अपराध कर्मलाई बाँच्ने आधार बनाउन खोज्दा…

अपराध कर्मलाई बाँच्ने आधार बनाउन खोज्दा…


आफूमाथि गोली प्रहार गरी ज्यान लिन खोजेको प्रतिशोधमा एक युवकको अपहरण एवम् हत्यामा संलग्न व्यक्ति करिव एक दशकपछि प्रहरीको फन्दामा परेका छन् । गुण्डागिरी तथा अपराध कर्ममा संलग्न जो–कोही पात्रले पनि ढिलो–चाँडो कर्मअनुसारको फल पाउँछ भन्ने कुराको पछिल्लो उदाहरण बन्न पुगेका हुन्– दाङ उरहरी घर भई विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका कालुराम चौधरी ।

०६५ सालमा दाङकै रमेश हमाल नामक युवकको अपहरण गरी तरवारले घाँटी रेटेर हत्या गरेपछि फरार रहँदै आएका ४२ वर्षीय चौधरीलाई नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरोले राजधानीको सामाखुसीबाट हालै गिरफ््तार गरेको हो । दाङ देउखुरी जिल्ला अदालतद्वारा गत ०६९ जेठ १७ को मितिमा जन्मकैदको फैसला सुनाइएका चौधरीलाई उक्त अदालती फैसला कार्यान्वयन गराउन प्रहरीले अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको कारागार कार्यालय जगन्नाथदेवल पठाएको छ ।

प्रहरीका अनुसार गुण्डागिरीको सिलसिलामा प्रतिद्वन्द्वी बनेर देखापरेका रमेश हमालले कुनैबेला चौधरीमाथि गोली प्रहार गरी हत्या प्रयास गरेका थिए । त्यसैको बदला लिन चौधरीले आफ्नो समूह परिचालन गरी रमेशको अपहरण गरी निहत्था तुल्याएर तरबारले घाँटी रेटेर हत्या गरिदिए । हत्याको खुलासा नहोस् भन्ने ध्येयले मृतकको शव प्लास्टिकमा पोको पारी दाङकै पातुखोलाको बगरमा गाडे पनि प्रहरी अनुसन्धानबाट उक्त प्रकरणको खुलासा त्यसबेलै भएको थियो ।

यसरी अपराध कर्मलाई जीवन बाँच्ने माध्यम बनाउन खोेज्दा एकले अकालमै जीवन गुमाउनु पऱ्यो भने अर्कोले जेल बसेर पश्चातापमा जीवन कटाउनुपर्ने भएको छ ।