सौता माइत गएको मौका छोपी लोग्नेको हत्या

सौता माइत गएको मौका छोपी लोग्नेको हत्या


आफूलाई बेवास्ता गरी कान्छी श्रीमतीलाई सुखसयलले राखेपछि डाहइष्र्यामा जलेकी एक महिलाले आगो लगाएर श्रीमानको हत्या गरेकी छिन् । घटना भक्तपुर पुरानो थिमीको हो ।

कोठामा थुनेर आगो लगाई श्रीमानको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले गीता नेपाल नामकी महिलालाई पक्राउ गरेको छ । प्रहरीले जनाएअनुसार सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ स्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको थियो ।

आगलागीमा परेका नेपालको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा लग्दा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटना अस्वाभाविक जस्तो लागेपछि प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानबाट कान्छी श्रीमती माइत गएका बेलामा नेपालकी जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा सोही आगामा परेर उनको मृत्यु भएको खुलासा भयो । आफूलाई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई सुखसयलले राखेकोले सहन नसकी जेठी पत्नी गीताले आवेगमा आएर लोग्नेलाई कोठाभित्र थुनी आगो लगाएको प्रहरीको दाबी छ ।

घटना लगत्तै फरार भए पनि अभियुक्त गीतालाई जगातीबाट पक्राउ गरी थिमी प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिएका छन् ।