देउसीभैलोको रकम द्वन्द्वपीडित बालबालिकालाई

देउसीभैलोको रकम द्वन्द्वपीडित बालबालिकालाई


साना बालबालिकाले तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकम द्वन्द्वपीडित बालबालिकालाई दान गरेका छन् ।

बेँसीशहर–२ भकुण्डेका बालबालिकाले १४ हजार ७३० जम्मा गरेको र सो रकम आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका द्वन्द्वपीडित बालबालिकालाई प्रदान गरेका हुन् ।

परम्परागत देउसीभैलो खेलेर जम्मा भएको रकमलाई वनभोज वा अन्य फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा खर्च गर्नु उत्तम भएको भन्दै द्वन्द्वपीडित बालबालिकालाई प्रदान गरिएको देउसीभैलो समूहका युजन धितालले बताए । आफूले रमाइलो गरेर जम्मा गरेको रकम बालगृहमा दिएर त्यहाँका दाजुदिदी रमाउँदा आफूहरुलाई झनै आनन्द मिलेको देउसीभैलो समूहकी सुजा थापाले बताइन् ।

पैसा धेरै थोरैभन्दा पनि राम्रो कामको सुरुआत गर्न सकेकामा आफूहरुलाई गर्व लागेको देउसीभैलो समूहका शिशिर कँडेल बताउँछन् ।

सोही बालबालिकाको समूहले अघिल्लो वर्ष पनि देउसीभैलो खेलेर जम्मा भएको करिब सात हजार द्वन्द्वपीडित बालबालिकालाई नै सहयोग गरेका थिए ।