लण्डन । चीन सरकारको विरुद्ध कडा आवाज उठाउने चीनका एक जना अन्धो व्यक्ति, चेन गुआङचेङलाई चिनियाँ सरकारले उनको घरमा नजरबन्द गरेर राखेको थियो । उनी अहिले घरकैदबाट फरार भएको कुरा समाचारहरुमा आएको छ । उनले आफू फरार हुने बित्तिकै चिनियाँ नेता वेन जियाबाओलाई तीनवटा माग भीडीओमार्फत पठाएका छन् । उनका मागहरुमा एउटाचाँहि उनको परिवारजनलाई चिनियाँ अधिकारीहरुले चरम यातना दिएर पिटेका घटनामाथि छानबिन् तत्काल गरियोस् भन्ने उल्लेख गरेका छन् । शान्दोङ प्रान्तको दोङशिबुस्थित आफ्नै घरबाट नजरबन्द रहेको अवस्थामा उनी आइतवारको दिन पलाएन भएका थिए । उनी अहिले कहाँ बस्दैछन् त्यो कसैलाई थाहा भएको छैन, तर, उनी बेइजिङस्थित कुनै कुटनीतिक शरणमा सुरक्षित छन् भनेर उनका निकटवर्ति श्रोतले जनाएका छन् ।
सन् २०१० सालमा चारवर्षे जेल सजाए काटेर आएपश्चात फेरि उनलाई उनकै घरमा कैद गरेर राखिएको थियो । उनले चिनियाँ नेता वेन जियाबाओलाई भीडीयोमार्फत पठाएका मागहरुमा क्रमशः उनका परिवारजनलाई यातना दिएर पिटाइ गर्ने अधिकारीहरुमाथि छानबिन् गरेर कारवाही गर्ने, उनका परिवारको सुरक्षा र चिनियाँ भ्रष्ट कर्मचारीहरु उपर न्याय संगत कानून लागू गरेर उपयुक्त सजाय दिने कुराहरु रहेका छन् । चिनियाँ अधिकारीहरुले उनीमाथि दर्शाएको अत्याचारलाई लिएर अन्तर्राष्ट्रिय जगतले खण्डन गरेर आलोचना गरेका छन् । उनले टाइम्सलाई शान्दोङ प्रान्तमा इन्टरनेटमार्फत ७००० महिलाहरुलाई चीनको प्रतिपरिवार एक बच्चा नीतिको कारणले जबरजस्ति एबोर्शन गराएको कुरालाई विरोध स्वरुप जाहेर गरेका थिए । उनी मानवअधिकार विरुद्धको मुद्धा लिएर सरकारसंग विरोध गरेकाले विश्व छापाहरुमा आएका थिए । एमनेस्टी इन्टर्नेशनलले उनलाई “प्रिजनर अफ कनसाइन्स्” उपाधि दिएको छ । टाइम्सले विश्वका सयजना उल्लेखनीय मानव अधिकारका लागि काम गरेका व्यक्तिहरुको सूचीमा चेनलाई राखेको छ । सन् २००६ सालमा चिनियाँ अधिकारीहरुले उनलाई ट्राफिक नियम उलङ्घन तथा सार्वजनिक सम्पति क्षति पुर्याएको आरोपमा चारवर्षको जेल सजाए दिएको थियो । उनको मुद्धा लड्नका लागि आएका तीन जना वकिलहरुलाई अदालतसम्म चिनियाँ अधिकारीहरुले जान दिएका थिएनन् । त्यसपछिका दिनहरुमा उनका परिवारलाई चिनियाँ अधिकारीहरुद्वारा यातना दिन थालेका थिए । उनका छोरीलाई स्कुल पढ्नुबाट वञ्चित गरे तथा उनलाई सहानुभूति जनाएर भेट्न आउने आफन्त, इष्टमित्रहरुलाई अधिकारीहरुले पिटेर यातना दिएका थिए । उनको घरको शीशाका झ्यालहरुलाई मोटो धातुको प्लेटहरुले छेकेर राखेको छ । यो घटना विश्वका छापाहरुमा फैलिदै जाँदा चेनको ख्याती चुलिँदै गयो । सन् २००७ सालमा फिलिपिनबाट प्रदान गरिने रेमन मेगसेसे अवार्डबाट उनी सम्मानित भइसकेका छन् । उनका पुरस्कार लिन उनका पत्नी फिलिपिन गएकी थिईन् । अमेरिकी राज्य सचिव हिलेरी क्लिन्टनले उनलाई तत्काल रिहा गर्ने माग राखेकी छिन् र आगमी हप्ता उनी चीनको भ्रमणमा आउँदै छिन् । १२ नोभेम्बर १९७१मा जन्मेका चेनको उपनाम “खाली खुट्टे वकील” हो । उनी सानैमा अन्धो बनेका थिए । उनी १९९४ सालसम्म स्कुल गएका थिएनन् तर पछि चिनदाओ हाईस्कुलमा पढेका थिए । उनी पछि नानजिङ विश्व विद्यालयबाट चिनियाँ चिकित्सामा स्नातक गरेका थिए । शुरुमा उनलाई चिनियाँ अधिकारीहरुबाट राम्रै व्यवहार भएको थियो । उनले यिनान काउन्टीको अस्पतालमा काम पाउन सफल भएका थिए । उनले त्यसपछि कानून शंकाय लिएर पढ्न थालेका थिए र कानून विषयमा उनले स्नातक तह पार गरेकाले उनलाई खाली खुट्टे वकील भनेर मानिसहरुले चिन्दछन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया