आफ्नो बारीमा सयपत्रीले साथ नदिएपछि…

आफ्नो बारीमा सयपत्रीले साथ नदिएपछि…


– रेजिना गौतम (झापा)

भाइतिहारका लागि अत्यावश्यक सामग्रीका रुपमा फुलको मालालाई लिइन्छ । दाजुभाइलाई सप्तरंगी टिका लगाएर माला नलगाएसम्म खल्लो मानिन्छ । वर्षेनी आफ्नै बारीमा फुल फुलाएर दाजुभाइलाई माला लगाउने धेरैको बारीमा यो वर्ष फुल नफुलेपछि किन्नु परेको विर्तामोड–५ कञ्चनजंघा टोलकी लक्ष्मी अधिकारीले बताइन् ।

उनले भनिन्– वर्षेनी आफ्नै बारीको फुलको माला दाजुभाइलाई लगाउँथेँ, यो वर्ष किन्नु प¥यो । उनका अनुसार उक्त टोलमै तिहारको फुल फुलेको छैन ।

वर्षेनी आफ्नै बारीमा फुलेको फुलको माला दाजुभाइलाई लगाइदिने गरेकी अर्जुनधाराकी रीता पोखरेलका बारीमा पनि यो वर्ष फुल फुलेन । बारीमा लगाएको फुल फुल्न मौसमले नै साथ नदिएको बताउँछिन् । ‘संधैको जस्तो सोचेर यो वर्ष पनि फुल लगाइयो तर, फुलेन, फुल फुल्न यो साल मौसमले नै साथ दिएन’, उनले भनिन् ।

आफ्ना लागि पनि माला किन्नुपर्ने भएपछि रीताले सिजनको व्यापारका रुपमा भारतबाट फूल आयात गरेर व्यापार नै शुरु गरेकी छन् । तर भारतीय व्यापारीले झुक्याएका कारण व्यापारमा पनि घाटा लागेको बताउँदै उनले भनिन्– ‘विहीबार विहान फूल लिन गयौँ सिलीगुढीसम्म फुल छैन भन्यो, यहाँ ८०–१०० रुपैयाँमा बिकेको देखेर महँगो मूल्य हालेर फुल ल्यायौँ, हाम्रो यहाँ आइपुग्दा भारु चालिस पऱ्यो, विहिबार नै तिनै दिउँसो व्यापारीले एकदमै सस्तोमा फुल दिएछन्, आज नेरु ४०-५० मा माला बेच्दैछन् अरु, हाम्रो लट ल्याउनेलाई मालाले के गऱ्यो–गऱ्यो ।’

सिजनका नरोप्नाले अधिकांश तिहारमा मालाका लागि किन्ने गरेको बिर्तामोड–५ की टिका निरौलाले बताइन । नेपालमा फुलको फुलको व्यापार खास नभएको तथा पहाडबाट झरेको फुलले नपुग्ने बताउँदै निरौलाले भनिन्– ‘नेपालको फुल व्यापार हाम्रोतिर आइ नै पुग्दैन, पहाडबाट झरेको थोरै हुन्छ पुग्दैन अनि भारतकै त किन्नु पऱ्यो ।’

विशेषगरी तिहारमा दाजुभाइलाई लगाउन मखमली र सयपत्री फुलको प्रयोग गर्ने गरेको बताउँदै पुनः निरौला– ‘मखमली र सयपत्री फुलको माला चाँडो नओइलाउने भएका कारण दाजुभाइ र दिदीबहिनीको दीर्घायुको कामना गर्दै खोजेर भएपनि मखमली र सयपत्रीकै माला लगाउने गरेका छौं, यसको महत्व यमुना र यमराजसंग पनि जोडिएको छ ।’

पौराणिक किंवदन्ती अनुसार कार्य व्यस्तताले बहिनी यमुनाको पटक–पटकको आग्रहपछि यमराज कार्तिक शुक्ल द्वितीयाका दिन बहिनीको घर आउने वचनबद्धता अनुसार यमुनाको घरमा पुग्छन् । सोही मौका छोपी दाजु यमराजलाई सप्तरंगी टिका र कहिल्यै नओइलाउने मखमली फुलको माला लगाई यमुनाले गराएको मिष्ठान्न भोजनबाट प्रसन्न भएका यमराजले बहिनी यमुनालाई बर माग्नको लागि आग्रह गरे । यमुनाले हरेक वर्ष सोही दिन हरेक दाजुभाइ र दिदीबहिनीको भेट होस् भनेर बर मागेपछि यमराज तथास्तु भनेर बिदा भएर हरेक वर्ष बहिनीको घरमा जान थालेको पाइन्छ । यस दिन भाइपूजा गर्नाले यमराजको भय हुदैन भन्ने पौराणिक मान्यता छ ।