वाङ्मयको विमोचन र पारिजात जयन्ती

वाङ्मयको विमोचन र पारिजात जयन्ती


अनेसास बेलायत शाखाले दोश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको स्मारिका वाङ्मयको लोकार्पण र नेपाली साहित्यको मूर्धन्य श्रष्टा सुश्री पारिजातको ७५औं जन्म जयन्ती विशेष समारोहका साथ १५ अप्रिल २०१२ मा सम्मपन्न गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य दिँदै कोषाध्यक्ष विकल चन्द्र आचार्यले सम्पूर्ण अतिथिहरुलाई समारोहमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिएकोमा हार्दिक स्वागत गर्दै, डायस्पोरिक साहित्यको उत्थानमा सहयोग गर्न प्रमुख अतिथि एन आर एन यूकेका अध्यक्ष कुल आचार्यलाई आग्रह गरे ।
मूर्धन्य साहित्यकार पारिजातको तस्वीरमा उपस्थि सम्पूर्ण सहभागीहरुले पुष्पगुच्छा अर्पण गरिसकेपछि कार्यक्रममा प्रमुख अतिथिले लन्डन सम्मेलनको स्मारिका “वाङ्मय”को लोकार्पण गरे । आफ्नो मन्तव्यको क्रममा यसरी अनेसासका यस्ता कार्यक्रमहरुमा आफूले सदैव हरतरहले सहयोग गरिरहने प्रतिबद्दता जनाए । भाषा संस्कृति र परम्परा हाम्रो विशिष्ट पहिचान हो भन्दै श्रष्टा पारिजातको नेपाली साहित्यमा भएको योगदानलाई डायस्पोराबाट पनि उचित मूल्याकन गर्नु पर्ने बेला आएको आफ्नो सानो मन्तव्यमा उनले बताए ।
लोकार्पित कृतिउपर मन्तव्य दिँदै उपाध्य डा.रुपक श्रेष्ठले कृति भित्रका महत्वपूर्णकार्यपत्रहरु, लन्डन सम्मेलनको समीक्षा साथै आर्थिक रुपमा अनेसासले व्यहोरेका कुराहरु र यस कृतिलाई यस रुपसम्म ल्याउने सबै सहकर्मीहरुको प्रशंसा गर्दै वाङ्मयको समीक्षात्मक प्रस्तुती दिए । यसै गरी महान श्रष्टा पारिजातको जीवनी, उनका जीवनका उतार चढाव, कठिन परिस्थितिहरुमा पनि साहित्य प्रतिको लगाव र उनले दिएको नेपाली साहित्य भण्डारमा अतुलनीय योगदान एव विश्व स्तरमा नेपाली साहित्यलाई पुर्‍याउन गरेको एकलव्य प्रयासको विस्तृत रुपमा व्याख्या समालोचक/कवि एवं वरिष्ठ सदस्य गोपीकृष्ण प्रसाईले गरे । साथै वाहाले पारिजातको जीवनमा घटेका रोचक पक्षहरुको बारेमा पनि संक्षिप्त जानकारी गराए ।
पारिजातकी बहिनी सुकन्या वाइवासँग आफ्नो अन्तरंग सम्बन्ध भएको जानकारी दिँदै संस्थाकी वरिष्ठ उपाध्यक्ष जया राईले पारिजात स्मृति भवनको लागि वेलायत शाखाले पठाएको सहयोग रकम सुकन्या वाइवालाई हस्तान्तरणको प्रसँग र उनले आफ्नो पुस्तक डम्बरीमा लेखेको भूमिकाको कुरा र सुकन्या पारिजातको मेरुदण्ड हुन् भनेर चर्चा गरिन् ।
वरिष्ठ सल्लाहकार खगेन्द्र पाठकले लन्डन सम्मेलनमा नेपाल अमेरिक क्यानडा, फ्रान्स, वेल्जियम र वेलायतबाट प्रतिनिधित्व गर्ने विशिष्ठ सहभागीहरुको तारिफ गर्दै सम्मेलनको दौडानमा आफूले पाएको हन्डर,ठक्कर, माया र सदभावले नै साहित्यको दीप प्रज्वलन गर्न प्रेरक भएको उल्लेख गरे । युवा साहित्यकार नारायण अधिकारीले लन्डन सम्मेलनको सेरोफेरोमा रहेर नेपाली वाङ्मयलाई माया गर्ने साथीहरु देखेर आफू हर्षले गद्गद् भएको बताए । त्यस्तै लन्डन कलेज अफ् इन्जिनियरिङ तथा मेनेजमेन्ट्का डाइरेकटर महेश रेग्मीले दोश्रो पुस्तामा नेपाली भाषा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्दै अनेसास वेलायतसँग सहकार्य गर्न तयार रहेको बताए ।
समारोहमा उपस्थित विभिन्न श्रष्टाहरु राजिव रेग्मी (मायाक्यालेनडर) नारायण गाउँले, मिरा आँबोहाङ, अजिता सिंमखडा, महेश रेग्मी, सान्तराज पाम्फ, नारायण अधिकारी, गरिमा राई, संजय राउत आदिले आफ्ना श्रृजना वाचन गरेका थिए । नयाँ आजीवान सदस्य क्रमशः महेश रेग्मी, विष्णु देवान र सान्तराज पाम्फूलाई प्रमुख अतिथि, अध्यक्ष र खगेन्द्र पाठकले खादा ओढाएर स्वागत गरेकाथिए ।
कार्यक्रमको सफलता र नयाँ वर्षको शुभकामना दिनेहरु नेपालबाट प्रा. सुषमा आचार्य, डा. गोविन्दराज भट्टराई, प्रदीप नेपाल, अस्मिता भन्डारी, विश्वविमोहन श्रेष्ठ, अमेरिकाबाट होमनाथ सुबेदी साथै बेलायतबाट शशी पौड्याल, भगवान चाम्लिङ्ग, कृष्ण बजगाईं, रक्ष राई, रुपक बनवासी, सुमल कुमार गुरुड, लारा, प्रतिभा बोहोरा, विजय हितान आदिको नामावली पढेर सुनाइएको थियो । कार्यक्रमका पहिलो चरणमा शशी थापा सुब्बाले र दोश्रो चरण गोपीकृष्ण प्रसाई दुबै जनाले रोकताका साथ संचालन गरेकाथिए । चार बजे शुरु भएर बेलुका आठ बजेसम्म संचालित उक्त कार्यक्रम गोर्खा प्राइड राइस्लीप लन्डनमा भएको थियो । कार्यक्रमको विट् मार्दै सभापतिको आसनबाट संस्थाका अध्यक्ष होम परिवागले पारिजातसँगका आफ्ना सुनौला पलहरुका बारेमा जानकारी दिएभने दोश्रो लन्डन सम्मेलनमा दुःख गर्ने सबै साथीहरुको मनोभावनालाई आफूले कदर गरिरहने बताउँदै उपस्थित सम्पूर्ण सहभागीहरु प्रति आभार प्रकट गर्दै सभाको विसर्जन गरे ।-जया राई, तस्वीरसहित