हिमाली जिल्ला मनाङलाई तताउँदैछ निर्वाचनले

हिमाली जिल्ला मनाङलाई तताउँदैछ निर्वाचनले


हिमाली जिल्ला मनाङमा चिसो र निर्बाचन एकैपटक प्रवेश गरेको छ । प्रमुख राजनैतिक दलहरु यतिबेला चिसो मौषमलाई वेवास्ता गर्दै आसन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्बाचनको तयारीमा जुटेका छन् ।

निर्बाचनमा जसरी पनि सफलता हात पार्नुपर्छ भन्दै दलहरु घरदैलो अभियानदेखि सभा, छलफल लगायतका काममा ब्यस्त देखिन्छन् । मनाङमा विस्तारै भित्रिएको चिसोको प्रवाह नगरी कांग्रेसका उम्मेदवारलाई जिताउन लागिपरेको प्रतिनिधी सभाका उम्मेदवार एवं पूर्ब श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए । उनले मनाङमा निर्बाचनको तयारी तिब्र गतिमा अघि बढेको बताए ।

निर्बाचन आउन एक महिना मात्रै बाँकी रहँदा मनाङमा नेपाली कांग्रेस र वाम गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्र चुनाव प्रचारमा जुटेका छन् । निर्बाचनको मिति नजिकिँदै गर्दा तल्लो र माथिल्लो मनाङमा राजनैतिक दलहरु आ–आफ्नो प्रचार प्रसारमा ब्यस्त रहेका छन् ।

जिल्लामा प्रतिनिधी सभाका लागि २ र प्रदेश सभाका लागि एक स्वतन्त्रसहित ४ जनाले उम्मेदवारी दिएको निर्बाचन कार्यालय मनाङले जनाएको छ । जिल्लामा मनाङमा प्रतिनिधी सभाका लागि नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै, प्रदेश सभाका लागि कांंग्रेसबाट क्षेत्र नं १ बाट चिन्ताबहादुर घले र २ बाट कर्म गुरुङ चुनावी मैदानमा उत्रिएका छन् भने एमालेबाट क्षेत्र नं १ मा दोर्जे डन्डुल गुरुङ र २ मा स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) उम्मेदवार बनेको जिल्ला निर्बाचन कार्यालय मनाङले जनाएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङका ४ गाउँपालिकामा ५ हजार ८ सय ८१ मतदाता रहेका छन् । यसअघि मनाङमा नेपाली कांगे्रसका टेकबहादुर गुरुङ निर्वाचित भएका थिए ।