उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ, २ दिन सार्वजजिक विदा

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ, २ दिन सार्वजजिक विदा


सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ  दिएसँगै सकिएको छ । हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन गरेका हुन् ।

रातभर जाग्राम बसेका ब्रतालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका छन् ।

ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिन काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लाका तलाउ, नदी, पोखरी तथा, तलाउ खोला किनारमा व्रतालुहरुको घुइँचो लागेको छ । छठको विशेष उल्लास खासगरी मिथिलाञ्चल क्षेत्रमा बढि रहेको पाइन्छ ।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जुन यसको महत्वपूर्ण पक्ष हो ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धनप्राप्ति हुने जनविश्वास छ ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

सरकारले छठ पर्वलाई मध्यनजर गर्दै आज पनि सार्वजजिक रुपमा विदा दिएको छ । सरकारले बिहिबार पनि सार्बजनिक विदा दिएका थियो ।