नारायणीमा डुबेका बेपत्ता दाजुभाइको शव फेला

नारायणीमा डुबेका बेपत्ता दाजुभाइको शव फेला


गत साता चितवन नारायणीनदी किनारस्थित तीर्थस्थल देवघाटधाममा नुहाउने क्रममा बेपत्ता भएका दुई दाजुभाइको शव फेला परेको छ । गत बिहीबार बुटवलबाट श्राद्ध गर्न चितवन देवघाट आएका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी र कालीगण्डकीको संगमस्थलमा डुबेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बेपत्तामध्ये रुपन्देही बुटवल उपमहानगरपालिका–१५ का २८ वर्षीय भाई राजकुमार श्रेष्ठको शव सोमबार बिहान नवलपरासीको अमलटारी नजिकै नारायणी नदीमा फेला परेको हो ।

यसअघि बेपत्ता भएको भोलिपल्ट गत शुक्रबार ३८ वर्षीय दाजु चन्द्रमान श्रेष्ठको शव त्रिवेणी नजिकै नदीमा फेला परेको थियो । श्राद्ध गर्नुअघि संगमस्थलमा स्नान गर्ने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

बालकको शव फेला

सिरहा कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट तीन दिनअघि हराएका एक बालकको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको वीभत्स तरिकाले हत्या गरि घर नजिकैको कमला नहरको नर्सरीमा फालिएको अवस्थामा फेला परेको हो ।

सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालालाई उद्धृत गर्दै राससले जनाएअनुसार गत कात्तिक ३ गते घरैबाट बालक हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि खोजतलासको क्रममा आइतबार साँझ ७ बजेतिर बालकको टाउकोदेखि तलको भाग र आज बिहान टाउको फेला परेको प्रहरीको भनाई छ । बालकको कसले, किन हत्या गरेको हो भन्ने सवालमा अनुसन्धान जारी छ ।