गत हप्ताका तीन राजनैतिक पुच्छर—शशी पौडेल

गत हप्ताका तीन राजनैतिक पुच्छर—शशी पौडेल


बेलायती राजनितीमा गत हप्ता खासगरी तीनवटा बिषयले बढी चर्चा पायो । प्रथम जर्ज ओसबर्नको बजेट र प्रधानमन्त्री डेभिड क्यामरुनले उद्घाटन गरेको बिग सोसाइटी क्यापिटल । दोस्रो लण्डनको निर्बाचन । र तेस्रो प्रधान मन्त्री डेभिड क्यामरुनको बर्मा यात्रा र उनले आङ सान सुचीलाई दिएको बेलायत आउने निम्तो ।

ओसवर्नले आश्चार्य माने ?
गत हप्ता बेलायती अर्थमन्त्री जर्ज ओशवर्नले आश्चार्य माने भनेर बीबीसी रेडियो फोरले खुलासा गरेको छ ।
जर्ज ओसवर्नले आश्चार्य मानेको कुरा के रहेछ भने उनले ल्याएको आर्थिक नीतिका कारण बेलायती धनाढ्य एवं ठूला उद्योगपति र व्यापारीलाई कर छल्न झन् सजिलो भयो रे ।
अर्थमन्त्री जर्ज ओसवर्नले ल्याएको अर्थनीति ‘गरीबमारा हो, धनी वर्गको पृष्ठपोषक हो’ भनेर त बेलायतका सबैजसो मजदुर संगठन एवं स्वतन्त्र अर्थविद् र राजनीतिक पण्डितहरूले भन्दै आइरहेका छन् । जुन कुरा जर्ज ओसवर्नले पछि थाहा पाए, ती कुरा उनको बजेट भाषणपश्चात खुला रुपमा मानिँदै आएको तथ्य हो । पहिल्यै प्रस्ट भइसकेको कुरा के थियो भने बिग सोसाइटी क्यापिटल भन्ने चर्चा आएदेखि नै यो गरीबमारा हुनेछ भनेर मानिएको थियो ।
बेलायती चन्दादान नियमअनुसार कसैले कल्याणकारी कामका निम्ति चन्दा दियो भने दिइएको चन्दा रकम उसले आफूले तिर्ने करबाट कट्टा गर्न पाउँछ । जब डेविड क्यामरुन र ओसवर्नले जव बिग सोसाइटी क्यापिटलका नाममा चन्दा मागे, धनाढ्य व्यापारी र उद्योगपतिले खुला दिलले चन्दा दिए । आखिर उनीहरूले आफूले दिएको चन्दा कहाँबाट कटाए त ? आफूले तिर्ने करबाट । अनि कर असुलीमा कम भयो, स्वाभाविकै थियो । किन भने यदि कुनै ब्यापारी वा उध्योगपतिले एक शय रुपैया चन्दा दिन्छ भने दुईशय रुपैया कमाउने बाटो हेरिरहेको हुन्छ । यसमा जर्ज ओसवर्न आश्चार्यमा परे भन्ने रेडियोबाट सुन्दा यस पंक्तिकारलाई आश्चार्य लाग्नु स्वाभाविकै रह्यो ।

लण्डनको निर्वचनमा केन विकल्प हुन् ?
लण्डनको निर्वचनमा केन लिभिङस्टोन विकल्प हुन् ? यो प्रश्न बेलायतमा यत्रतत्र सोधिएको छ । हुन त केन लिभिङस्टोन ३ मईमा हुने लण्डन मेयरको निर्वाचनका लागि लेबर पार्टीका उम्मेदवार र पूर्वमेयर हुन् । २००८ सालको निर्वाचनमा बोरिस जोनसनविरुद्ध पराजित केन पुनःउनै बोरिस बिरुद्घ चुनावी मैदानमा उत्रेका छन् ।
यस वर्ष बेलायतको राजधानी लण्डन शहरको मेयर पदका लागि उठेका उम्मेदवारहरु मध्य बढी चर्चामा आएका दुई व्यक्तित्व केन लिभिङस्टोन (लेबर पार्टी) र बोरिस जोनसन (कन्जरभेटिभ पार्टी) यी दुवै स्वतन्त्र सोचाइ र चिन्तन भएका (अराजक) व्यक्तिका रुपमा चिनिन्छन् । उनीहरू दुवैलाई पार्टीको नीतिभन्दा पनि आफ्नो व्यक्तिगत सोचाइमा काम गर्ने बानी परेका ब्यक्तिहरु भनी उनीहरूकै पार्टीले पनि आरोप लगाउने गरेका छन् ।
जो कोही आवस भावी निर्वाचित मेयर लण्डनका ठूला चार समस्या समाधानका लागि व्यस्त रहनुपर्ने छ । पहिलो समस्या, लण्डन बेरोजगारहरूको शहर बन्दैछ । विकसित मुलुक बेलायतको राजधानीमा बेरोजगारको संख्या बढ्दै जानु अनि धनी–गरिबबीचको दूरी फराकिलो हुँदै जानु एउटा मूल समस्या हो । चार वर्षअघि केन लिभिङस्टोन मेयर हुँदाको तुलनामा अहिले बेरोजगारको संख्या ह्वात्तै बढेर दोब्बर पुगेको आरोप लगाइन्छ । यसले गर्दा बेरोजगारलाई पु¥याइने सेवा, सुविधा र बेनिफिटले गर्दा लण्डनमा महानगरपालिकाको खर्च बढेको छ ।
दोस्रो समस्या, लण्डनको बसोबास हो । बढ्दो बेरोजगारीसँगै मानिसहरू घरवारविहीन हुँदैछन् । घरभाडा तिर्न नसक्दा उनीहरू बेनिफिटका लागि सुविधा माग्न स्थानीय सरकार वा महानगरपालिका कार्यालयमा पुग्छन् । महानगरपालिकाको नियमअनुसार महँगा घरका निम्ति घरभाडा दिन नमिल्ने भएपछि सस्ता घरमा बसाइँ सर्नु पर्ने हुन्छ । यसले गर्दा लन्डन महानगरपालिका लाइ दुइटा मार परेको छ । पहिलो, सस्ता घर सहजै उपलव्ध नहुनु, भइहाल्यो भने ती महंगा भडा लागेकाघरहरू खाली हुन जाने अनि ती व्यक्तिगत रुपमा भाडामा लगाइएका घरबाट आउने गरेको कर आम्दानी बन्द हुनु । यसले गर्दा आम्दानी घट्ने र खर्च बढ्ने प्रक्रिया बढेको छ ।
तेस्रो समस्या हो, राष्ट्रिय स्वास्थ्य सेवा, लण्डन रेल सेवाजस्ता सरकारी संस्था निजीकरण हुँदै जानुले बेरोजगार एवं सर्वसाधारण जनतालाई परेको मार लण्डन महानगरपालिकाले खेप्नु परिरहेको छ । हुन त लेबर पार्टीका उम्मेदवार केनले यी सबै समस्यालाई सम्बोधन गर्दै समाधानको नीति अँगाल्ने बचन दिएका छन् । निर्वाचनपछि उनको बचनबद्धता कत्तिको लागू हुन्छ, हेर्न बाँकी छ ।
दुवै उम्मेदवारको बचनबद्धता र चुनावी घोषणा—पत्रलाई हेर्दा बोरिस जोनसनको नीति धनी वर्गको हितमा रहेको देखिन्छ भने केन लिमिङस्टोनको गरीब वर्गको हितमा । लिभिङस्टोनले अहिले विश्वभर निकै चर्चामा आएको शव्द ९९ प्रतिशत गरीवको हितमा बोल्न र भन्न पनि चुकेनन् । उनले लण्डनभरि शिक्षामा सुधार ल्याउनुपर्ने कुराको योजना पनि बताएका छन् ।

केनका अनुसार बेलायती महँगो शिक्षा नीतिका कारण कुनै सर्बसाधारण विद्यार्थी पढ्न चलाख भए पनि उसको आर्थिक अवस्था कमजोर छ भने उसलाइ राम्रो विश्वविद्यालयमा स्थान पाउन गाह्रो परेको छ । यस्तो पद्धतिलाई परिवर्तन गरी उच्च शिक्षा पनि सस्तो एवं सुलभ गराउनुपर्ने हुन्छ केनले बताएका छन् । यस्तै केनले बसोबास व्यवस्थासमेत सुलभ बनाउनुपर्ने तर्क गरेका छन् भने बालबच्चाको रेखदेखका लागि किन्डरगार्डेनहरू व्यवस्थित गर्नुपर्ने कुरामा उनले विशेष जोड दिएका छन् ।
चौथो समस्या हो राजनीतिक खतरा । लेबर पाटीले हालैका निर्वाचन र उपचिर्वाचनमा नराम्रो हार खेपिरकेको अवस्थामा ३ मईमा केन पराजित भए भने बेलायतभर कन्जरभेटिभ पार्टीको एकछत्र पकड हुनेछ । लण्डनको स्थानीय निर्वाचन र स्थानीय राजनीति पूरै बेलायतको लागि नै महत्वपूर्ण छ ।
बेलायतका चार राज्यमध्ये इङलैण्ड एउटा मात्र यस्तो राज्य हो, जहाँ केन्द्र सरकारले नै शासन गर्दछ । वेल्समा वेल्स एसेम्बली छ, जसले राज्य पार्लियामेन्ट र राज्य सरकारको भूमिका खेल्दछ । स्कटलैण्ड र नर्थ आयरलैण्डमा आ–आफ्ना राज्य पार्लियामेन्ट र राज्य सरकार छन् । तर इङलैण्डमा त्यस्तो छैन । केन्द्र सरकारसँग लण्डन महानगरपालिकाको सीधा सम्बन्ध रहन्छ र लण्डन मेयरले केन्द्र सरकारलाई सल्लाह–सुझाव दिने मात्र होइन, झन्डै राज्य सरकारको भूमिका निर्वाह गर्दछन् । यस अर्थमा लण्डनको मेयर पदमा पुनः बोरिस जोनसन निर्वाचित भएमा लेबर पार्टीलाई निकै ठूलो राजनीतिक हानि हुनेछ र लेबर पार्टीका नेता एड मिलिबैण्डले राजीनामा दिनुपर्ने अवस्थासमेत आउनसक्छ । अर्कोतिर कन्जरभेटिभ पार्टीले बेलायतमा विनाहिचकिचावट एकछत्र राज्य गर्नेछ र विपक्षीको आवाज दविनेछ । यस अर्थमा बोरिस जोनसोन को हुन् भन्नुभन्दा केन लिभिङस्टोनलाई राम्रोसँग चिन्नुपर्ने र बेलायतको राजनीतिलाई सन्तुलत मिलाउनुपर्ने देखिन्छ ।

केन र बोरिस को हुन् ?
केनको राजनीतिक भ¥याङ वामपन्थी राजनीतिबाट सुरु भएको हो । विभिन्न मजदुर संगठनको सहयोगबाट उनी सन् २००० मा लण्डनको मेयर पदमा निर्वाचित भएका थिए । उनलाई एक थरिले ‘रातो केन’ पनि भन्ने गर्दछन् । मेयर हुँदा भएका गल्तीलाई उनले स्वीकारिसकेका छन् । लण्डन शहरमा चल्ने रेल्वे लाइनको प्राइभेटाइजेसन रोक्न नसक्नु उनको गल्ती थियो, जुन मार्गरेट थ्याचरको पालामा सुरु भएको थियो ।
बोरिसको राजनीतिक यात्रा बुर्जुवा राजनीतिबाट सुरु भएको हो । संसद् सदस्य हुँदा होस् या अहिले उम्मेदरवार हुँदा, पार्टीको नीतिनियम समेत नमान्ने उनी फासीवादी राजनीतिबाट प्रभावित छन् । उनले बेलाबेलामा अन्य समुदाय, जस्तै अफ्रिकी, एसियाली (भारत, बंगलादेश एवं पाकिस्तान) मूलका समुदायलाई छड्के पाराले ब्यङ्ग गर्ने अनि त्यसको विरोध भएमा ठट्टा गरेको भनी टार्नेसमेत गर्दछन् ।

रोचक प्रसंग
अझ रोचक त के भने बोरिसले लण्डनका सबै अपराधको जिम्मेवार विदेशीलाई ठह-याउने गर्छन् । बिगत निर्वाचनका बेला उनले बि बि सी टेलिभीजनसंग कुरा गर्ने क्रममा ५५ प्रतिशतभन्दा बढी अपराध बिदेशीहरुबाट हुने दाबी गरेका थिए तर गत वर्ष भएको लुटपाटमा ९० प्रतिशतभन्दा बढी गोरा युवा संलग्न भएयता यसबारे उनको वाक्य बन्द भएको छ ।

बर्माको संसद्मा आङ सान सुची
नेतृ आङ सान सुची अत्यधिक मतले बर्माको संसद्को निर्वाचनमा विजयी भएपछि बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन रंगुन पुगी नेतृ आङ सान सुचीलाई बधाई दिने क्रममा बेलायत भ्रमणका लागि निम्तो दिए । निम्तो पाएपछि निम्तोबारे प्रतिक्रिया व्यक्त गर्दै नेतृ सुचीले भनिन्, ‘मैले यो निम्तो यसअघि नै पाएको भए सायद म अझ बढी धन्य हुन्थेँ होला ।’ बेलायती उपनिवेशबाट बर्मा स्वतन्त्र भएदेखि बेलायती प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो ।

लामो संघर्षपछि म्यान्मार (बर्मा)की नेतृ आङ सान सुची अत्यधिक मतले संसद्को निर्वाचनमा विजयी भएपनि उनको पार्टी नेशनल लिग फर डेमोक्रेसीको संसद्मा बहुमत हुने छैन, किनभने रिक्त स्थानका लागि मात्रै निर्वाचन भएको थियो । उनले आफनो विजयपछि आफ्ना समर्थक एवं शुभचिन्तकसामु भनिन्, ‘लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि आन्दोलनको बाटो कठिन र लामो हुने गर्छ ।’