कांग्रेस एक भए चुनाव जित्न कुनै गाह्रो छैन् : दीलबहादुर घर्ती

कांग्रेस एक भए चुनाव जित्न कुनै गाह्रो छैन् : दीलबहादुर घर्ती


लमजुङका नेपाली कांग्रेसका उम्मेदवारहरुले आफुहरुले चुनाव जित्ने दाबी गरेका छन् । आउँदो मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आफुहरुले चुनाव जित्ने दाबी गरेका हुन् ।

लमजुङमा नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि दीलबहादुर घर्तीलाई चुनावी मैदानमा उभ्याएको छ । दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा कांग्रेसले प्रदेश सभा ‘क’ मा गर्जबहादुर गुरुङ र प्रदेश सभा ‘ख’ मा कृष्णप्रसाद कोईरालालाई चुनावी मैदानमा उतारेको छ ।

‘लमजुङ नेपाली कांग्रेसको किल्ला हो, यो इतिहास हामी यसलाई स्थापित गर्न चाहन्छौँ,‘ नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएका दीलबहादुर घर्तीले भने, ‘वाम गठवन्धन भएतापनि लमजुङमा कांग्रेसको वर्चस्व छ, हाम्रो चुनाव जित्ने आधार त्यही हो, हामी चुनाव जित्छौँ ।’

कांंग्रेसीहरु एक भएर अघि बढे चुनाव जित्न सक्ने जनाउँदै सबै कांग्रेसहरु एक भएर लाग्न उनले आग्रह गरे । चुनावमा जिल्लामा कांग्रेसलाई राप्रपाले सघाउने भएको छ ।

लोकतान्त्रिक गठवन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए । उनले प्रजातन्त्रका सबै पक्षधरहरु अब एकठाउँमा उभिने बेला आएको बताउँदै पार्टीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

यसैगरी, प्रदेश सभा क मा उम्मेदवार गर्जबहादुर गुरुङले आफुले चुनाव जिते राईनास नगरपालिकालाई स्मार्ट सिटीको रुपमा अघि बढाउने, दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा उच्च समभावनाको रुपमा रहेको जलविद्युुत, जडीवुटी कृषि र पर्यटनको विकासमा काम गर्ने बताए । जनताले जिताए आफुले बोलेका कुरा पुरा गरेरै छाड्ने उनले बताए ।

यसैगरी, प्रदेश सभा ख बाट उम्मेदवारी दिनुभएका कृष्णप्रसाद कोईरालाले कांग्रेसले जितमात्रै लोकतन्त्रको रक्षा हुने, देशमा विकास निर्माणले गति लिने, संविधान कार्यानवयन हुने र देशमा शान्ति सुव्यवस्था कायम हुने दाबी गरे ।

नेपाली कांग्रेसका पार्टी सभापति भेषबहादुर पौडेलले कांग्रेसलाई जिताउन सबै कार्यकर्ता र लोकतान्त्रिक शक्ति एक हुन आग्रह गरे ।