सन्धिखर्कमा जीप दुर्घटना, एकको मृत्यु आठ घाइते

सन्धिखर्कमा जीप दुर्घटना, एकको मृत्यु आठ घाइते


गुल्मी जिल्लाको पुर्कोट दहबाट बुटवल जाँदै गरेको लु १ च ६७६६ नम्बरको मालबाहक डबल क्याप जिप सोमबार अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ७ ढाँडखोलामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा परेर आठजना घाइते बनेका छन् ।

सडकदेखि करिव तीनसय पचास मिटर तल खसेको कारण जिपमा सवार झिमरुक गाउँपालिका ४, प्युठान निवासी वर्ष ३३ की शारदा केसीको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी जिपमा सवार अन्य आठ घाइतेलाई थप उपचारका लागि बुटवल अञ्चल अस्पतालमा पठाइएको छ । घाइते हुनेहरुमा मृतकका छोरा सागर र छोरी वर्षा केसीका अलावा पुर्कोट दहनिवासी चालक विक्रम घर्ती, निराजन थापा, बिक्रम श्रेष्ठ, निर्माण थापा, दिलप्रसाद श्रेष्ठ र रुपन्देही जिल्ला निवासी बुटवल बेल्वास निवासी राधा थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रदिप कुमार डिसीले बताए ।

घाइतेमध्ये राधा र दिलप्रसादको अवस्था गम्भीर रहेको बुझिएको छ ।

– मुक्तिनाथ भुसाल