तिलोत्तमा नगरपालिकाले सार्वजनिक गऱ्यो सयदिने उपलब्धि

तिलोत्तमा नगरपालिकाले सार्वजनिक गऱ्यो सयदिने उपलब्धि


– चन्द्रकान्त खनाल

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले सय दिनमा भएका प्रगति विवरण सार्वजनिक गरेका छन् । पदभार ग्रहण गरेको १ सय ११ दिनपछि नगर प्रमुख घिमिरेले विकासका प्राथमिकता र योजना समेटिएको सय दिने विवरण पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।

यस अवधिमा १ अर्ब ६९ लाखको बजेट निर्माण भएको, सडक ग्राभेल योजना अघि बढेको, पशु बीमा र कृषि ऋणमा अनुदानको व्यवस्था मिलाइएको, भवन तथा सडकको नयाँ मापदण्ड तय गरिएको नगर प्रमुख घिमिरेले बताए । उनले एकीकृत नगर विकास गुरुयोजना निर्माणको थालनी, भ्यू टावर निर्माणका लागि टेन्डर आह्वान, दैवीप्रकोप राहतकोष स्थापना तथा वितरण, अब्यवस्थित बसोबासीहरूको लगत संकलन, सार्वजनिक जग्गा पहिचान तथा लगत संकलनको काम अगाडि बढेको जानकारी दिए ।

त्यस्तै विभिन्न कानुन तथा कार्यविधि निर्माण, नदीजन्य पदार्थको अनियमितता तथा चोरी निकासी नियन्त्रण, बालमैत्री नगरपालिकाको तयारी, स्थानीय शिक्षा तथा सहकारी व्यवस्थापनका लागि नीतिको ड्राफ्ट, सार्वजनिक सेवा प्रवाह र सुशासन, न्याय सम्पादन, छाडा चौपायाको व्यवस्थापन, सरसफाई अभियान जस्ता काम सय दिनको अवधिमा अघि बढाइएको उनले जानकारी गराए ।

नगरपालिकाले चालु आर्थिक वर्षबाटै पशु बीमामा अनुदानको व्यवस्था समेत मिलाएको बताइएको छ । पशुबीमाको ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने गरेकोमा बाँकी २५ प्रतिशतको आधा रकम नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको नगर प्रमुख घिमिरेले जानकारी दिए ।

त्यस्तै, समूहमा खेती वा पशुपालन व्यवसाय गर्ने दलित तथा महिलाहरुलाई बढीमा १० लाख सम्मको वित्तीय ऋणमा २ प्रतिशत व्याज अनुदान दिने व्यवस्था समेत नगरपालिकाले मिलाएको छ । त्यसैगरी गत साउन ३२ यता निर्माण हुने सडकको चौडाई न्युनतम ३० फुट कायम हुने नयाँ मापदण्ड पनि नगरपालिकाले ल्याएको छ । नयाँ मापदण्ड अनुसार अव कित्ताकाट हुने जग्गा न्यूनतम ५ धुर हुनुपर्नेछ ।

गौशालामा एउटा छाडा चौपाया लैजानेलाई ५ सय प्रदान गर्ने योजना नगरपालिकाले ल्याएको छ । नगरपालिकाले तिलोत्तमा–१ स्थित शंकरनगर वनवाटिका परिसरमा निर्माण हुने भ्यू टावरका लागि टेन्डर आह्वान गरिसकेको र वडा नम्बर १३ को सेमरीमा होमस्टे सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख घिमिरेले वताए ।

त्यस्तै प्रत्येक वडा कार्यालय एकल रुपमा सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढेको जानकारी दिँदै कात्तिक १ गतेबाट समुदायमा आधारित बृहत सरसफाई अभियान सुरु गरिएको पनि नगर प्रमुख घिमिरेले आफ्नो सय दिने उपलब्धिमा समेटेका छन् ।

नगरमा झण्डै एक अर्ब लागतका विकासका तीन आयोजना सञ्चालनको तयारी भैरहेको, प्रस्तावित मेडिकल कलेज र औद्योगिक क्षेत्रको काम अघि बढेको र यी आयोजनालाई नगरपालिकाले आफ्नो तर्फबाट उच्च प्राथमिकतामा राख्दै सक्दो सहयोग र समन्वयको काम गरिएको उनले बताए ।

रुपन्देहीकैं मध्यभागमा अवस्थित तिलोत्तमा नगरपालिकालाई विकासका दृष्टिकोणले नमूना बनाउन जनप्रतिनिधिहरु दत्तचित्त भएर लागेको प्रमुख घिमिरेले बताए । ‘नगरको विकास सबैको विकास हो । यसैले विकास-निर्माणका काममा आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन र रचनात्मक सुझाव, सल्लाह दिन हामी सबै नगरबासीलाई आग्रह गर्दछौं’, घिमिरेले भने ।

कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरीले नगरबासीको सहभागितामा हुने विकास निर्माणका कामहरु दिगो हुने बताइन् भने कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले साविकका गाविसहरु मिलेर बनेको नयाँ नगरपालिका भएकाले कतिपय व्यवस्थापकीय कामहरु अझै गर्नुपर्ने अवस्थामा रहेको खुलासा गरे । कार्यक्रमको सञ्चालन कार्यपालिका प्रवक्ता सुरेन्द्र श्रीले गरेका थिए ।