‘जेठ मसान्तभित्र पालमुनि बसेका सबै भूकम्पपीडित घरमा बस्न पाउँछन्’

‘जेठ मसान्तभित्र पालमुनि बसेका सबै भूकम्पपीडित घरमा बस्न पाउँछन्’


राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक ‘सिईओ’ युवराज भुसालले पालमुनि बसेका सबै भूकम्प पीडितलाई जेठ मसान्तभित्र घरमा बसाउने स्पष्ट पारेका छन् ।

भुसालले भने, ‘प्राधिकरणको नेतृत्वमा म चौथो व्यक्ति हुँ, यसअघिका सबै सिईओले राम्रै काम गर्नुभएको हो, तर जनतालाई तत्काल परिणाम चाहिने भएकाले केही काम नभएको जस्तो देखिएको मात्रै हो, सबै सिईओलाई धन्यवाद छ, उहाँहरुले देखाएको बाटोलाई फराकिलो बनाएर हिँड्ने मेरो लक्ष्य छ ।’

रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक भुसालले मंसिरभित्र प्रत्येक गाउँपालिकामा ईन्जिनियर पठाउने र जेठ मसान्तभित्र सबै भूकम्पपीडित जनताहरुलाई घरमा सार्ने योजनाका साथ आफुले काम गर्ने विश्वास दिलाएका हुन् ।

जीवनका ३४ वर्ष सरकारी सेवामा बिताएको जानकारी गराउँदै निर्देशक भुसालले भने,‘मैले सरकारी तहमा रहेर केही काम गर्ने अवसर पाएको छु, म राजनीतिक दबावलाई वास्ता गर्दिन, कर्मचारीहरुले आफ्नो कतव्र्य पुरा गर्ने हो, मुलुक र जनताको सेवामा समर्पित हुने हो, अनावश्यक राजनीतिक दबावलाई सुन्नुपर्छ भन्ने छैन ।’

उनले अघि थपे, ‘मंसिरभित्र सबै वडा, गाउँपालिका र नगरपालिकामा आवश्यक ईन्जिनियर उपल्ब्ध गराउने छौँ, इन्जिनियरले नमानेको खण्डमा विकल्प खोजिनेछ, काम गर्ने मानिस चाहिएको छ, हामीले पीडित जनताका आँशु पुच्छनको लागि हातहरु उठाउनुपर्छ ।’

उनले आफ्नो ३ वर्षे कार्यकालभरि कसैको दवाबमा नपरी जनताको हितमा काम गर्ने प्रण गर्दै भने, ‘सरकारले मलाई ३ वर्षको जिम्मा दिएको छ, बाँकी केही समय पनि मैले पाउनेछु, यस अवधिमा धरहरा, वसन्तपुर दरबार, सिंहदरवार, रानीपोखरी र भूकम्प प्रभावित जिल्लाका संरचनालाई उठाउनेछु ।’

भुसालले आफू स्कुले जीवनदेखि नै कक्षामा प्रथम हुँदै उच्चशिक्षा प्राप्त गर्दासम्म प्रथम नै स्थान हाँसिल गरेको स्पष्ट पार्दै भने‘म आज यो स्थानमा कुनै राजनीतिक दलबलको हिसावमा आएको छैन, सरकारले राजनीति भन्दा परको व्यक्तिलाई पुर्ननिर्माणको जिम्मा दिएको छ, यो विश्वासलाई मैले पुरा गर्नेछु, म सबैको मत जित्नेगरि काम गर्ने विश्वास दिलाउँछु ।’

सिईओ र सचिव परिवर्तन हुँदैमा तत्काल कुनैपनि काम नबन्ने बताउँदै निर्देशक भुसालले कुनैपनि काम विधि र विधानले चल्ने स्पष्ट पारे ।