बन्द कलेजमा महिना दिनपछि खुल्यो ताला

बन्द कलेजमा महिना दिनपछि खुल्यो ताला


इञ्जिनियरिङ कलेजलाई निजीकरण गरिएको भन्दै विद्यार्थी र अभिभावकद्वारा नेपाल इञ्जिनीयरिङ कलेज दुवाकोटमा लगाइएको ताला आज खुलेको छ । उक्त कलेजमा विगत एक महिनादेखि स्थानीय वासी र विद्यार्थीले अलग अलग ताला लगाई विरोध जनाउँदै आएका थिए ।

सामुदायिक कलेज निजीकरण गरिएको र पोखरा विश्वविद्यालयलको सम्बन्धन खारेज गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिनका लागि प्रक्रिया अगाडि बढाइएको भन्दै विद्यार्थी तथा स्थानीयवासीले विरोध जनाएका थिए । विरोध प्रदर्शनका कारण कलेजको पठनपाठन ठप्प भएको थियो भने कलेजको आन्तरिक परीक्षा रद्द भएको छ ।

बुधबार कलेज सञ्चालक, चांगुनारायण नगरपालिका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, विद्यार्थी, र स्थानीयवासीबीच भएको सहमतिपछि ताला खुलेको हो । कलेजलाई सामुदायिक संस्थाकै रुपमा सञ्चालन गर्ने, पोखरा विविको सम्बन्धन कायम राख्ने, सामाजिक संस्थाले प्रदान गर्ने सहुलियत शुल्कमै भर्ना लिने, विविले तोकेको मापदण्डानुरुप नै छात्रवृत्ति प्रदान गर्नेलगायत विषयमा सहमति भएपछि ताला खुलाइएको बताइएको छ । कलेज सञ्चालक हरि पाण्डेका अनुसार ताला खुलेपछि आजैदेखि नियमित पढाइ शुरु भएको छ ।