झापामा निर्वाचन कार्यालय स्थापना

झापामा निर्वाचन कार्यालय स्थापना


आगामी मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै झापामा निर्वाचन कार्यालय स्थापना गरिएको छ । भद्रपुरमा विहीबार एक समारोहकाबीच मुख्यसहित ५ वटा निर्वाचन कार्यालयको स्थापना गरिएको हो ।

जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयको उद्घाटन झापा अदालतका जिल्ला न्यायाधीश खिलानाथ रेग्मीले गरेका गर्नुभएको थियो । जिल्ला न्यायाधीश रेग्मीलाई निर्वाचन आयोगले मुख्य निर्वाचन कार्यालयको जिम्मेवारी प्रदान गरेको छ । न्यायाधीश रेग्मीले झापा क्षेत्र नम्बर ३ को सम्पूर्ण जिम्मेवारी हेर्नुका साथै बाँकी चारवटा निर्वाचन अधिकृतलाई सहजीकरण गर्ने बताइएको छ ।

समन्वय समितिको कार्यालयमा झापा क्षेत्र १ र ३ को कार्यालय स्थापना गरिएको छ । झापा क्षेत्र नम्बर २ को जिल्ला शिक्षा कार्यालय, क्षेत्र नम्बर ४ को जिल्ला स्काउट कार्यालय र क्षेत्र नम्बर ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको हो ।

आयोगले तोकिएका निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौका इजलास अधिकृत शिवप्रसाद पराजुलीलाई झापा क्षेत्र नम्बर १, सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मालाई झापा क्षेत्र २, सर्वोच्चका इजलास अधिकृत प्रेम खड्कालाई झापा क्षेत्र नम्बर ४ र इजलास अधिकृत शकुन्तला कार्कीलाई झापा क्षेत्र नम्बर ५ मा खटाएका छन् ।

कार्यालय स्थापनासहितको उद्घाटन समारोहमा बोल्दै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रेग्मीले निर्वाचन अधिकृतहरुको एक्लो प्रयासले केही पनि नहुने बताउँदै निर्वाचनलाई भयरहित, धादलीरहित, स्वच्छ र मर्यादी रुपमा सम्पन्न गराउन स्थानीय राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मीको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, निर्वाचन अधिकृत, राजनीतिक दलहरुको प्रतिनिधि लगायतले बोलेका थिए । जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन जय तिम्सिनाले गर्नुभएको थियो ।

– रेजिना गौतम