हत्याराको पहिचान र कारवाहीको माग गर्दै स्थानीय सडकमा

हत्याराको पहिचान र कारवाहीको माग गर्दै स्थानीय सडकमा


११ वर्षीय बालक लक्ष्मण शिवाकोटीका हत्यारालाई सार्वजनिक गरी कारवाही गर्न माग गर्दै स्थानीयले विर्तामोड (झापा)मा प्रदर्शन गरेका छन् । बालकको हत्या भएको २४ दिन वितिसक्दा पनि हत्यामा संलग्नको पहिचान गरी प्रहरी प्रशासनले कारवाही अघि नबढाएकोप्रति विरोध जनाउँदै सडकमा उत्रिएका स्थानीय तथा आफन्तले विर्तामोडमा नाराजुलुस गर्नुका साथै केही समय चक्काजाम समेत गरेका छन् ।

विभिन्न नारासहित निस्किएको जुलुसले विर्तामोडको मुक्तिचोकमा आयोजित कोणसभालाई नेपाल टे«ड युनियन कांग्रेसका झापा सभापति यज्ञप्रताप अधिकारी, नेकपा माओवादी केन्द्रका श्री मिश्र, दीपक तामाङ, ध्रुवप्रसाद शिवाकोटी लगायतले मन्तव्य राख्दै घटनाका दोषी पत्ता लगाई कारवाही गर्न माग गरेका छन् ।

मन्तव्य राख्ने अधिकांसले इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले पीडकबाट घुस खाएर घटनालाई ढाकछोप गर्न लागेको बताउँदै दोषीलाई तत्काल कारवाही अघि नबढाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

हत्या भएको २४ दिनसम्म पनि पीडितले न्याय नपाएको भन्दै सिता पाण्डेको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिमा टेकराज सुब्बा, चन्द्र काफ्ले, ध्रुबप्रसाद शिवाकोटी, रोजिना पाण्डे लगायत रहेका छन् ।

अर्जुनधारा–११ का बालक शिवाकोटीको असोज १४ गते बडादशैंको टिकाको दिन साथीको जुत्ता लिन जाँदा हत्या गरिएको स्थानीयको आरोप छ । घटना लगत्तै किटानी जाहेरी लिन नमानेको प्रहरीले ४ दिनपछि स्थानीयले दबाब दिएपछि प्रहरीले किटानी जाहेरी लिएको मृतकका काका विष्णु शिवाकोटीले बताए ।

– रेजिना गौतम