डेंगु नियन्त्रणको जिम्मेवारी वडाध्यक्षलाई

डेंगु नियन्त्रणको जिम्मेवारी वडाध्यक्षलाई


झापाको विर्तामोडमा डेंगुले महामारीको रुप लिएपछि नियन्त्रणका विर्तामोड नगरपालिकाले सबै वडामा अविलम्व नियन्त्रण अभियान सुरु गर्न वडाध्यक्षको नेतृत्वमा टोली परिचालन गरेको जनाएको छ ।

टोलीमा निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सामाजिक संघ–संस्थाका प्रतिनिधिलाई पनि एकैसाथ परिचालन गरिएको विर्तामोड नगरपालिकाका प्रमुख धु्रबकुमार सिवाकोटीले बताउनु भयो ।

डेंगुको सङ्क्रमणबाट झापामा एक जना महिलाको मृत्यु भएको छ । झापा अर्जुनधारा नगरपालिका–७ की ३५ वर्षीया सुनिता बरालको उपचारका क्रममा मङ्गलवार मृत्यु भएको थियो ।

झापामा मङ्गलवारसम्म डेंङ्गु सङ्क्रमितको संख्या तीनसय ४१ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर बेदप्रकाश घिमिरेले जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालयको टोलीले दुई दिन लगाएर झापाका सरकारी तथा निजी अस्पताल र क्लिनिकबाट डेङ्गु सङ्क्रमित बिरामीको तथ्याङ्क सङ्कलन गरेको थियो ।

विर्तामोड नगरपालिकाले सडकको दायाँ–बायाँ अव्यवस्थितरुपमा राखिएका टायर जफत गर्ने निर्णय गरेको छ । त्यसरी राखिएका टायरमा जमेको पानीमा लामखुट्टेका लार्भा हुर्किएको पाइएपछि नगरपालिकाले ती टायर हटाएर व्यवस्थित रुपमा राख्न सरोकारवालालाई साता अघि नै निर्देशन दिएको थियो ।

नगरपालिकाले दिएको निर्देशनलाई सम्बन्धित व्यवसायीले अटेर गरेपछि नगरपालिकाले जफत गर्ने निर्णय गर्नुपरेको बताइएको छ ।