लण्डन । चीनले जति आर्थिक उन्नतिमा फड्को मारेको छ त्यसैअनुसार चीनको अर्को आर्थिक पीडाको पाटो पनि बढ्दै गइरहेको छ । विश्व आर्थिक मञ्चमा चीन केही वर्ष यतादेखि विकसित राष्ट्रहरुलाई उछिनेर इकोनोमिक पावर हाउस बन्न सफल भएको कुरा सर्वविदितै छ, तर, चीनको आन्तरिक घरेलु समस्यहरुलाई नजिकबाट नियाँल्ने होभने विश्वको सर्वाधिक जनसंख्या भएको राष्ट्र अझै पनि विकसित राष्ट्रहरुका तुलनामा धेरै पछि रहेको पाइन्छ । धेरै लामो समयसम्म सम्भावित आर्थिक विकासको बाटो नखोलेर अलग्गै बसेको राष्ट्रले सन् १९७८ सालदेखि आर्थिक उदारिकरणको पथ अँगालेपछि यस राष्ट्रले द्रूतगतिमा प्रत्येक साल औसत दश प्रतिशतको अनुपातमा आर्थिक विकास गर्दै आएको छ । बितेको दशक यतादेखि चीनले फ्रान्स, बेलायत, जर्मनी र जापानलाई उछिनेर संयुक्त राष्ट्र अमेरिका पछि विश्वको दोश्रो अर्थतन्त्र बन्न पुगेको छ । विश्वको दश प्रतिशत आर्थिक पूँजीको बराबर एकल चीनको पोल्टामा छ । यस हिसाबमा चीनको कुल पूँजी ७ दशमलब ९ ट्रिलियन अमेरिकी डलर रहेको छ । अर्थविद् गोल्डम्यान सेचका अनुसार फ्याक्ट्रीबाट उत्पादित सामानहरु निर्यात गर्ने विषयमा अहिले अमेरिकालाई चीनले उछिनेको छ भनेर उद्धृत गरेका छन् । सन् २०२७सालसम्म चीनले आर्थिक पूँजीको आकारमा अमेरिकालाई पछि पार्ने कुरा विज्ञहरु बताउछन् । तर, एक अरब चालीस करोड जनसंख्याको भागवण्डालाई केलाउदा यो हिसाबमा समानता नरहेको कुरा पनि बताउछन् । यस पूँजीलाई सन् २०१२को प्रतिव्यक्तिको हिसाबमा तुलना गर्दा चीनको घरेलु उत्पादन प्रतिव्यक्ति ९१४३ अमेरिकी डलर रहेको देखिएको थियो । यो दर अनुसार आईएमएफको तथ्याङ्क सूचीमा चीन ९१औ स्थानमा पर्न आएको थियो । विकासोन्मुख राष्ट्रहरु इरान, अजरबाइजान र बोत्स्वाना राष्ट्रहरु प्रतिव्यक्ति आयको हिसाब गर्दा धनी राष्ट्रमा गनिन पुग्छन् । चीनले हालको अवस्थालाई मध्येनजर गरेर करोडौ जनतालाई गरीबीबाट उकास्ने प्रयत्न गरिरहेको छ । यतिबेला विकट ग्रामिण क्षेत्रमा बसोबास गरेका निमुखा जनताहरु धमाधम उर्लदै शहरतिर काम र राम्रो जीवनको खोजीमा बसाइँ सराइँ गर्दै ठुला ठूला समूहमा स्थानान्तरण भइरहेका छन् । यो क्रम विगत केही दशक यतादेखि चीनले झेल्दै आइरहेको छ । आर्थिक विकासको क्रममा कामको ज्याला तथा तलबमान पनि बृद्धि भइरहेको छ । तर, ग्राहस्थ उत्पादनमा पनि ह्रास आउने सङ्केत प्राप्त भइरहेको छ । चीनका शहरिया उपभोक्ताहरुले आइफोन र लुइ भुट्टोन जस्ता महँगा ब्यागहरु किन्ने गर्छन् भने चिनियाँ साधारण उपभोक्ताहरुमा त्यो सर्वशुलभ भने छैन । चीनको राष्ट्रिय तथ्याङक ब्यूरोले सन् २०१० सालमा शहरमा बस्ने जनताका आय प्रतिवर्ष प्रतिव्यक्ति अमेरिकी डलर तीन हजार र ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरुका आय प्रतिव्यक्ति ९०० अमेरिकी डलर दर्शाएको थियो । चीनको तटवर्तीय नगरहरु शङ्र्घाई, तियानजिन्, बेइजिङ् र शेन्जेन जस्ता शहरहरु विकसित राष्ट्रहरुका दाँजोमा उभेका छन तर विशाल चीनको अरुभागमा बसोबास गर्ने जनताहरुका जीवन स्तर उठाउन अझ दशकौ लाग्ने कुरामा दुईमत छैन । श्रोत – सीएनएन, सुमल, मेस ।
प्रतिक्रिया