र हैन समग्र नेपालीहरुको दायित्ब भएको कारणले सबैले आत्मासाथ गर्नै पर्दछ । तर कुनै संघ संस्थाहरुले नेपाली संस्कार, सस्कृतिलाई मर्ज गरेर लगिरहेका छन् । यो कतिको जायज छ भनी तपाई हामी बसह गर्दै आईरहेका छौ । नेपाली संस्कार संस्कृतिलाई तत्कालै मर्ज गर्नु हुदैन भन्ने मेरो एउटा लेखको कारणले बेलायत जस्तो मानबअधीकार भएको देशमा केही ब्यक्तिहरुले कचहरीमा बोलाए । आधुनिक्ताको नाममा नेपाली संस्कार संस्कृतिलाई अन्य देशको संस्कार सस्कृतिमा मर्ज गर्न खोज्ने तर नेपालमा पनि लोपन्मुख अबस्थामा रहेको कचहरी प्रथालाई प्रयोगमा ल्याउन चाहनेहरु भनेका दहि र चिउरा बेस्मारी मुछ्ने र मुछी सकेपछि खाना घिनाउनेहरु भन्दा कुनै २ मत नहोला । बैशाखी टेक्दै उपस्थित हुन गएको पनि करिब १ बर्ष पूरा हुन लागेछ । त्यस कचहरीमा न त मुखीया थिए, नत सुब्बा थिए, नत पगरी र राई नै थिए । एक छत्र अधिकार लाद्न खोज्ने ब्याक्तिहरु उपस्थित थिए । लेख को आसाय भन्दाभन्दै गिज्याउने, हल्ला गर्ने, बोल्न नदिने । नेपाली टोपी दउरासुरुबाल लगाएर हिँड्नु नि । किन नलगाएको ? नेपाली नै हो भने लगाउनु नि आदि कुराहरुसम्म बोले उनीहरुले । त्यहाँ अनौठो कुरो के थियो भने आफै बकील आफै न्यायधीस आफै कार्यक्रम प्रस्तोता । जब उनी बोल्न थाल्थे त्यसपछि सुनसान हुन्थो कचहरी सभा । यस्ता प्रबृति भएका तानाशाहहरु जहाँ गए पनि तानाशाह नै भएर बस्दा रैछन् । कसैले बीचमा रहेर बोल्न खोजेमा बीचमै रोक्थे तिनले । त्यो एउटा आधुनिक्ताको नाममा गरिएको अमानबीय ब्यबहार थियो मप्रति । बेलायतको सबालमा लेखक तथा पत्रकारहरु माथि हातपात गरिनु कचहरिमा बोलाउनु भनेको नागारिक स्बतन्त्रता तथा प्रेश स्बतन्त्रतामाथि औला उठाउनु हो । नेपाली समाजका केही ब्यक्तिहरुले पत्रकारहरुमाथि यस्ता प्रकारमा दुरब्यबहार गरिरहेको बेला बेलायतमा पत्रकार महासंघको गठन भएकोछ । आउँदा दिनहरुमा पत्रकार तथा लेखकहरु माथि मलाई जस्तो कचहरी सभामा निम्तो दिँदैन होला भन्ने बिश्बास लिएको छु र यस्ता घट्नाहरु घटिहालेमा बेलायतको नेपाली पत्रकार महासंघले यस्ता घट्नाहरुको चिरफार गर्नेनै छ भन्ने बिश्बास लागेकोछ ।

पत्रकार महासंघ बेलायतका महासचिब नरेश खपाङ्गीज्युले सांगठानिक प्रतिबेदनमा पत्रकार तथा लेखकहरुलाई भौतिक आक्रमणको धम्की दिनु र अघोषित रुपमा पत्रिकाहरुलाई बहिस्कार गर्नु आदि घटनाले बेलायत जस्तो ठाउँमा पनि पत्रकारहरुको पेशागत सुरक्षाको आबश्यक रहेको प्रष्ट पारेका छन् । मैले भोगेको कचहरी सभालाई एउटा उदाहरणको रुपमा प्रस्तुत गरिसकेका छन् । बेलायतमा नेपाली पत्रकाहरुको छाता सँगठन पत्रकार महासंघको जन्म हुनु भनेको एउटा ठूलो उपलब्धी हो र पत्रकार, लेखकहरुको लागि सुरक्षा प्रदान गर्नु पनि हो ।

कचहरी हुनु भन्दा पहिले मलाई भौतिक आक्रमण गर्ने धम्कीहरु पनि नआएको हैनन् । धेरै पटक आएको थियो । जुन नानीहरुलाई नेपाली नयाँ बर्षको नाममा फेशन सो गराएका थिए । ति नानीहरुबाटै हातपात गर्न लगाउने योजनाहरु पनि रचेका थिए तिनीहरुले भन्ने कुरा बुझ्न सकिन्थो । डेमोको कामबाट फर्किरहेको बेला कचहरीमा फलानालाई कायल बनाउन जानु पर्छ भनी उर्दी गर्ने दुई जना रहेछन् । सायद भर्ती लाग्नु भन्दा पहिले नेपालमा तिनीहरु चोक र टोलका डनहरुलाई पछ्याउथे होला । तर नेपाल अहिले त्यस्तो छैन । त्यस्ता डनहरु कति त नेताहरुका हतियारहरु भएका छन भने कति खोरमा रहेकाछन् । हामी जस्तो समाजमा हुर्कन्छौ हाम्रो आचरण र प्रबृति पनि त्यस्तै हुने गर्छ । मैले लेखेको लेख गल्ति भएको भनी सावित गरी माफी मागेको समाचार छाप्ने उनीहरुको योजना थियो । लेखको आसाय प्रष्ट भन्दा पनि नेपाली भाषा नेपालीले नबुझ्दा ज्यादै दुःख पनि लाग्यो । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत शब्दकोश पल्टाएर कामुकको अर्थ पढ्दा सम्म हासेर खिल्ली उडाए । आफ्नो सर्टिफिकेटको धम्की दिनेहरु पनि थिए । तर गाजीमा लुकाएको सर्टिफिकेटको के अर्थ ? म आर्मीको जागीरमै थिए त्यो बेला । जागीरमा असर पार्छ रिर्पोट भयो भने त्यसैले माफी माग्नु भन्ने सुझाबहरु पनि नआएका हैनन् आएका थिए । मिनीष्ट्रि अफ डिफेन्जसँग मुद्घा गरिरहेकोे सिपाहीलाई केको डर थियो र ? सि.ओ,क्याप्टेन, लेफ्टेन, आर.एस.एम.हरुसँग अन्याय अत्याचारको बिरुद्घमा छलफल गरी तिनीहरुको मुखमा बुचो लगाउने एउटा सिपाहीलाई । पल्टन घरको धङधङ्गे बोकेर ठूलो पोष्टबाट सेबानिबृति भएकाहरुले मलाई झिनो मसिनो देख्नु स्बाभाबिकै थियो । त्यस्ताहरुको ठूलो जमात थियो त्यो कचहरीमा । कचहरीको अन्तमा समाचार लेख्ने भए । मैले पनि लेख्दा हुन्छ भने । लेखकको साईनो पत्रिकाहरुसँग कस्तो हुन्छ भन्ने कुरो उनीहरुलाई के थाहा ? जब कचहरी सकियो हामी आ–आफ्नो बाटो लाग्यौ । समाचार छापिएन भने नरेशको घर घेर्न जानु पर्छ हेरौ त कसरी समाचार नछाप्दो रैछ भन्ने धम्किहरु कचहरी सभा पछि पनि दिए । विचारा आधुनिक भन्न रुचाउनेहरुलाई बेलायतमा अर्काको घर घेर्न जादाँको परिणाम कस्तो हुन्छ भन्ने थाहा नभएको हो की म नै अन्योलमा परे त्यो बेला । तिनीहरुलाई स्बागत गर्न अप्रेसन गरेको खुट्टालाई छोछ्यानमा बिसाएर म पनि तयारीमा थिए । केही दिन बाटो हेरे, आखाँ टट्टायो तर आएनन् तिनीहरु । जब पत्रिकाहरुमा समाचार आउन सकेन त्यस पछि नेपाली पत्र साप्ताहिक र नयाँ सन्देश साप्ताहिकलाई बहिस्कार गरे रे केही स्थानीय ब्यक्तिहरुले भन्ने पनि सुनियो । संचार माध्यमहरुलाई बहिस्कार गर्दा कसलाई हानी हुन्छ ? नेपाली पत्र साप्ताहिक र नयाँ सन्देश साप्ताहिकलाई उनीहरुले आफ्नो मुख पत्र सम्झेका रहेछन् भन्ने प्रष्ट हुन्छ ।

त्यो कचहरीले मेरो लेख्ने क्षमताको बिकाश मात्र नगराएर एउटा ठूलो टर्निङ्ग पोइन्ट पनि दिएको मैले महशुस गरिरहेको छु । अहिले सम्झन्छु त्यो बेला म ओछ्यानमा ढलिरहेको थिए । साथीहरुको सहयोग र बैंशाकीको साहारामा नेपाली नयाँ बर्ष मनाउन गएको १ बर्ष भएछ । नेपाली नयाँ बर्षको नाममा फेशन सो गर्न ठिक हुन्छ की बेठिक हुन्छ त ? यही बिषयलाई लिएर लेखेको मेरो ब्यक्तिगत विचार थियो त्यो । नेपाली नयाँ बर्षमा फेसन सो गराए उनीहरुले तर मलाई मात्र हैन धेरैलाई मन परेको थिएन त्यो प्रकारको नयाँ बर्ष । उनीहरुलाई मेरो लेख मन नपर्न सक्छ र मलाई पनि उनीहरुले नयाँ बर्षको नाममा गराएका फेसन सो मन नपरेको हुन सक्छ । त्यो आ–आफ्नो विचार हो । म एक नेपाली भएकोले मेरो ब्यक्तिगत मान्यता अनुसार नेपाली संस्कार संस्कृतिलाई अन्य संस्कार संस्कृतिमा मर्ज गर्न हन्न भन्ने हो । एक बर्ष नबित्दै मन्त्री जेराल्ड होबार्थहरुले नेपालीहरु प्रति बोलेका तुच्छ बोलीहरु प्रति किन केही बोल्दैनन् ती कचहरीका टाउकेहरु ? आधुनिक्ताको बिगुल फुकीरहनेहरु कहाँ लुकेर बसेका छन् ? हामी त नेपाली हौ नेपाली भएर बाँचौ भन्छौ । यसो भन्दा ति आधुनीक मानबहरु हामीलाई पाखे अशिक्षित भन्छन् । विचरा शिक्षितहरु मन्त्री जेराल्ड होबार्थहरुले बि.बि.सी रेडियोमा के बोल्यो भन्ने पनि थाहा छैन की ? या कानमा तेल हालेर बसेका हुन की ? सायद जेराल्ड होबार्थहरुले नेपालीहरुलाई गाली गरे झै बैठकहरुमा म जस्ताहरुलाई पाखे भनी गाली गरिहेका होलान् आधुनिक भन्न रुचाउने ती मानबहरुले ।

त्यो कचहरीले दिएको हौसलाले २०० बर्षको ईतिहासमा गोर्खालीहरुले देखाएको बहादुरी, त्याग, बलिदान र १३ जना भीसीहरुको जीबनलाई तथ्यगत रुपमा लेखी एउटा युद्घ उपन्यास युद्घ बोकेको सिताङ्ग प्रकाशित गर्न सफल भए । दोस्रो संस्करण निकाल्न तयार भइरहेको छ । नेपालीहरुको तर्फबाट १०० जना बेलायती युबा कविहरुमा पर्न सफल हुन पाउँदा त्यो कचहरिलाई धन्याबाद दिनै पर्छ मैले । नेपाली साहित्यमा घोषित रुपमा युद्घ साहित्यको उपस्थिति हुन सकेको थिएन । युद्घ साहित्यलाई नेपाली साहित्यमा कबि अप्जसे कान्छासँग मिलेर उपस्थित गराउन सफल भयौ । नेपाली साहित्यमा पहिलो युद्घ कबिता सँग्रह युद्घमा हराएको प्रेम संकलन र सम्पादन गरी प्रकाशित गरेका छौ । त्यो कचहरीको प्रेरणाले गर्दा यी सबै कामहरु गर्न सफल भए भन्ने मैले महशुस गरेको छु । अझै अन्य धेरै कामहरु त्यो कचहरीलाई सम्झन्दै गर्ने साहाश आएको छ । पुण एक पटक त्यो कचहरी सभालाई धन्यबाद दिँदै बिदा हुने चाहान्छु ।