भकुण्डेबेशीलाई औद्योगिक ग्राम बनाउने तयारी

भकुण्डेबेशीलाई औद्योगिक ग्राम बनाउने तयारी


बीपी राजमार्ग कोरिडोरमा औद्योगिक ग्रामको सम्भाव्यताका लागि काभ्रेको भकुण्डेबेसी क्षेत्रमा स्थलगत अध्ययन शुरु गरिएको छ । उद्योग मन्त्रालयले यसको पहलकदमी लिएको हो ।

काठमाडौंबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थान सिन्धुली, रामेछाप तथा ललितपुर र भक्तपुरबाट नजिक पर्ने भएकाले औद्योगिक ग्रामको ठुलो सम्भाव्यता देखिएको उद्योग मन्त्रालयलाई उद्धृत गर्दै राससले जनाएको छ ।

उद्योग राज्यमन्त्री रेशम लामाको नेतृत्वमा मन्त्रालयका सचिव, सहसचिवसहितको समूहले त्यस क्षेत्रमा हिजो मंगलबार औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन तथा स्थानीयको सुझाव संकलन गरेको छ।

उद्योग राज्यमन्त्री लामाले मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्तिको खाँचो औँल्याउँदै प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेको जानकारी समेत दिए ।

उद्योग सचिव शंकरप्रसाद कोइरालाले मुलुकका विभिन्न क्षेत्रमा औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक पूर्वाधारको विकासमा मन्त्रालयले एक अर्ब खर्च गरिसकेको जानकारी दिए भने सहसचिव गोपीकृष्ण खनालले त्यहाँ औद्योगिक ग्राम स्थापना भए स्थानीय स्रोत साधनको समूचित प्रयोग हुने र जनता लाभान्वित हुने दाबी गरे।

मधेश र पहाडको बीच भागमा रहेको उक्त नगरपालिकाभित्र राम्रा फराकिला मैदान रहेको उल्लेख गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले मन्त्रालयले शुरु गरेको अध्ययनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।