प्रहरीले टियरग्यास छोडेपछि विर्तामोड तनावग्रस्त

प्रहरीले टियरग्यास छोडेपछि विर्तामोड तनावग्रस्त


– रेजिना गौतम

११ वर्षीय बालक लक्ष्मण शिवाकोटीका हत्यारालाई सार्वजनिक गरी कारवाही गर्न माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएपछि झापाको विर्तामोड तनावग्रस्त भएको छ ।

बालकको हत्या भएको महिनादिन बित्न लाग्दा पनि हत्यामा संलग्नको पहिचान गरी कारवाही गर्नुको साटो कारवाहीको माग गर्दै विरोधमा उत्रिएकामाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्न थालेपछि तनाव उत्पन्न भएको हो ।

आन्दोलनमा उत्रिएका ३ महिला र ३१ पुरुष सहित ३४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता जितेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । घटनामा केही राउण्ड टियरग्यास समेत छोडिएको भए पनि कति राउण्ड छोडिएको भन्ने जानकारीमा आइनसकेको प्रवक्ता बस्नेतले बताए ।

सडकमा भएको आन्दोलन नियन्त्रण गर्ने निहुँमा प्रहरीले सटरभित्र काम गरीरहेका कामदारलाई अन्धाधुन्ध कुटपिट गरी घाइते बनाएपछि विर्तामोडबासी थप आक्रोशित भएका छन् । प्रहरीले रेम्बो टेलर्सका कालिगढ रवि राजवंशीलाई कुटपिट गर्दा टाउकोमा गम्भिर चोट लागेपछि उनलाई उपचारार्थ अस्पताल लगिएको छ । आन्दोलनका क्रममा अन्य चारजना घाइते भएको आन्दोलनकर्ताले जनाएका छन् ।

विरोधमा मन्तव्य राख्ने अधिकांशले इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले पीडकबाट घुस खाएर घटनालाई ढाकछोप गर्न लागेको बताउँदै दोषीलाई तत्काल कारवाही अघि नबढाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

अर्जुनधारा–११ का बालक शिवाकोटीको असोज १४ गते बडादशैँ टिकाको दिन साथीको जुत्ता लिन जाँदा हत्या गरिएको स्थानीयको आरोप छ ।