महाधिवेशनको तयारीमा तमू ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद

महाधिवेशनको तयारीमा तमू ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद


गुरुङ समुदायको भाषा संस्कृति, भेषभूषा र अधिकारका लागि क्रियाशील तमू ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद झापाको दोस्रो झापा जिल्ला अधिवेशन यही कातिक ११ गते विर्तामोडमा हुने भएको छ । उक्त अधिवेशनको तमू ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङले उद्घाटन गर्ने झापा जिल्ला अध्यक्ष आनन्द गुरुङ जानकारी दिएका छन् ।

विर्तामोडस्थित अग्रसेन भवनमा हुने अधिवेशनका लागि सम्पूर्ण तयारी भइसकेको बताइएको छ । अधिवेशनमा झापाका १५ वटा स्थानीय तहबाट एक हजार बढीको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार झापामा गुरुङ समुदायको जनसंख्या १२ हजार रहेको छ । १५ वटै स्थानीय तहमा विस्तार भएको परिषदको अधिवेशनका लागि नगरपालिकाबाट १३ र गाउँपालिकाबाट ११ जना प्रतिनिधि, संरक्षक सदस्य, आजिवन सदस्य लगायतको सहभागिता रहने सचिव सुरेसकुमार गुरुङ बताउँछन् ।

यससम्बन्धी अनौपचारिक रुपमा भएको कार्यक्रममा परिषदका केन्द्रीय सदस्य लक्ष्मिप्रसाद गुरुङ, जिल्ला अध्यक्ष आनन्द गुरुङ तथा पदाधिकारीको उपस्थिति रहेको थियो । यसैबीच परिषदको आगामी पाँचवर्षे कार्यकालका लागि दमकका धनबहादुर गुरुङले आकांक्षा प्रकट गरेका छन् । गुरुङ वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् ।