अझै नियन्त्रणमा आएन डेंगु

अझै नियन्त्रणमा आएन डेंगु


विर्तामोड (झपा) । असोजको पहिलो हप्तादेखि शुरु भएको डेंगुको संक्रमण कात्तिकको पहिलो हप्ता बितिसक्दा पनि नियन्त्रण हुन सकेको छैन । डेंगुका कारण विर्तामोड नगरपालिका क्षेत्रमा मात्रै २०० बढी संक्रमित भएको विर्तामोडमा संचालित चारठूला अस्पतालको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार विएण्डसीमा १ सय २० जना, विर्तासिटीमा ४५, मनमोहनमा ६० तथा मेडिकामा २५ बढी डेंगु संक्रमितले उपचार गराएका छन् । उपचारका लागि आउने अधिकांस विर्तामोड नगरबासी नै भएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।

साथै डेंगुकै कारण विर्तामाड–४ का ४० वर्षीय उमेश साहको मृत्यु भएको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार महेताले जानकारी दिनुभएको छ । यद्यपी साहको मृत्युका सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयले भने केही पनि उल्लेख गरेको छैन भने जिल्लामा ८५ जनामा डेंगु संक्रमण देखिएको जनाइएको छ ।

जनस्वास्थ्य कार्यालयले भने फाइरल फिवरका रुपमा डेंगु संक्रमणको विशेष औषधी नभएको जनाउँदै सबैलाई सचेत र तर्क रहन आह््वान गरेको छ ।

माहामारीका रुपमा फैलिएको प्रकोप नियन्त्रणका लागि कार्यालयले सबै प्रयास जारी राखेको जनाउँदै आम नागरिकमा सतर्कताका लागि आह््वान गरेको हो ।